२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

बागमती र रुद्रमती किनारबाट दुई मेट्रिक टन फोहोर व्यवस्थापन

himalayanlife
२०८२ वैशाख १३ गते १६:१२
Shares
बागमती र रुद्रमती किनारबाट दुई मेट्रिक टन फोहोर व्यवस्थापन

काठमाडौंः राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा भन्ने नाराका साथ काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित रुद्रमती दोभानबाट बुद्धनगरपुलसम्म सफाइ गरी दुई मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ ।

बागमती सफाइ महाअभियानको ६२४औँ हप्तामा यस क्षेत्रमा सफाइ गरिएको हो । सफाइ अभियानबाट व्यवस्थापन गरिएको फोहोर काठमाडौं महानगरपालिका वातावरण विभागले व्यवस्थापन गरेको बागमती सफाइ अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

वडाध्यक्ष रामकुमार केसीको नेतृत्वमा यस क्षेत्रमा सफाइ गरिएको हो । सफाइमा बागमती प्रदेशका पूर्वपर्यटन तथा संस्कृतिमन्त्री एवं प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, काठमाडौं महानगरपालिका–११ का वडाध्यक्ष हिरालाल तण्डुकार, वडा नम्बर १० का सदस्य सतिस तण्डुकारलगायत जनप्रतिनिधि र स्थानीयवासीको पनि सक्रियता थियो ।

आगामी शनिबार ६२५औँ हप्ताको सफाइ बागमती रुद्रमती दोभान वडा नम्बर ११ स्थित शिव मन्दिरबाट बागमती नदी किनारसम्म गरिने जनाइएको छ । त्यस क्षेत्रको सफाइ पनि वडा नम्बर ११ का अध्यक्षको नेतृत्वमा गरिने महाअभियानले जनाएको छ ।

वि.सं. २०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान सुरु भएको हो । महाअभियान सुरु भएदेखि प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा वाग्मती किनारमा नदी सफाइ गरिँदै आएको छ । सफाइमा अभियानकर्मी, जनप्रतिनिधि र स्थानीयवासीको सहभागिता रहने गरेको छ । रासस

सम्बन्धित खबर