दोहा कतार : कुवेतमा कार्यरत ३ नेपाली मृत भेटिएका छन् । कुवेतको दुई अलग ठाउँमा भेटिएका शवमध्ये तीनै जना नेपाली रहेको पुष्टि भएको कुवेतस्थित नेपाली दूतावासका सूचना अधिकारी प्रथम सचिव प्रेमराज गौतमले जानकारी दिए ।
कुवेतबाट प्रकाशन हुने अरब टाइम्स दैनिकका अनुसार खैतान भवनको छतमा २ जना एसियाली मुलुकका आप्रवासी कामदारको शव फेला परेको जनाएको छ । मृत्युको कारणबारे अनुसन्धान भइरहे पनि विषाक्त मदिरा सेवन भएको अनुसन्धानमा खटिएको सुरक्षा स्रोतलाई उद्धृत गर्दै अरब टाइम्सले उल्लेख गरेको छ । घरको छतमा भेटिएका शवको फरेन्सिक रिपोर्टअनुसार शवमा कुनै पनि प्रकारको शारीरिक आक्रमण वा हिंसा भएको संकेत नदेखिएको जनाइएको छ ।
कुवेतकै सुविया मरुभूमिमा एक अर्को शव पनि भेटिएको अरब टाइम्सले लेखेको छ । उनी झापाको बिर्तामोड नगरपालिका–१ हनुमाननगरका ३३ वर्षीय विकास कार्की भएको जनाएको छ । अनुसन्धानमा खटिएको सुरक्षा स्रोतलाई उल्लेख गर्दै अरब टाइम्सले मरुभूमिमा भेटिएको शवको घटनामा आपराधिक समूहको हात रहेको आशंका गरिएको छ ।