२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

ओखलढुंगा पत्रकार समाजद्वारा वरिष्ठ पत्रकार दाहाललाई अभिनन्दन

Nada
२०८१ माघ २६ गते २१:५७
Shares
ओखलढुंगा पत्रकार समाजद्वारा वरिष्ठ पत्रकार दाहाललाई अभिनन्दन

काठमाडौं : ओखलढुंगा पत्रकार समाजले पूर्वमन्त्री  तथा वरिष्ठ पत्रकार होमनाथ दाहाललाई अभिनन्दन गरेको छ । समाजको तर्फबाट वरिष्ठ पत्रकारद्वय राजेन्द्र दाहाल र ध्रुवहरि अधिकारीले अभिनन्दन पत्रकासाथ दोसल्ला ओढाएर सम्मान गरेका हुन् । नेपाली पत्रकारिता जगतमा विशिष्ट योगदान गरेका दाहाललाई मैतीदेवीस्थित निवासमा एक कार्यक्रमकाबीच समाजले अभिनन्दन गरेको हो ।

ncell

ओखलढुंगाको मोलुङ गाउँपालिका–२, रामपुरमा जन्मिएका ८३ वर्षीय दाहाल राष्ट्रपुकार साप्ताहिकका सम्पादक तथा प्रकाशकका साथै नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष समेत हुन् । 

वि.सं.२०५६ मा ओखलढुंगा क्षेत्र नं १ बाट नेपाली कांग्रेसको तर्फबाट सांसद पदमा निर्वाचित दाहाल २०६१ मा कृषि तथा सहकारीमन्त्री भएका थिए । 

उपस्थित वरिष्ठ पत्रकारहरुले दाहाल पञ्चायतकालीन अवस्थामा प्रजातन्त्रका पक्षमा निडरताका साथ लागेर पत्रकारितामा खरो उत्रने सामथ्र्य राख्ने व्यक्ति भएको चर्चा गरेका थिए । 

वरिष्ठ पत्रकार राजेन्द्र दाहालले पञ्चायतकालीन अवस्थामा प्रजातन्त्रका पक्षमा निडरताका साथ पत्रकारिता गरेर उहाँले पु¥याउनुभएको योगदानको प्रशंसा गरे । ‘जतिबेला पञ्चायतविरुद्ध पत्रकारले लेख्नै डराउँथे, त्यतिखेर पनि उहाँले निरन्तर प्रजातन्त्रका पक्षमा लेख्न छाड्नुभएन’, दाहालले भने, ‘उहाँले पत्रकारिताका माध्यमबाट प्रजातान्त्रिक धारको सधैँ नेतृत्व गरिरहनुभयो ।’

वरिष्ठ पत्रकार दाहालले आफूलाई सम्झिएर सम्मान गरेकामा ओखलढुंगा पत्रकार समाजप्रति आभार प्रकट गरे । उमेरका हिसाबले पनि इतिहासका घटनाक्रमलाई बिर्सदै गएका दाहालले विभिन्न समयमा तीन वर्षभन्दा बढी जेल जीवन बिताएका छन् । उनले पहिला र अहिलेको पत्रकारिताको भिन्नताका बारेमा समेत सचेत गराए । 

गोरखापत्र संस्थानका पूर्वअध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारी समेत सम्हालि सक्नुभएका दाहालले नेपाली पत्रकारितामा विशिष्ट योगदान पु¥याउनुभएको वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले बताए । लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षमा निरन्तर लागि रहेका दाहाल ओखलढुंगासँगै सिंगो प्रेस जगतका लागि एउटा प्रेरणाको स्रोत भएको अधिकारीको भनाइ छ ।

ओखलढुंगा समाजका अध्यक्ष चेतनाथ धमलाले ओखलढुंगामा जन्मिएर पत्रकारिता क्षेत्रमा रहेका सम्पूर्ण पत्रकारहरुलाई संगठित गर्ने उद्देश्यले स्थापना गरिएको संस्थाले पहिलो पटक विशिष्ट व्यक्तित्व होमनाथ दाहाललाई अभिनन्दन गरेर समाजका गतिविधिलाई अघि बढाउन थालिएको बताए ।

ओखलढुंगा पत्रकार समाजका तर्फबाट पत्रकारहरु जीवनाथ धमला, जीवराम भण्डारी, बालकुमार नेपाल, नारदमुनि गौतम, तुलसीहरि कोइराला, विनोद दाहाल, बद्रीकाजी गुरुङ, सलोजा दाहाल, कुम्भराज राईलगायतको उपस्थिति रहेको थियो ।


 

ताजा खबर

सम्बन्धित खबर