२०८१ चैत ६ गते बुधवार / Mar 19 , 2025 , Wednesday
२०८१ चैत ६ गते बुधवार
Ads

आप्रवासीलाई घर फर्काउने ट्रम्प नीति : १३६५ निष्काशित, थप ३ हजार जोखिममा

draupadi film
निमिष झा
२०८१ माघ १७ गते ०६:३०
आप्रवासीलाई घर फर्काउने ट्रम्प नीति : १३६५ निष्काशित, थप ३ हजार जोखिममा

काठमाडौं : अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया तीव्र बनाए पछि १ हजार ३६५ नेपाली निष्कासनमा परेका छन् ।

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि आप्रवासीलाई घर फर्काउने प्रक्रिया तीव्र पारिएको हो । यसक्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ आप्रवासीहरूको संख्या सार्वजनिक भएको छ । ती मध्ये १ हजार ३६५ जना नेपाली छन् ।

ट्रम्पले अवैधरूपमा अमेरिकामा रहँदै आएका आप्रवासीको सबैभन्दा ठूलो सामूहिक निर्वासनको अभियान सुरु गरेका छन् । ट्रम्पले शपथ ग्रहण लगत्तै यससम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

ट्रम्पले पदभार ग्रहण गरेयता कम्तीमा २ हजार ६८१ जना अनधिकृत आप्रवासी पक्राउ पनि परेका छन् । ट्रम्पले चुनावी अभियानमै घोषणा गरेअनुसार दक्षिणी सीमामा संकटकाल घोषणासमेत गरिसकेका छन् । संकटकाल घोषणासँगै अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रमा १५ सय सैनिक तैनाथ गरेको छ ।

ट्रम्पको पहिलो ४ वर्षे कार्यकालमा झन्डै १५ लाख जनालाई अमेरिकाबाट देश निकाला गरिएको थियो । निर्वतमान राष्ट्रपति जो बाइडन प्रशासनले अमेरिकाबाट बाहिर निकालेका विदेशी आप्रवासीको संख्यामा पनि त्यसको छेउछाउ पुगेको थियो ।

पूर्वराष्ट्रपति बाराक ओबामाका २ कार्यकालमा ३० लाख जनाभन्दा बढी आप्रवासीहरूलाई अमेरिकाले निकाला गरेको थियो । 

आधुनिक अमेरिकाको इतिहासमा सन् १९५४ मा सम्भवतः सबैभन्दा ठूलो सामूहिक देश निकाला भएको थियो । त्यस वर्ष ‘अपरेशन वेटब्याक’ अन्तर्गत १३ लाख जनालाई अमेरिकाको सीमाबाट बाहिर पठाइएको थियो । 

अमेरिकाबाट फर्काइन लागेकाहरूमध्ये सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरू छन् ।

होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना छन् । चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासनमा परेका हुन् ।

अमेरिकामा १ करोडबढी अवैध आप्रवासी रहेको अनुमान गरएको छ । गैरकानूनी रूपमा अमेरिकामा लुकेर बसेका, औपचारिक कागजातहरू नभएका आप्रवासीलाई अवैध आप्रवासी भनिएको छ ।

ट्रम्पको निष्कासन योजनामा अमेरिका छोड्न अदालतबाट अन्तिम आदेश पाइसकेका तर अझै अमेरिका नछोडेका व्यक्तिहरू मुख्य प्राथमिकतामा परेका छन् ।

इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्टद्वारा सार्वजनिक तथ्यांक अनुसार १ हजार ३६५ नेपालीहरूले अन्तिम निष्कासन आदेश पाए पनि कुनै कानुनी सुरक्षा नपाएका कारण अमेरिका बसिरहेका छन् । टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीए) वा अन्य कुनै कानुनी सुरक्षा नभएका यी व्यक्तिहरू पक्राउ परेमा तुरुन्त निष्कासनको जोखिममा पर्नेछन् ।

