२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

युक्रेनमा भएको रुसी आक्रमणमा ९ जनाको मृत्यु

Nada
२०८२ जेठ ३ गते १७:३७
Shares
युक्रेनमा भएको रुसी आक्रमणमा ९ जनाको मृत्यु

युक्रेन : उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रुसी मानवरहित हवाई यन्त्र (ड्रोन) आक्रमणमा परी नौ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

ncell

स्थानीय सैनिक प्रशासनले सामाजिक सञ्जाल टेलिग्राममार्फत उक्त आक्रमणमा पूर्ण रूपमा क्षति पुगेको सानो बसको तस्बिरसहित जानकारी दिँदै मृतकको सङ्ख्या नौ पुगेको जनाएको हो। यसअघि अधिकारीहरूले आठ जनाको ज्यान गएको बताएका थिए। सुमी जिल्लातर्फ गइरहेको बसलाई बिलोपिल्लिया नगर नजिकै लक्षित गरी आक्रमण गरिएको सैनिक प्रशासनले जनाएको छ।

यो विस्फोट युक्रेन र रूसबीच इस्तानबुलमा करिब तीन वर्षपछि भएको प्रत्यक्ष वार्ताको केही घण्टापछि भएको हो। वार्तामा दुवै पक्ष कैदीहरूको साटासाटमा सहमत भए पनि युद्ध विराम नभएको र सम्भावित युद्ध विरामका विषयमा विचारहरू आदान-प्रदान मात्र गरिएको जनाइएको छ।

वार्तापछि किएभले युक्रेनको ठूलो भूभाग ध्वस्त पारिएको र लाखौँ मानिस विस्थापित भएको युद्ध रोक्नका लागि ‘बिना सर्त युद्ध विराम’ चाहेको स्पष्ट पारेको छ। तर, मस्कोले यस्ता आह्वान अस्वीकार गर्दै करिब एक हजार कैदीहरू साटासाट गर्ने सहमतिको पक्षमा बल दिएको छ।

युक्रेनका मुख्य वार्ताकार तथा रक्षामन्त्री रुस्तम उमरोभले अबको अर्को चरणमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष भेटवार्ता हुने बताएका छन्।

यसैगरी मस्को र वासिङ्टनले पनि पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच द्वन्द्व व्यवस्थापनबारे उचित छलफल आवश्यक रहेको जनाएका छन्।

ताजा खबर

सम्बन्धित खबर