२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सकियो बृहत् मुस्ताङ सरसफाइ अभियान

Nada
२०८२ वैशाख ७ गते ०८:१६
Shares
सकियो बृहत् मुस्ताङ सरसफाइ अभियान

मुस्ताङ  : ‘मौलिक संस्कृति र पर्यावरण बचाऔँ, वातावरण प्रदूषण घटाऔँ, मुस्ताङ जिल्लालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरौँ’ भन्ने उद्घोषसहित जिल्लामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थानको बृहत् सरसफाइ तथा जनचेतनमूलक पाँचदिने अभियान शनिबार सकिएको छ । जिल्ला समन्वय समितिको अगुवाइमा मुस्ताङका पाँच पालिकाले संयुक्त रूपमा आयोजना गरेको पाँचौँ दिन शनिबार म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरमा पुगेर समापन भएको हो ।

ncell

यसअघि उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको (नेपाल–चीन) कोरलानाकाबाट मुस्ताङस्थित धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत् सरसफाइ तथा चेतनामूलक अभियान सुरु गरिएको थियो । अभियानअन्तर्गत जिसससहित मुस्ताङका पाँचै वटा गाउँपालिका अध्यक्ष/उपाध्यक्षलगायत जनप्रतिनिधि एवं कर्मचारीको उपस्थितिमा अभियान सम्पन्न भएको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले जानकारी दिए ।

धार्मिक तथा पर्यटकीय गन्तव्यको पूर्ण सरसफाइ तथा चेतनामूलक अभियानमार्फत जिल्ला भित्रिने पर्यटक तथा पर्यटन व्यवसायी तथा आमसरोकारवालाई फोहरमैला व्यवस्थापनसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्ला समन्वय समितिको अगुवाइमा जिल्लाका पाँचवटै पालिकाले आपसमा समन्वय र सहकार्य गरी फोहरमैला व्यवस्थापनमा जुटेको अध्यक्ष गौचनको भनाइ छ ।

अभियानमा मुस्ताङका जनप्रतिनिधिले सहभागिता जनाएका थिए । नेपाल–चीन सीमानाका कोरलाबाट सुरु भएको फोहर व्यवस्थापन अभियान न्हेचुङ भन्सार, झोङ गुफा, ठिङ्गर, लोमान्थाङ, लोघेकर गुम्बा, लुरी गुम्बा, छुसाङ, कागबेनी श्राद्धस्थल हुँदै प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ क्षेत्रको बृहत् सरसफाइ गरिएको छ । त्यसैगरी, ढुम्बाताल, जोमसोम, मार्फा, टुकुचे, कोवाङ, सेकुङ ताल, लेते हुँदै म्याग्दी र मुस्ताङको सीमाक्षेत्र घाँसासम्मको एक सय ४५ किमी दूरीमा बृहत् सरसफाइ गरिएको छ ।

जनप्रतिनिधि एवं कर्मचारीको संयुक्त टोलीले झन्डै १० ट्रयाक्टरभन्दा बढी फोहर सङ्कलन गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए । “हाम्रो अभियानअन्तर्गत फोहर उठाएर सम्बन्धित पालिकामै राखेका छौँ, सङ्कलन भइसकेको नकुहिने फोहरलाई जोमसोम ल्याएर प्रशोधन केन्द्रमा पठाउने काम गर्नेछौँ”, अध्यक्ष विष्टले भने ।

अभियान समापनमा मुस्ताङका जनप्रतिनिधिले जलवायु परिवर्तनको असरले हिमाली जिल्लामा परेको प्रत्यक्ष तथा अप्रत्य प्रभावका विषयमा चिन्ता व्यक्त गरेका थिए । जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङले जलवायु परिवर्तनको प्रभावले सेताम्मे हिमाल कालापत्थरमा परिणत भएको र यसले वातावरण सन्तुलनमा समेत क्षति पुगेको उल्लेख गरिन् । प्राकृतिक सम्पदा र हिमालको सौन्दर्यता जोगाउन सकेमात्र पर्यटन क्षेत्रको विकास हुने भएकाले प्रदूषण घटाउन र सौन्दर्यता बचाउन सरसफाइ अभियानमा हातेमालो गर्दै सरसफाइ अभियानलाई प्राथमिकता दिएको जिसस प्रमुख गुरुङले जनाइन् ।

 लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले फोहरमैला व्यवस्थापनका लागि आ–आफ्नो पालिकाले वडा तहबाटै सुरु गर्नुपर्नेमा जोड दिए। वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङले फोहरमैला व्यवस्थापनका लागि स्थानीय तहलाई संविधानले अधिकार प्रत्यायोजन गरेकाले स्थानीय तहले अपनत्व लिएर सरसफाइ अभियानलाई पूर्णता दिनुपर्ने बताए ।

 प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले मुस्ताङका स्थानीय तह र जिससको यसप्रकारको बृहत् सरसफाइ अभियानले सकारात्मक सन्देश प्रवाह गरेको बताए । “पालिकाहरूबीच मेलमिलाप, ऐक्यबद्धता, मित्रता भएको देखिन्छ, यो अभियानले नेपालका सात सय ५३ वटै स्थानीय तहका लागि असल अभ्यास सिको गर्ने सन्देश प्रवाह भएको छ”, प्रजिअ भुसालले भने । 

ताजा खबर

सम्बन्धित खबर