यीमध्ये अधिकांश व्यक्ति २४ जुन २०१५ पछि अमेरिका प्रवेश गरेका हुन् र निष्काशनको अन्तिम आदेश पाइसकेका आप्रवासी भएको अमेरिकाबाट प्रकाशित समाचार पोर्टल नेपयोर्कले जनाएको छ ।

२४ जुन २०१५ भन्दा अगाडि अमेरिका प्रवेश गरेका नेपालीहरू टीपीएस अन्तर्गत संरक्षित भएका कारण उनीहरूलाई तत्काल निष्कासन गरिने छैन ।

अमेरिकाको आन्तरिक सुरक्षा विभागका अनुसार अमेरिकामा ३ लाख भन्दा धेरै नेपालीमूलका बासिन्दा छन् । जसमध्ये २ लाख जनाले ग्रीनकार्ड र झण्डै ८७ हजार जनाले नागरिकता प्राप्त गरेका छन् । २० हजार जना विद्यार्थी छन् भने २० हजार जनाले शरणार्थीका रूपमा आवेदन दिएका छन् । ७ हजार ५ सय जनाले अस्थायी आवासीय अनुमति पाएका छन् ।

अमेरिकाको अध्यागमन र भन्सार प्रवद्र्धन कार्यालयले १ हजार ३६५ भन्दा केही धेरै नेपाली अनधिकृत रहेको अनुमान गरेको छ । अमेरिकामा अहिले १ करोड २० लाख जना अवैध आप्रवासी रहेको प्यु रिसर्चले जनाएको छ । तीमध्ये सबैभन्दा बढी मेक्सिकोका झन्डै ५० लाख जना छन् । दोस्रोमा एल साल्भाडोरका ७ लाख ५० हजार र तेस्रोमा भारतका ७ लाख २५ हजार जना अनधिकृत आप्रवासी छन् ।

कति नेपाली जोखिममा ?

ठूलो मात्रामा आप्रवासीहरूलाई निष्कासन गर्ने भएसँगै अमेरिकामा रहेका नेपाली आप्रवासी समुदाय पनि प्रभावित हुने भएको छ ।

ट्रम्पको निष्कासन योजनामा अमेरिका छोड्न अदालतबाट अन्तिम आदेश पाइसकेका तर अझै अमेरिका नछोडेका व्यक्तिहरू मुख्य प्राथमिकतामा पर्नेछन् ।

हालसम्म अमेरिकी इमिग्रेशन अदालतहरूले ३ हजार ५०० नेपालीहरूलाई निष्काशन आदेश जारी गरिसकेका छन् । तीमध्ये करिब २ हजार जनाले स्वेच्छिक रूपमा अमेरिका छोडेका छन् ।

तर, अझै करिब १ हजार ५०० व्यक्ति टीपीएस अन्तर्गत सुरक्षित भए पनि निष्काशन आदेशको अन्तिम सूचीमा छन् । ट्रम्प प्रशासनले टीपएस समाप्त गरेमा करिब ३ हजार नेपाली ६ महिनाभित्रै निष्काशनको जोखिममा पर्ने छन् ।

अमेरिकामा सबैभन्दा धेरै गैरकानुनी आप्रवासी मेक्सिकोका छन् । सेन्टर फर माइग्रेसन स्टडिजले दिएको जानकारी अनुसार अमेरिकामा करिब ५२ लाख मेक्सिकन रहेका छन् । धेरै आप्रवासी देशहरू मध्ये भारत पाँचौँ स्थानमा छ । अमेरिकामा ४ लाख भारतीय गैरकानुनी रूपमा बसोबास गरिरहेको यो अध्ययनले देखाएको छ । गत हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसमध्ये १८ हजार गैरकानुनी रूपमा रहेका भारतीयलाई स्वदेश फर्काउन पहल गर्ने वचनबद्धता व्यक्त गरेका थिए ।

