२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

लेक लागेर बिरामी परेका पर्यटकको उद्धार

Nada
२०८२ वैशाख ८ गते १२:५७
Shares
लेक लागेर बिरामी परेका पर्यटकको उद्धार

मुस्ताङः उपल्लो मुस्ताङमा लेक लागेर बिरामी परेका एक विदेशी नागरिकको आइतबार राति सकुशल आपत्कालीन उद्धार गरिएको छ । इटालियन पुरुष नागरिक वर्ष ३१ का डियागो मारियो पिन्टोलाई उपल्लो मुस्ताङमा लेक लागेर बिरामी परेपछि लोमान्थाङ गाउँपालिकाको स्वास्थ्य शाखा टोलीले एम्बुलेन्समार्फत उद्धार गरेको हो ।

ncell

समून्द्री सतहको झन्डै चार हजार मिटरको अग्लो उचाइमा अवस्थित उपल्लो मुस्ताङ भ्रमण गर्न पुगेका इटालियन नागरिक पिन्टोलाई लेक लाग्ने समस्याले बिरामी परेपछि गाउँपालिकाको समन्वयमा तत्कालै गाउँपालिकाकै एम्बुलेन्समार्फत प्रदेश अस्पताल जोमसोम मुस्ताङमा पुर्‍याउने गरी उद्धार गरिएको लोमान्थाङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विकास केसीले जानकारी दिए ।

लोमान्थाङ गाउँपालिकाले इटालिनयन पुरुष नागरिक पिन्टोको उद्धारका लागि अक्सिजनको व्यवस्थासहित दुईजना पालिका स्वास्थ्यकर्मीसँगै राखेर एम्बुलेन्समार्फत प्रदेश अस्पताल जोमसोममा पुर्‍याएर भर्ना गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले उल्लेख गरे । उपल्लो मुस्ताङको निषेधित तथा नियन्त्रित क्षेत्रमा ५०० डलर खर्च गरेर १० दिनको प्रवेशाज्ञा लिई त्यहाँ पुगेका इटालियन नागरिक पिन्टोलाई लेक लाग्ने समस्याका कारण श्वासप्रश्वासमा समस्या र टाउको दुख्ने समस्या देखिएकाले तत्कालै गाउँपालिकाकै एम्बुलेन्समार्फत उद्धार गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए। उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकलाई लेक लाग्ने समस्याले बिरामी परेको यो नै पहिलो घटना भएको उनको भनाइ छ ।

उपल्लो मुस्ताङमा ९० किमी दूरीको यात्रा तय गर्दै लेक लागेर बिरामी परेका इटालियन नागरिकलाई प्रदेश अस्पताल जोमसोममा राति १२ बजेको समयमा भर्ना गरिएको थियो । प्रदेश अस्पताल जोमसोमका चिकित्सक डा. विशाल सापकोटाका अनुसार लेक लागेर बिरामी परेका इटालियन नागरिकको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । मुस्ताङको जोमसोम हुँदै अर्को दुईजना फ्रान्सेली नागरिक र तीनजना प्रथप्रर्दशक गाइडसँगै उपल्लो मुस्ताङ पुगेका इटालियन नागरिक पिन्टोलाई लोमान्थाङ पुगेपछि लेक लाग्ने समस्या देखिएको थियो ।

हिमाली जिल्ला मुस्ताङमा विसं २०८१ मा लेक लागेर दुई नेपालीसहित नौजना विदेशी पर्यटक गरी ११ जना पर्यटकले ज्यान गुमाएका थिए । यस्तै, विसं २०८० सालमा ६ जना नेपालीसहित १७ जना विदेशीले लेक लागेर ज्यान गुमाएका थिए । पर्वतीय क्षेत्रको उच्चस्थानमा पर्यटकहरूले यात्रा क्रममा विश्राम नगरी यात्रा गर्दा लेक लाग्ने समस्या देखिने गरेको छ । विशेषगरी उमेर पुगेका ज्येष्ठ नागरिक र दीर्घरोगका बिरामीहरूलाई बढी मात्रामा लेक लाग्ने समस्या देखिने गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर