२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

लहानमा अलपत्र खानेपानी आयोजनाको काम पुनः सञ्चालन

Nada
२०८१ माघ ८ गते १०:२०
Shares
लहानमा अलपत्र खानेपानी आयोजनाको काम पुनः सञ्चालन

सिरहा : लहान नगरपालिका–१६ स्थित तरेगणा गोविन्दपुरमा वर्षैंदेखि अलपत्र रहेको खानेपानी आयोजनाको काम पुनःसञ्चालन भएको छ ।  नगरप्रमुख महेश चौधरीको पहलकदमीमा खानेपानीको डिप बोरिङ जडानको सुरुआत भएको हो । 

ncell

अधुरो खानेपानी योजनाको काम सम्पन्न गर्न लहान नगरपालिका, वाटर एड, नेपाल खानेपानी संस्थानअन्तर्गत शाखा कार्यालय लहान र दलित जनकल्याण युवाक्लबको सहयोग तथा समन्वयमा सञ्चालित ‘द विकन परियोजना’बाट रु ६० लाख लागतमा बोरिङ जडान सुरु गरिएको नगरप्रमुख चौधरीले जानकारी दिए । खानेपानीको अधुरो काम सञ्चालन भएसँगै अब यस भेगका नागरिक खानेपानीको अभावबाट चाँडै मुक्त हुने उनले विश्वास व्यक्त गरे ।

“वर्षौदेखि अलपत्र खानेपानीका लागि लहान नगरपालिका–१६ र १७ का स्थानीयवासी सङ्घर्षरत थिए”, नगरप्रमुख चौधरीले भने, “खानेपानीको समस्या समाधान हुनेतर्फ काम अगाडि बढेको छ । अब चाँडै यस भेगका नागरिकलाई खानेपानीको अभावबाट मुक्ति मिल्नेछ ।”

परियोजनाले गरेका सर्भेअनुसार एक हजार ४१ घरधुरीमा खानेपानी धारा जडान हुनेछ भने आठ हजार तीन सय ९४ स्थानीय लाभान्वित हुने खानेपानी संस्थान लहान शाखाका वितरण महाशाखा प्रमुख लट्टप्रसाद यादवले जानकारी दिए । उनका अनुसार दुई लाख २५ लिटर क्षमताको पानी भण्डारण गर्न ओभरहेड ट्याङ्क बनिसकेको छ । 

यसअघि दुई वटा बोरिङ जडानका लागि ‘बोरहोल’ गरिएको थियो । नजिकै पोखरी हुँदा सुरुमा पानी देखिए पनि पछि पोखरी सुकेपछि बोरहोल असफल भई आयोजना अलपत्र परेको दलित जनकल्याण युवा क्लबका सामाजिक परिचालक एलिना हिङ्माङले जानकारी दिए । उनका अनुसार अहिले पहिलेकोभन्दा एक किलोमिटर बढी ठाउँ सारेर बोरहोलको काम भइरहेको छ । 

लहान–१६ का वडाध्यक्ष गडुलबहादुर जर्घामगरले स्थानीयको समस्या बुझेर नगरप्रमुख चौधरीले खानेपानीको काम अगाडि बढाएको भन्दै आगामी दिनमा समस्या समाधान हुनेमा विश्वस्त रहेको बताए । नगरको काममा वडाको सदैव समर्थन र सहयोग रहने उनले प्रतिबद्धता व्यक्त गरे । 

सम्बन्धित खबर