भारतपछि फिलिपिन्सका ३ लाख र २ लाख ४१ हजार चिनियाँ गैरकानुनी रूपमा रहेका छन् । यो मामिलामा नेपाल २६ औँ स्थानमा छ । नेपालका ३६ हजार आप्रवासी गैरकानुनी रूपमा रहेको तथ्यांक छ । यो संख्या कुल गैरकानुनी आप्रवासीको ०.३ प्रतिशत हो । नेपालपछि रूस छ । रूसका ३६ हजार आप्रवासी कागजविहीन यहीँ बसेका छन् । दक्षिण एसियाका बंगलादेश, अफगानिस्तान र पाकिस्तान क्रमशः ३९, ४२ र ५२ औँ स्थानमा छन् ।

अमेरिकाको गृह मन्त्रालय र प्यू रिसर्चको ताजा तथ्यांकका अनुसार सन् २०२२ सम्ममा अमेरिकामा झन्डै १ करोड १० लाख अप्रमाणित आप्रवासीहरू छन् । उक्त सङ्खंख्या अमेरिकाको कुल जनसंख्याको झन्डै ३.३ प्रतिशत हो ।

सन् २००५ यता उक्त संख्या तुलनात्मक रूपमा स्थिर छ । यद्यपि प्यूले आधिकारिक तथ्यांकमा केही पक्ष प्रतिबिम्बित हुन नसक्ने चेतावनी दिएको छ । यो तथ्यांकमा क्युबा, भेनेजुएला, हेइटी र निकारागुआका मानवीय आधारमा अनुमति पाएका ५ लाख आप्रवासीहरूसँग सम्बन्धित विवरण छुटेको हुन सक्छ ।

धेरैजसो अप्रमाणित आप्रवासीहरू लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । तीमध्ये झन्डै ८० प्रतिशत मानिस अमेरिकामा १ दशकभन्दा बढी समयदेखि बस्नेहरू छन् र झन्डै आधाजसो मेक्सिकोका छन् । त्यसपछि ग्वाटेमाला, एल सासल्भाडोर र होन्डुरसका छन् । उनीहरू मुख्यतः ६ राज्य क्यालिफोर्निया, टेक्सस, फ्लोरिडा, न्यूयोर्क, न्यूजर्सी र इलिनोईमा बसिरहेका छन् ।

कानुनी मामिला निरूपण गर्न अप्रमाणित आप्रवासीहरूसँग कानुनी प्रकिया अनुसरण गर्ने र त्यति बेलासम्म आफूसँग राम्रो व्यवहार गरिनुपर्ने अधिकार हुन्छ। त्यसमा देशनिकाला हुनुअघि अदालतमा सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

देशनिकाला गर्ने संख्यामा ठूलो वृद्धि गर्न आप्रवासनसम्बन्धी विषय हेर्ने न्यायिक प्रणालीमा व्यापक विस्तार गर्नुपर्ने हुन्छ । 

सामूहिक देशनिकालाको योजनाविरुद्ध तत्कालै अध्यागमन र मानव अधिकार पैरवीकर्ताबाट मुद्दा पर्ने सम्भावना छ ।

यद्यपि सन् २०२२ को सर्वोच्च अदालतको एउटा आदेशले मुद्दा चलिरहेको छ भने पनि अध्यागमनसम्बन्धी कामलाई निरन्तरता दिने अनुमति प्रदान गरेको छ ।
सरकारले वैधानिक रूपमै त्यस्तो कारबाही थाल्यो भने पनि सरकारी निकायहरूले अमेरिकाको सीमा र देशभित्र पनि ठूलो व्यवस्थापकीय चुनौती खेप्नुपर्ने छ ।

गत दशकमा अमेरिकाभित्रबाट देशनिकाला भएका आप्रवासीहरूको वार्षिक संख्या १ लाख जनाभन्दा कम छ । यसअघि ओबामा प्रशासनको समयमा त्यो संख्या वार्षिक २ लाख ३० हजारसम्म पुगेको थियो ।

धेरै आप्रवासी भएका शीर्ष ५ देश (सन् २०२२)

मेक्सिको २३ प्रतिशत
भारत ६ प्रतिशत
चीन ५ प्रतिशत
फिलिपिन्स ४ प्रतिशत
एm साल्भाडोर  ३ प्रतिशत

ADV

सम्बन्धित खबर

Advertise