२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

घरेलु कामदार खुलाउने विषयमा कानुन मन्त्रालयको राय माग

Nada
२०८१ फागुन ११ गते ०६:५०
Shares
घरेलु कामदार खुलाउने विषयमा कानुन मन्त्रालयको राय माग

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यूएईमा परीक्षणका रूपमा घरेलु कामदार खुलाउने विषयमा कानुन मन्त्रालयको राय माग गरेकोे छ । २०७३ सालमा संसद्को अन्तर्राष्ट्रिय श्रम समितिले घरेलु काममा जाने महिलाहरू यौन शोषण तथा दुव्र्यवहारमा परेका भन्दै श्रम सम्झौताबिना पठाउन प्रतिबन्ध लगाएको थियो ।

ncell

कानुन मन्त्रालयको राय आएपछि द्विपक्षीय रूपमा मान्य हुनेगरी प्रक्रिया अगाडि बढाउने श्रममन्त्री शरत्सिंह भण्डारीले बीबीसी नेपाली सेवालाई बताएका छन् । संसदीय समितिले श्रम सम्झौता भएका मुलुकसँग सुरक्षाको प्रत्याभूति गरे सीपयुक्त श्रमिक पठाउनुपर्ने बताएको छ ।

यूएईका लागि श्रम मन्त्रालयले बनाएको प्रोटोकलमा रोजगारदाताले कामदारको दोहोरो हवाई टिकट, १ महिनाको तालिम खर्चसमेत बेहोर्नुपर्नेलगायतका प्रावधान राखिएको बत(ाइएको छ ।

सरकारले प्रतिबन्ध लगाउने, तर खाडी मुलुकमा घरेलु कामदार थुप्रिने गरेपछि अधिकारकर्मी तथा सांसदलगायत सबैतिरबाट सुरक्षाको उचित प्रबन्ध गरेर घरेलुु कामदारको प्रतिबन्ध हटाउन संसद्मा माग बढेको छ ।

उनीहरूले स्वदेशमा सरकारले जीविकोपार्जन हुने रोजगारीको प्रबन्ध गर्न नसकेका अवस्थामा सुरक्षाको कारण देखाउँदै श्रम स्वीकृतिमा रोक लगाउनु संविधानले सुनिश्चितता गरेकोे लैंगिक विभेद नगर्ने प्रावधान उल्लंघन भएको टिप्पणी गर्ने गरेका छन् ।

करिब १ हप्ताअघि प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले कुवेतलगायत खाडी मुलुकहरूमा वैदेशिक रोजगारीका लागि नेपाली महिला गैरकानुनी बाटोबाट गएका कारण विकराल मानवीय समस्या सिर्जना गरेको भन्दै व्यवस्थित गराउन सरकारको ध्यानाकर्षण गराएका थिए ।
सांसद खनालले नेपाल सरकारले खाडी मुलुकमा महिला घरेलु कामदार पठाउन प्रतिबन्ध लगाए पनि अहिले कुवेतमा नेपाली महिला कामदारको संख्या ५० हजार नाघेको जानकारी दिएका थिए ।

एकातिर नेपाल सरकारले घरेलु महिला कामदार पठाउन प्रतिबन्ध लगाउने र अर्कातिर स्थापित विधिलाई खिल्ली उडाउनेगरी खाडी मुलुकहरूमा नेपाली घरेलु महिला कामदारको संख्या बढेको भन्दै सांसद खनालले यसले नेपालको कूटनीतिक सम्बन्ध स्खलित भएको समेत दाबी गरेका थिए ।

स्वदेशमा रोजगारी नपाएका, श्रीमान् गुमाएका वा श्रीमान्सँग सम्बन्धविच्छेद गरेका, बाबु वा आमाले अर्को विवाह गरेकाले पारिवारिक बेमेलको समस्या र आर्थिक समस्यामा परेकाहरूलाई एजेन्टले विभिन्न प्रलोभनमा पारेर घरेलु काममा पठाउने क्रम नरोकिएको बताइन्छ ।

सरकारले वैधानिक रूपमा पठाउन अनुमति नदिँदा एजेन्टले राम्रो जागिरको प्रलोभन देखाएर लोभ्याउने गरेका समेत देखिएको छ ।

दलालहरूले भिजिट भिसा बनाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै घरेलु कामदार सप्लाई गर्ने कम्पनीमा पुर्‍याउने गरेका छन् । सरकारले वैधानिक रूपमा पठाउन सुरु गरे गैरआवासीय नेपालीको आवरणमा रहेका केही बिचौलिया एजेन्टहरूको फुर्तीफार्ती पनि सेलाउने कतिपयको टिप्पणी छ ।

ताजा खबर

सम्बन्धित खबर