
काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले विश्वमा शक्तिशाली राष्ट्रले कमजोर राष्ट्रमाथि आफ्नो इच्छा र शर्त लाद्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका छन् ।
शुक्रवार काठमाडौंमा महान् ताङको पश्चिमी क्षेत्रको अभिलेखको नेपाली संस्करण पुस्तक विमोचन समारोहमा बोल्दै पन्तले नेपाल र चीनका जनता बुद्धका विचार र भावनाबाट प्रभावित रहेको उल्लेख गरेका हुन् । उनले नेपाली समाजमा विभिन्न धर्म मान्ने भएपनि भगवान् बुद्धप्रति विशेष सद्भाव, आस्था र विश्वास रहेको बताए। बुद्धका विचारले शान्ति, सहअस्तित्व र आपसी सम्मानको सन्देश दिने उनको भनाइ छ । पन्तले हालै भारतमा सम्पन्न ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले व्यक्त गरेको विचार ग्लोबल साउथका देशहरूका लागि महत्त्वपूर्ण रहेको बताए ।
सी चिनफिङको भनाइ उद्धृत गर्दै पन्तले बलियाको नै जित हुनुपर्छ भन्ने तर्क स्वीकार्य नहुने बताए । विश्वमा शक्तिशाली देशले आफूले भनेको नमान्ने साना देशमाथि आक्रमण गर्ने तथा दबाब सिर्जना गर्ने प्रवृत्ति देखिएको उनको भनाइ छ । उनले विश्वमा अहिले व्यापार तथा ट्यारिफ युद्ध चलिरहेको उल्लेख गर्दै शक्ति र प्रभावका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने प्रवृत्तिमाथि प्रश्न उठाए ।
उनले भने, ‘हामी बुद्धका विचारहरूबाट बुद्धका भावनाहरूबाट प्रभावित मानिसहरू हौँ । चीन पनि, चिनियाँ जनताहरू पनि र हामी नेपालीहरू पनि। हामी विभिन्न धर्म मान्न सक्छौँ तर प्रत्येक नेपालीको मनमा बुद्धप्रति विशेष अनुग्रह, विशेष सद्भाव र विशेष आस्था र विश्वास भएको तपाईं पाउनुहुन्छ । र मैले किन प्रसङ्ग जोडेको भन्दाखेरी त्यही बुद्धिजमको प्रभावले होला भर्खरै भारतमा सम्पन्न भएको ब्रिक्समा चीनका राष्ट्रपति सी चिनपिङले बडा राम्ररी केही कुराहरु भन्नुभयो। उहाँले बोलेको कुरा, खास गरेर हामी जस्ता तेस्रो विश्वका अथवा ग्लोबल साउथका देशहरूको लागि महत्त्वपूर्ण छ । बलियाको नै जित हुनुपर्छ भन्ने तर्क मान्य हुँदैन र यसलाई धेरै पहिले नै त्याग्नु पर्थ्यो । यो सी चिनपिङको भाषणको एउटा अंश हो । तपाईं हामीले यहाँ देखिरहेका छौं कि बलिया देशहरूले आफूले भनेको मानेन भनेर साना देशहरूमाथि आक्रमण भइराखेको छ । आफ्ना शर्त मानेन भनेर र संसारमा अहिले ट्याक्स वार, टेरिफ वार चलिरहेको छ । हामी देखिरहेका छौं र त्यहाँ उहाँले जसरी पाँचवटा बुँदा एआईलाई कसरी प्रयोग गर्ने, डिजिटल प्लेटफर्मलाई कसरी गर्ने भन्ने बिचारको साथसाथै पाँच बुँदा त्यो सार्नुभयो र के भन्नुभयो भन्दाखेरि, संसारमा हैकम चलाउने कुरा हुँदैन ।’
पन्तले कृत्रिम बुद्धिमत्ता(एआई), डिजिटल प्लेटफर्मलगायत प्रविधिको प्रयोगका विषयमा समेत विश्वव्यापी सहकार्य आवश्यक रहेको बताए। विश्वमा कुनै एक देश वा शक्तिको हैकम चल्ने अवस्था स्वीकार गर्न नहुने उनको भनाइ छ । उनले ग्लोबल साउथका देशहरूले समानता, आपसी सम्मान र सहकार्यमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको पक्षमा आवाज उठाउनुपर्नेमा जोड दिए ।