२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

बिरामीको रिफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी निर्देशिका जारी

Nada
२०८१ पुष २९ गते १२:२९
Shares
बिरामीको रिफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी निर्देशिका जारी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रिफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ । 

ncell

अब अर्कोमा भर्ना नभएसम्म समन्वयको काम पहिलोपटक बिरामी पुगेको अस्पतालको जिम्मेवारी रहनेछ ।

विभिन्न किसिमका बिरामीको रिफरका लागि मापदण्ड भए पनि समग्र अस्पतालको रिफरल प्रणालीलाई समेट्ने गरी मन्त्रालयले एकीकृत निर्देशिका जारी गरेको प्रवक्ता प्रकाश बुढाथोकीले बताए । 

निर्देशिकाले आकस्मिक तथा भर्ना भएका बिरामीको उपचार सम्भव नभएमा अर्को अस्पतालमा नपुर्याउँदासम्मको जिम्मेवारी प्रथम अस्पतालको हुने निश्चित गरेको छ । जसअनुसार प्रथम विन्दुको अस्पतालले त्यहाँ सम्भव नभएको उपचारका लागि मात्र नजिकको अस्पतालमा रिफर गर्नुपर्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकता सार्वजनिक गर्दा कुनै पनि स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा बिना कुनै सोधखोज अनिवार्य जीवन रक्षाको उपचार तत्काल सुरू गर्नैपर्ने र सम्भव नभएका उपचार निकटतम केन्द्रमा सेवाको सुनिश्चितता गरी सुरक्षित रिफरको दायित्व सम्बन्धित केन्द्रको हुने व्यवस्था मिलाउने घोषणा गरेका थिए । 

सोही बुँदालाई आधार मानेर निर्देशिका जारी भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।मन्त्री पौडेलले बिरामीको जीवनरक्षा र अस्पतालहरूमा चाप व्यवस्थापन यसको उद्देश्य रहेको बताए ।

सम्बन्धित खबर