२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

दमाममा ‘तेस्रो दमाम च्याम्पियन कप–२०२५’ हुँदै

Nada
अन्जान गुभाजु
२०८२ वैशाख १३ गते ११:४१
Shares
दमाममा ‘तेस्रो दमाम च्याम्पियन कप–२०२५’ हुँदै

साउदी अरबः साउदी अरबमा कार्यरत नेपाली समुदायबीच आपसी सद्भाव, मित्रता र खेलकुदको भावनालाई प्रगाढ बनाउने उद्देश्यले ‘तेस्रो दमाम च्याम्पियन कप–२०२५’ आयोजना हुने भएको छ। युनाइटेड नेपाल फुटबल क्लब दमाम (युएनएफसी डिएमएम) ले मुस्लिम धर्मावलम्बीहरूको महान चाड बकर इद (इद–उल–अजहा) को अवसर पारेर फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो।

ncell

यो प्रतियोगिता आगामी जुन ६ मा साउदी अरबको पूर्वी क्षेत्र खोबरस्थित अजेजिया फुटबल मैदानमा हुनेछ । आयोजक समितिले शुक्रबार दमामको एक नेपाली होटलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।

आयोजक क्लबका सचिव कमल ल्हो तामाङका अनुसार, प्रतियोगिताको विजेता टोलीले ७,७७७ साउदी रियाल नगद पुरस्कारका साथै प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलीले पनि ४,४४४ साउदी रियाल नगद, प्रमाणपत्र, ट्रफी र मेडल हात पार्नेछ।

साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष सम्मान गरिने आयोजक टिमले जनाएको छ । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर र प्रत्येक खेलका म्यान अफ द म्याच लगायत विभिन्न व्यक्तिगत विधामा पनि आकर्षक पुरस्कार र ट्रफीहरू प्रदान गरिने जानकारी सचिव तामाङले दिएका छन्।

युनाइटेड नेपाल फुटबल क्लबका व्यवस्थापक ओम बहादुर कुमालले प्रतियोगिताको मुख्य लक्ष्य साउदी अरबमा रहेका नेपालीहरूलाई खेलको माध्यमबाट एकताबद्ध गराउनु, भाइचाराको सम्बन्ध स्थापित गर्नु र आपसी सद्भाव बढाउनु रहेको बताए।

व्यवस्थापक कुमालले भने, ‘यो प्रतियोगिता केवल एउटा खेल मात्र नभएर यहाँ रहेका सम्पूर्ण नेपालीहरूको एकतालाई अझ बलियो बनाउने एउटा महत्वपूर्ण माध्यम पनि हो। हामीले बकर इद जस्तो पवित्र पर्वको अवसर पारेर यस किसिमको कार्यक्रम आयोजना गरी समुदायमा खुशियाली र अपनत्वको भावना फैलाउन चाहेका छौं।’

प्रतियोगितामार्फत नेपाली फुटबलप्रतिको लगाबलाई थप विस्तार गर्ने विश्वास क्लबले लिएको छ। प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर मध्यान्ह राष्ट्रिय दैनिक रहेको छ । 

ताजा खबर

सम्बन्धित खबर