२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

फेमिस प्रणालीबारे नयाँ महानिर्देशक समक्ष व्यवसायीका गुनासै गुनासा

Nada
२०८२ वैशाख २७ गते ०६:३५
Shares
फेमिस प्रणालीबारे नयाँ महानिर्देशक समक्ष व्यवसायीका गुनासै गुनासा

काठमाडौं : वैदेशिक रोजगार व्यवसायीहरूले वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईमाथि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) र उजुरीका सम्बन्धमा रहेका समस्या समाधानका लागि निरन्तर दबाब बढाएका छन् ।

ncell

गत सोमबार विभागमा पदबहाली गरेका नवनियुक्त महानिर्देशक भट्टराईलाई स्वागत तथा कार्यकाल सफलताको शुभकामना दिन आयोजित सबैजसो कार्यक्रममा वैदेशिक रोजगार व्यवसायीहरूले फेमिसमा देखिएका समस्या तत्कालै समाधानसहित प्रमाणविहीन उजुरी दर्तामा रोक र  मेलमिलापको माध्यमबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो पटक शुक्रबार वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति सामाखुसीले आयोजना गरेको कार्यक्रममा व्यवसायीले प्रमुख उल्लेखित समस्या तत्काल समाधान गर्न महानिर्देशक भट्टराईको ध्यानाकर्षण गराएका हुन् । गणतान्त्रिक मञ्चले जापानको रोजगारीमा भाषा प्रमाणपत्रको नाममा रहेको समस्या समाधानका लागि विशेष जोड दिएको छ ।

त्यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले नवनियुक्त महानिर्देशक भट्टराईलाई बधाई तथा शुभकामना दिँदै लामो समयदेखि  वैदेशिक रोजगार प्रशासनमा रहेका समस्या समाधान नहुँदा सिर्जना भएका प्रतिकूलताबारे अवगत गराएका थिए ।

गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसीले फेमिसमा देखिएको समस्याले विपन्न अवस्थाका कामदार तथा वैदेशिक रोजगार व्यवसायीलाई आर्थिक क्षति भएको र रोजगारदाताहरूसँगको सम्बन्धमा अविश्वासको अवस्था बनेको भन्दै तत्कालै फेमिसमा सुधार गर्न वा भरपर्दा विकल्प खोज्न महानिर्देशक भट्टराईको ध्यानाकर्षण गराए ।

संघका सचिवसमेत रहेका मञ्चका महासचिव कुन्छादोर्जे दिमदोङले मुलुकको अर्थतन्त्र चलायमान बनाउन वैदेशिक रोजगार क्षेत्रले दिएको महत्वपूर्ण योगदानको चर्चा गर्दै वैदेशिक रोजगार क्षेत्रमा वर्तमान अवस्थामा समस्याको रूपमा देखिएका फेमिसको समस्या, सामान्य उजुरीका आधारमा व्यवसायीका कार्यालयमा अनुगमन तथा पक्राउ पुर्जी जारी हुने, मेलमिलाप प्रक्रियाबाट विवादको समाधान गर्नुपर्ने र जापान रोजगारीमा श्रम स्वीकृतिपछि वैदेशिक रोजगार ऐनले नचिनेको एक जापानी संस्थाले दिने भाषासम्बन्धी प्रमाणपत्रका कारणले जापानको रोजगारीमा देखिएको समस्या समाधानका लागि महानिर्देशक भट्टराईको ध्यानाकर्षण गराइएको मध्यान्ह दैनिकलाई जानकारी दिए । मञ्चका अध्यक्ष जैसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा मञ्च कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर