२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

मनाङको तिमाङ जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर

Nada
२०८१ माघ २२ गते १७:१४
Shares
मनाङको तिमाङ जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर

काठमाडौं : मनाङको चामे गाउँपालिका–१ तिमाङ गाउँभन्दा माथिको जंगलमा शुक्रबारदेखि फैलिएको डढेलो नियन्त्रणबाहिर गएको छ । जटिल भूगोल भएकाले डढेलो नियन्त्रण असम्भव देखिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए ।

ncell

उनका अनुसार आगलागी हिमालको फेदसम्मै पुगेको छ । करिब ३ हजार मिटर उचाइसम्म डढेलो फैलिएको उनले बताए । सिजनमा एकपटक पनि हिउँ नपरेपछि सुख्खा भएको क्षेत्रमा डढेलो लागेको जनाइएको छ ।

मंगलबार सुरक्षा समितिका सदस्यहरूसहित नजिकको स्थानीयहरूसँग छलफल गरी सबै सुरक्षा निकाय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का कर्मचारी, स्थानीय नागरिक समेतको सहकार्यमा बस्तीनजिक अग्निरेखा निर्माण गरिएको साथै अग्नि नियन्त्रणका लागि पानीलगायतको सामग्री सञ्चयका लागि तयारी गरिएको छ ।

हाल डढेलो स्याक्र्यु क्षेत्रतर्फ बढेको बुझिएकाले उक्त स्थानतर्फ सुरक्षाकर्मीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।

डिभिजन वन कार्यालय मनाङका वन अधिकृत अरुण पराजुलीका अनुसार चामे गाउँपालिका–१ स्थित तिमाङ जंगलमाी डढेलो सल्केको थियो। तिमाङ बस्तीको सिरान क्षेत्रमा आगलागी भएकोले अहिलेका लागि बस्तीमा जोखिम नरहेको उनले बताए । तर, वनमा लागेको आगो फैलने क्रम तिब्र रहेको पराजुलीले बताए ।  

उनले भने, ‘हावाको गति तीव्र रहेकोले तत्कालै आगो नियन्त्रणमा आउने सम्भावना पनि कम रहेको छ, हावाको गतिसँगै आगो पनि फैलिएको छ ।’

उनका अनुसार चारदिन अवधिमा वनको करिब दुइहेक्टर क्षेत्रफल जलिसकेको छ । डढेलो लागेको राष्ट्रिय वन क्षेत्र हो, जुन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्र पर्छ ।  

हिउँ नपर्दा सुख्खा भएको क्षेत्रमा आगो लागेकोले सावधानी अपनाउन जरुरी रहेको उनले बताए । अहिले आगो लागेको क्षेत्र हिउँ पर्ने ठाउँ हो । तर, यो सिजनमा एकपटक पनि हिउँ नपरेकोले सबैतिर सुख्खा छ । त्यही सुख्खा भएकोलो पनि आगो फैलिन सहज भएको छ । 

हिमाली जिल्ला मनाङमा पछिल्ला केहीवर्षदेखि वनजंगलमा नियमित जसो आगलागी हुने गरेको छ । २०७७ मा चामे गाउँपालिका–२ थानचोकको वन क्षेत्रमा भीषण आगलागी भएको थियो । त्यही वर्ष नासोँ गाउँपालिकाको ताचैमा पनि भीषण डढेलो लागेको थियो । पोहोर पनि मनाङका विभिन्न वन क्षेत्रमा आगलागी भएको थियो ।  


 

ताजा खबर

सम्बन्धित खबर