२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

धादिङमा बगाले थापा क्षेत्रीको १४०औं कुलपूजाको तयारी

Nada
२०८१ माघ २६ गते २१:०५
Shares
धादिङमा बगाले थापा क्षेत्रीको १४०औं कुलपूजाको  तयारी

धादिङ: बगाले थापा क्षेत्री समुदायको १४०औं ऐतिहासिक कुलपूजाको तयारी तीब्र पारिएको छ । आउँदो फागुन २३ गते धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३, मुलपानी मुर्चोकमा भव्य रूपमा सम्पन्न गर्न तयारी तीब्र पारिएको हो । 

ncell

ऐतिहासिक किम्वदन्ती अनुसार, वि.सं. १२१५ मा डोटीमा स्थापना भएका आदिकुल पुरुष सन्त महाराज कालु बगाले थापा क्षेत्रीद्वारा पहिलोपटक कुलपूजाको सुरुवात गरिएको थियो । त्यसयता, हरेक तीन–तीन वर्षको फरकमा फागुन महिनाको शुभ विवाह लगनमा परम्परागत रूपमा कुलपूजा गर्दै आएको छ ।

वंश परम्पराअनुसार, आदिकुल पुरुष कालु थापाका कान्छा छोरा धर्मराज थापाका ११औं पुस्ताका वंशज वलीराज थापाले वि.सं. १६५१ देखि यस परम्परालाई निरन्तरता दिएका थिए। करिब ६०० वर्षदेखि निरन्तर हुँदै आएको यो ऐतिहासिक कुलपूजा यसपटक झन् भव्य रूपमा मनाइने तयारी गरिएको छ ।

यस वर्षको कुलपूजामा विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रम आयोजना गरिँदैछ । स्वास्थ्य शिविरको समेत आयोजना गरिनेछ, जसको संयोजन सुरेश थापाले गरेका छन् । 

कुलपूजा भव्य बनाउनका लागि मुलपानी मुर्चोक र आसपासका बगाले थापा समुदायका सदस्यहरू, साथै विभिन्न जिल्लाका काजी बगाले थापा क्षेत्रीहरू पूर्ण उत्साहका साथ जुटिरहेका छन् । पूजाको एक दिनअघि नै विभिन्न जिल्लाबाट बगाले थापा समुदायका सदस्यहरू ध्वजापताका, बलि दिनका बोकाहरू, बाजागाजा र लावालस्करसहित पुजास्थलमा आइपुग्ने परम्परा रहँदै आएको छ ।

कुलपूजामा ८ हेलिकप्टरबाट पुष्पवृष्टि गर्दै निशान मन्दिरबाट करिब दुई किलोमिटर टाढा रहेको कुलायन थानसम्म भव्य शोभायात्रा गर्ने कार्यक्रम रहेको छ । यस्तै  ८ सूर्य–चन्द्र अंकित ४९ ओटा तारा भएको बगाले थापा समुदायको निशान झण्डा, नेपाल राष्ट्रको झण्डा, शंख, घण्टा, डमरु, दियो, कलश, पारम्परिक खुकुरी र खोंडासहितको शोभायात्रा आकर्षणको केन्द्रको रुपमा रहेको छ । ८ निशान भगवतीको बक्सालाई डोलीमा राखेर समुदायका ज्येष्ठ सदस्यलाई मूल पूजारी बनाइ बाजागाजासहित कुलायन थानमा परिक्रमा गरिने भएको छ । 

८ कुलायन थानमा होम–होमादी, पूजाआर्चनासहित करिब एक हजार बोका र भेडाको बलि चढाइनेछ, जुन कुलदेवता तथा तान्त्रिक धामीहरूलाई समर्पित गरिनेछ ।  

यस ऐतिहासिक एवं धार्मिक महत्व बोकेको कुलपूजामा सम्पूर्ण बगाले थापा क्षेत्री समुदायलाई उपस्थित भइ सहभागी हुन आयोजक समितिले अनुरोध गरेको छ ।
 

ताजा खबर

सम्बन्धित खबर