२०८२ जेठ ३१ गते शनिवार / Jun 14 , 2025 , Saturday
२०८२ जेठ ३१ गते शनिवार
Ads

नेतृत्व फेरिएकै कारण विद्युत् आपूर्तिमा समस्या आएको होइन : हितेन्द्रदेव शाक्य

मध्यान्ह
२०८२ जेठ २ गते १३:११
नेतृत्व फेरिएकै कारण विद्युत् आपूर्तिमा समस्या आएको होइन : हितेन्द्रदेव शाक्य

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेतृत्व फेरिएकै कारण विद्युत् आपूर्तिमा समस्या नआएको दाबी गरेका छन् । संघीय राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानमा शुक्रबार अवरुद्ध विद्युत् आपूर्तिबारे जानकारी दिन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको मौसमका कारण समस्या आएको स्पष्ट पारे ।

विगतका वर्षहरुमा पनि चैतदेखि जेठसम्म यस प्रकारका समस्या आउने गरेको बताउँदै उनले वर्षा सुरु हुनुअघि केही दिन हावाहुरी र पानीका कारण समस्या आएपनि अन्य समयमा सामान्य हुने बताए । बत्ती जानुमा अहिले अन्य कारण केही नभएको उनले दाबी गरे । समस्या आइसकेपछि कराउने नभइ समयमै सुधार्नुपर्ने उनको भनाइ छ ।

समस्याको पहिचान भएको र त्यसलाई सुधार्नेतर्फ आफू लागिपरेको उनको भनाइ थियो । प्राविधिक समस्याले विद्युत् आपूर्तिमा गडबडी हुँदा लोडसेडिङ नै भयो भनेर हल्ला नफिजाउन आग्रह गर्दै कार्यकारी प्रमुख शाक्यले समस्या समाधानका लागि आफूले जानेका सबै कुरा गर्ने स्पष्ट पारे ।

उनले भने, ‘पश्चिमको लाइन ट्रीप भएका कारणले करिव २ घण्टा विद्युत् प्रशारण अवरोध भएको हो । करिब ८ बजेमात्र ढल्केबर–मजफरपुर प्रशारणलाईन नियमित भएसँगै विद्युत् आपूर्ति सहज भयो । त्यसैले ढल्केबर–मजफरपुर लाइन कति महत्वपूर्ण छ भन्नेकुरा हिजोको घटनाले पनि पुष्टि गरेको छ । हामी भारतसँग निर्भर छौं भन्नु राम्रो त होइन तर यो तीन चार महिना उत्पादन नबढेसम्म हामी कमजोर हुँदा रहेछौं । भारतको बिजुली आएन भने यसले समस्या निम्त्याउँछ भन्ने देखाएको छ । हरेक पटक आउने समस्या समाधानका लागि ‘राइट म्यान, राइट प्लेस’ नै छ । तर, उत्पादनलगायतका पूर्वाधारमा जति लगानी भएको छ त्यसअनुसार काम हुनसकेको छैन । खिम्ति, बाह्रविसे र लफ्सेफेदी सञ्चालनमा आउन नसक्दा केही समस्या पक्कै छ । तरपनि अन्डरग्राउण्ड अपरेशन सञ्चालनमा आएसँगै काठमाडौंमा समस्या आउँदैन । किनकी काठमाडौंमा हावाहुरी आयो काठमाडौंमा र तराईमा हावाहुरी आउँदा तराईमा समस्या आउने हो । हावाहुरी र पानीको समयमा सुख्खायाममा बसेका धुलोहरु पानीको समयमा सिफेज भएर ट्रिप हुने हुनाले पाँच सात दिन समस्या आउँछ । अन्य कारण केही छैन ।’

उनले यस प्रकारका सानातिना समस्यामा चिन्ता नलिन र विगतको भन्दा राम्रो गर्नेगरी काम भइरहेको बताए ।

ADV

सम्बन्धित खबर