२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्यासको घोषणा

Nada
२०८२ वैशाख २९ गते १२:३९
Shares
विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं : भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले सोमबार बिहान इन्स्टाग्राममार्फत एक सन्देश लेख्दै आफूले अब टेस्ट क्रिकेट नखेल्ने बताएका हुन् ।

ncell

कोहलीले १४ वर्षको टेस्ट क्रिकेट यात्रामा १२३ वटा टेस्ट खेल खेलेका छन् । उनले २१० इनिङमा ४६.८५ को औसतसहित ९२३० रन बनाएका छन् । उनको उच्चतम व्यक्तिगत स्कोर २५४ रन (नटआउट) रहेको छ । उनले टेस्टमा ३० शतक र ३१ अर्धशतक बनाएका छन् ।

इन्स्टाग्राम पोस्टमा कोहलीले लेखेका छन्, "मैले १४ वर्ष अघि पहिलो पटक टेस्ट क्रिकेटका लागि ब्यागी ब्लु लगाएको थिएँ । इमानदारीका साथ भन्नुपर्दा मैले कल्पना पनि गरेको थिइनँ कि यो फर्म्याटमा मेरो यात्रा यति अविस्मरणीय हुनेछ ।"

उनले थप लेखेका छन्, "सेतो जर्सीमा खेल्नु व्यक्तिगत रूपमा मेरो लागि धेरै विशेष रह्यो । लामो दिन र ती साना पलहरू जो कसैले देख्दैन तर सधैं तपाईंको साथमा रहन्छन् ।"

कोहलीले भनेका छन्, "यो निर्णय सजिलो छैन तर मलाई अहिले यो नै उचित लागिरहेको छ । मैले यो फर्म्याटलाई सबै दिएँ र यसले मलाई त्यो भन्दा धेरै दियो जुन म कल्पना गर्न सक्थेँ ।"

उनले खेलप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै सबै समर्थक, टोलीका साथी साथै सम्पूर्ण क्रिकेटप्रेमीप्रति धन्यवाद व्यक्त गरेका छन् ।

कोहलीको यो निर्णयले विश्वभरिका क्रिकेटप्रेमीलाई भावुक बनाएको छ । सामाजिक सञ्जालमा उनलाई सम्मान र शुभकामनाको ओइरो लागेको छ ।

उनले अन्त्यमा लेखेका छन्, "म सधैं आफ्नो टेस्ट करिअरलाई खुसीका साथ सम्झिरहनेछु ।"

सम्बन्धित खबर