२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

निःशुल्क शिविरमा २ हजार बढीको मुटु र मिर्गौला जाँच

Nada
शहबाज खान
२०८२ वैशाख २० गते २१:२४
Shares
निःशुल्क शिविरमा २ हजार बढीको मुटु र मिर्गौला जाँच

कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिका अन्तर्गत बहादुरगन्जस्थित शिवराज अस्पतालमा सम्पन्न २ दिने निःशुल्क मुटु तथा मिर्गौला स्वास्थ्य शिविरमा झण्डै २ हजार नागरिकले सेवा लिएका छन् ।0

ncell

नगरपालिकाको सहकार्यमा सञ्चालित शिविरमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मिर्गौला तथा प्रत्यारोपण विभाग, मुटु जोगाउँ अभियान, मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको प्राविधिक सहयोग रहेको थियो । 
शिविरमार्फत् मुटु र मिर्गौलासम्बन्धी समस्या भएका बिरामीहरूलाई आवश्यक परीक्षण तथा परामर्श निःशुल्क प्रदान गरिएको कृष्णनगरका नगरप्रमुख रजत प्रताप शाहले बताए । 

टिचिङ अस्पताल महाराजगञ्जका डिन डा.दिव्या सिंह शाहले तराई क्षेत्रमा नागरिकहरू स्वास्थ्यप्रति गम्भीर नहँदा मुटुका बिरामीको संख्या दिनानुदिन बढ्दै गएको बताइन् । यस्तै, शिविरमा सहभागी डा.अनिल भट्टराईले खानपानमा लापरवाहीका कारण मृगौला र मुटु सम्बन्धी रोगले बढ्दो प्रभाव पारेको बताए । शिविरको पहिलो दिन ८४६ जनाले सेवा लिएका थिए ।  

तीमध्ये १३० जनाको ल्याब परीक्षण, १६५ जनाको ईसीजी, ३५१ जनाको इको तथा १७८ जनाको अन्य परिक्षण गरिएको थियो । दोस्रो दिन १,१५४ जनाले सेवा लिएका थिए भने १९४ जनाको ल्याब, ३३९ जनाको युएसजी, ५५ जनाको एक्सरे, ३७० जनाको ईसीजी र २३३ जनाको इको गरिएको थियो । 

शिवराज अस्पतालका फोकल पर्सन डा.दुर्गेलाल चौधरीका अनुसार शिविरमा स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधि पनि निःशुल्क प्रदान गरिएको थियो । यसैसन्दर्भमा, कपिलवस्तुका युवानेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहले शिविरले यस क्षेत्रका बिरामीलाई भारत वा भैरहवा जानुपर्ने झन्झटबाट छुटकारा दिएको बताउँदै अस्पताल तथा नगरपालिकालाई धन्यवाद दिएका छन् । शिविरले ग्रामीण क्षेत्रमा बढ्दो मुटु तथा मिर्गौला रोगको अवस्था उजागर गर्नुका साथै जनचेतनाको आवश्यकता पनि देखाएको छ ।
 

सम्बन्धित खबर