२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

दरवाङ-बिम-दिच्याम सडक आयोजना सुरु

Nada
२०८१ पुष ६ गते १२:१९
Shares
दरवाङ-बिम-दिच्याम सडक आयोजना सुरु

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिको दरवाङ–बिम–दिच्याम सडक आयोजना निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत दरवाङ–बिम–दिच्याम सडकअन्तर्गत खारा–बिम–डाँडागाउँ खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो । 

ncell

गत असारमा रू ११ करोड १९ लाख ९० हजारमा ठेक्का सम्झौता गरेको सर्वशक्ति महामाया प्रालिले यसै महिनादेखि सडक स्तरोन्न्तिका लागि प्रारम्भिक चरणको काम थालेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताए। 

ठेक्काको अवधि दुई वर्षको रहेको छ । विसं २०६७ मा तत्कालीन जिविस, बिम गाविस र स्थानीयवासीको चन्दा संकलनबाट बिम जोड्ने करिब सात किलोमिटर सडक निर्माण भएको थियो । हाल तीन दशमलव पाँचदेखि पाँच मिटर फराकिलो सडकलाई सात मिटर फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ढलान, ग्राभेल र कालोपत्र गरिने भएको छ । 

दरवाङदेखि खारासम्मको सडकमा म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाका धेरै तौलका सामान बोक्ने सवारीसाधन गुड्ने र क्षति पुग्ने भएकाले खारादेखि बिम तल्लो गाउँ हुँदै डाँडागाउँसम्मको खण्डमा स्तरोन्नतिको आयोजना सञ्चालन गरिएको म्याग्दी १९२० बाट निर्वाचित रेशमबहादुर जुग्जालीले बताए। 

जुग्जालीले गत वर्ष गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्दा रू चार करोड बजेट विनियोजन गरेर बहुवर्षीय ठेक्का लगाउन रू २० करोडको बजेटको स्रोत सुनिश्चितता भएको थियो । चालु आर्थिक वर्षमा भने रू एक करोड ५० लाख मात्र विनियोजन भएको छ । 

यो सडकबाट मालिका गाउँपालिका–७ को साविक बिम गाविस, धौलागिरि गाउँपालिकाको वडा नं ५ मल्कवाङ र ६ मराङ तथा मालिका गाउँपालिका–६ दिच्यामका बासिन्दा लाभान्वित हुनेछन् । 

धार्मिक पर्यटकीयस्थल मालिका धुरी, प्रभुचेला, बिम बराह ताल घुम्न तथा दर्शन गर्न जाने पर्यटक एवं भक्तजनलाई सहज हुनेछ । सुन्तला, आलुलगायत कृषिउपज बिक्री, आवतजावतमा सहज बनाउन र बसाइसराइ कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको खाराका बासिन्दा बुद्धिबहादुर जुग्जालीले बताए ।  

ताजा खबर

सम्बन्धित खबर