२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

निर्माण उद्योगका समस्याबारे कांग्रेस सभापति देउवालाई ब्रिफिङ

Nada
२०८१ माघ ६ गते १४:३०
Shares
निर्माण उद्योगका समस्याबारे कांग्रेस सभापति देउवालाई ब्रिफिङ

काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर निर्माण उद्योगका समसामयिक समस्याहरू समेटिएको १४ बुँदे ज्ञापन पत्र हस्तान्तरण गरेको छ ।

ncell

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले सभापति देउवासमक्ष निर्माण सम्पन्न भएका परियोजनाहरूको समेत भुक्तानी नपाउँदा निर्माण व्यवसायीहरू चर्को आर्थिक मारमा परेको, सिमेन्ट रडलगायतका निर्माण सामग्रीहरूमा कालोबजारी गर्दै चर्को मूल्य वृद्धि गरिएकोलगायतका समस्याबारे जानकारी गराएको हो ।

सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनमा देखिएको म्याद थपसम्बन्धी कानुनी जटिलता, राष्ट्र बैंकबाट निर्माण व्यवसायीहरूलाई ऋणमा दिइएको सुविधा कटौती, विभिन्न कारणले रुग्ण रहेको आयोजनाहरूको खारेजी, विगतका सहमतिको अक्षरशः कार्यान्वयन, पूर्वाधारमैत्री ऐन कानुन, लो बिडको निरुत्साहन, निर्माण सामाग्रीको सहज उपलब्धता, महालेखा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका नियमनकारी निकायको ज्यादती,इन्स्योरेन्सको समस्या निर्माण आयोग गठन लगायतका विषयमा पनि सभापति देउवाको ध्यानाकर्षण गराइएको महासंघका नीतिगत उपमहासचिव एवं प्रवक्ता शिवहरि घिमिरेले जानकारी दिए ।

जवाफमा सभापति देउवाले निर्माण उद्योगीका जायज माग पूरा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । राष्ट्रिय भेलाबाट पारित १४ बुँदे माग अघि सार्दै महासंघले ती मागहरू पूरा गर्नका लागि सरकारलाई माघ १५ सम्मको अल्टिमेटम दिएको छ । माग पूरा नभएको खण्डमा महासंघले माघ १८ बाट सडक आन्दोलन गर्ने गरी कार्यक्रमहरू सार्वजनिक गरिसकेको छ । 

सम्बन्धित खबर