२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

अख्तियारलाई हर्कको जवाफ- 'वाहियात उजुरी लाउने मान्छे को हो बुझेर लेखिपठाउनुहोला'

Nada
२०८१ माघ ११ गते १५:२७
Shares
अख्तियारलाई हर्कको जवाफ- 'वाहियात उजुरी लाउने मान्छे को हो बुझेर लेखिपठाउनुहोला'

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जवाफी पत्र पठाएका छन् ।

ncell

धरानमा खानेपानी आयोजना निर्माणका क्रममा अनियमितता गरेको भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो । सोही उजुरीको विषयमा अख्तियारले सोधपुछ गरेपछि मेयर साम्पाङले जवाफ पठाएका हुन् ।

उनले धरानको खानेपानी बोर्ड स्वायत्त निकाय भएकाले बोर्डले नगरवासीलाई पानीको आपूर्ति गर्न सबै विधि अपनाउन सक्ने  जवाफ दिएका छन् । 

पत्रमार्फत उनले भनेका छन्, ‘धरानको खानेपानी बोर्ड स्वायत्त निकाय हो । यसले आफ्नो नगरवासीहरूलाई पानीको आपूर्ति गर्न सबै खाले विधि अपनाउन सक्छ । नगरवासीहरुलाई सुलभ तरिकाले अटुट रुपमा खानेपानी वितरण गर्नु यसको एक मात्र उद्देश्य हो ।’

केन्द्र सरकारसँग धरानमा कोशी नदीको पानी ल्याइदिनु भनेर बिन्ती बिसाउँदा पनि नसुनेपछि आफू थोत्रो गाग्री लिएर सिंहदरबारसमेत पुगेको उनले पत्रमा उल्लेख गरेका छन् ।

केन्द्र सरकारले नसुनेपछि धरानबासीको जीवन बचाउनका लागि ४२ किलोमिटर टाढा कोकाहाबाट भीरपाखा, डाँडाकाँडा, उकाली ओराली गर्दै पानी ल्याउनु परेको उनको भनाइ छ ।

उनले पत्रमा लेखेका छन्, ‘केन्द्र सरकारलाई कोशीबाट पानी ल्याइदिनु है भनेर वर्षौं बिन्ती बिसाउँदा पनि नसुनेकोले अस्ती थोत्रे गाग्री लिएर सिंहदरबार पुगें । जनतालाई पानी चाहिएको छ है, तत्काल पानी चाहिएको छ । आश्वासन र कागजको खोस्टा होइन, पानी चाहिएको छ के ! त्यसैले हाम्ले श्रमदान गर्नु परेको हौ… खोइ कुरा बुझ्या ।’

उनले खानेपानीको काम गर्दा उजुरी हाल्नेले कति वटा पाइप किनेर ल्यायो भनेर प्रश्न गरेका छन् । ‘त्यो वाहियात उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो ? कति दिन श्रमदान गर्‍यो ? को हो त्यो ? बुझेर लेखिपठाउनुहोला’, उनले पत्रमा भनेका छन् । उनले पानी भनेको विकास नभई जीवनको आधारभूत आवश्यकता भएको भन्दै श्रमदान अभियानको खेदो नखन्न आग्रह समेत गरेका छन् । 

सम्बन्धित खबर