२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

लोकतान्त्रिक एसोसिएसनबाट ३ पूर्वअध्यक्षसहित ४ जना निष्कासित

Nada
२०८२ वैशाख ३ गते ०६:४०
Shares
लोकतान्त्रिक एसोसिएसनबाट ३ पूर्वअध्यक्षसहित ४ जना निष्कासित

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले विमलप्रसाद ढकालसहित ३ पूर्वअध्यक्ष र १ संस्थापक तथा पूर्वउपाध्यक्षसहित ४ जनालाई विधान विपरीत काम गरेको र चित्तबुझ्दो जवाफ नदिएको भन्दै निष्कासन गरेको छ ।

ncell

एसोसिएसनले पूर्वअध्यक्ष विमल ढकाल, प्रज्ञान न्यौपाने, कुमुद खनाल र नेपाली कांग्रेसकी केन्द्रीय सदस्य रहेकी संस्थापक तथा पूर्वउपाध्यक्ष सीता देवकोटालाई निष्कासन गरेको हो ।

यसअघि एसोसिएसनको कार्यसमिति बैठकले सोधेको लिखित स्पष्टीकरणको कुनै जबाफ नदिएको भन्दै एसोसिएसनका कोषाध्यक्ष हिमा गुरुङ, पूर्वउपाध्यक्ष तथा कार्यवहाक अध्यक्ष सुजितकुमार श्रेष्ठ, पूर्वकार्यसमिति सदस्य ईश्वर  सापकोटा, चन्द्रबहादुर लिम्बू र कर्णराज कटुवाललाई निलम्बन गरेकोे थियो ।

एसोसिएसनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चैत २९ गतेको निर्वाचनका लागि भुवनसिंह गुरुङको नेतृत्वमा प्रतिस्पर्धा गर्ने एसोसिएसनको संस्थागत निर्णयलाई बेवास्ता गरी केही सदस्यहरूलाई प्रथम उपाध्यक्ष, महासचिव र सदस्य पदमा उक्साएर नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी समूहको नरेश गेलाल नेतृत्वको समूहबाट उम्मेदवारी मनोनयन दर्ता गर्न लगाइ लोकतान्त्रिक एसोसिएसनको निर्णयविरुद्ध बागी उम्मेदवार बनाइ एसोसिएसनद्वारा घोषणा गरिएका उम्मेदवारलाई हराउने गरी उनीहरू लागेको कारबाही पत्रमा उल्लेख गरेको छ । 

एसोसिएसनले गत चैत २४ गते  च.नं. ७१ मार्फत पठाएको सचेत पत्रलाई समेत बेवास्ता गरी बागी उम्मेदवारहरूको उम्मेदवारी फिर्ता गर्न नलगाएकाले एसोसिएसनको चैत २६ गतेको बैठकअनुसार विधानको दफा ९ को उपदफा १ र २ तथा १४ बमोजिम संस्थाले गरेको निर्णय विपरीत हुने गरी कार्य गरेकाले संस्थाबाट सदस्यतासमेत नरहने गरी निष्कासनको कारबाही किन नगर्ने भनि २४ घण्टाभित्र लिखित स्पष्टीकरण सोधिएको थियो ।

त्यसको जबाफ नदिएकाले मंगलबार बसेको कार्यसमितिको बैठकले विधानको दफा ८, ९ र १४ बमोजिम संस्थाबाट साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरिएको कारबाही पत्रमा उल्लेख छ ।

एसोसिएसनले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र नेपाली कांग्रेसका विभिन्न जिल्ला कार्यसमितिलाई कारबाही पत्रको बोधार्थ पठाएको छ । कारबाहीमा परेकाहरूको यस विषयमा सार्वजनिक रूपमा कस्तो प्रतिक्रिया आउने हो त्यो भने हेर्ने बाँकी छ ।

एसोसिएसन पदाधिकारीहरूले निष्कासनको निर्णयअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जानकारी गराएर सहमति र समर्थन लिएको बताएका छन् । चैत २९ गते सम्पन्न संघको निर्वाचनमा कांग्रेसको शुभेच्छुक संस्था एसोसिएसनको आधिकारीक प्यानलबाट विजयी पदाधिकारी तथा सदस्यहरू मंगलबार शुभकामना लिन पार्टी सभापती देउवाको निजी निवास बुढानीलकण्ठ पुगेका थिए । सो अवसरमा कांग्रेस सभापति तथा पूर्वप्रधामन्त्री देउवाले बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै वैदेशिक रोजगार व्यवसायी र कामदारको हकहितका लागि संघले उठाउने मुद्दामा पार्टीको साथ रहने प्रतिबद्धता समेत जनाएको भेटमा सहभागी एसोसिएसनका कार्यवाहक महासचिव तुलसी पुरीले मध्यान्हलाई जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर