२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सशस्त्र प्रहरी बलको सीमा क्षेत्रमा उच्च सतर्कता

Nada
२०८२ वैशाख २४ गते १६:१०
Shares
सशस्त्र प्रहरी बलको सीमा क्षेत्रमा उच्च सतर्कता

काठमाडौं : पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।

ncell

सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नका निम्ति सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतिय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँगको सहकार्य र समन्वयमा सिमानामा संयुक्त रूपमा गस्ती पट्रोल र खबर आदान–प्रदानलाई तीव्रता दिइएको छ । 

यसैगरी एक बीओपीबाट अर्को बीओपीसम्म २४ घण्टा सीमा इलाकामा रहने गरी पट्रोलिङ गरिएको छ । अनधिकृत घुसपैठ नियन्त्रण र निगरानीका निम्ति सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको छ भने बाहिनी मुख्यालयले सोहीअनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरेका छन् । 

सीमा इलाकामा आवश्यकताअनुसार आवतजावत गर्नेको परिचयपत्र चेकजाँच गरेर अभिलेख राख्ने कार्यसमेत भइरहेको छ । सम्भावित आशंकित स्थानमा निगरानी एवं चेकजाँच तथा सूक्ष्म रूपमा खबर संकलन कार्य समेत गरिराखेको छ । 

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समेत समन्वय गरी सूचना आदान–प्रदान गरी सीमामा आवतजावत गर्ने गरी वारपार गर्नेलाई निगरानी गर्ने कार्य समेत कडाइका साथ गरिएको छ । 

तर नेपाल–भारत सिमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत हुँदै त्यसप्रकारको आवतजावतलाई सहजीकरण गर्ने कार्य समेत गरिएको छ ।

यसैगरी शहरी क्षेत्रका सम्भावित सुरक्षा दिनुपर्ने महत्त्वपूर्ण ठाउँहरूमा निगरानी बढाइएको सहप्रवक्ता थापाले जानकारी दिए । 

सम्बन्धित खबर