२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

साना तथा मझौला उद्यमको विकास गर्न जोड

Nada
सत्यराज सिंह
२०८२ वैशाख २७ गते २१:४२
Shares
साना तथा मझौला उद्यमको विकास गर्न जोड

बझाङ : घरेलु तथा साना उद्योग कार्यालय बझाङको आयोजना तथा विभिन्न सरोकारवाला निकायहरूको उपस्थितिमा सदरमुकाम चैनपुरमा उद्योग तथा वाणिज्य प्रशासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 

ncell

कार्यक्रमले जिल्लाभित्रका व्यवसायी, उद्यमी तथा सेवाग्राहीहरूलाई व्यवसाय संचालनका क्रममा आवश्यक पर्ने कानुनी प्रक्रिया, सरकारी सेवा प्रणाली, उद्योग दर्ता तथा नविकरण प्रक्रिया, कर प्रणाली, र उद्यम प्रवद्र्धन सम्बन्धी जानकारी प्रदान गरेको छ । जिल्ला समन्वय समिति बझाङका प्रमुख नरबहादुर बोहराले कार्यक्रममा बोल्दै उद्योग र व्यवसायमार्फत जिल्लाको आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा राखेका छन् । 

उनले भने, ‘स्थानीय स्रोत र सम्भावनालाई आधार बनाएर साना तथा मझौला उद्यमको विकास गर्न सके बझाङको समृद्धि टाढा छैन । यस्ता अभिमुखिकरण कार्यक्रमहरूले त्यस दिशामा मार्गचित्र तयार गर्न मद्दत गर्छन् ।’

सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले व्यवसाय सञ्चालन गर्दा कानुनी प्रक्रियाको सही जानकारी नहुँदा धेरैले सरकारी सेवा उपयोग गर्न नसकेको बताइन् । उनले भनिन्,‘अब यस्ता कार्यक्रममार्फत व्यवसायीलाई कानुनी र प्रशासनिक पक्षमा सहजता हुने विश्वास लिएकी छु ।’

घरेलु तथा साना उद्योग कार्यालय बझाङका प्रमुख मानबहादुर धामीले यस्ता कार्यक्रम उद्यमशीलता विकासको महत्वपूर्ण आधार भएको बताउँदै सहभागीहरूले व्यवसाय सञ्चालनमा देखिएको अन्योल हटाउन सक्ने धारणा राखेका छन् । कार्यक्रममा विभिन्न स्थानीय तहका उद्यमी, व्यवसायी, महिला तथा युवा उद्यमी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले व्यवसाय सञ्चालनमा स्पष्टता र आत्मविश्वास दिन सक्ने बताएका थिए । 
 

सम्बन्धित खबर