२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

कतारमा सोनाम ल्होछार मनाइँदै

Nada
२०८१ पुष ५ गते ०७:४४
Shares
कतारमा सोनाम ल्होछार मनाइँदै

दोहा : कतारमा बसोबास गर्ने तामाङ समुदायले आफ्नो नयाँ वर्ष, सोनाम ल्होछारलाई भव्य रूपमा मनाउन लागेका छन् । 

ncell

नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारले आयोजना गर्न लागेको यस कार्यक्रम ३१ जनवरी २०२५, शुक्रबारका दिन दोहामा हुने भएको छ ।

"तामाङ जातिको नयाँ वर्ष, मञ्जुश्री सम्वत २८६१ सोनाम ल्होछारलाई भव्य रुपले सफल पाराैं" भन्ने नाराका साथ आयोजना गर्न लागिएको कार्यक्रममा नेपालबाट आउने चर्चित कलाकारहरूले आफ्नो प्रस्तुतिमार्फत कार्यक्रमलाई झनै रङ्गीन बनाउने भएका छन् ।

मदन घ्लान तामाङ, पुजा तामाङ, म्हेन्दोमाया गायक तथा शब्द संकलन संगितकार सैलप वाईवा तामाङ जस्ता चर्चित कलाकारहरूले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन् । साथै, कतारमा बसोबास गर्ने स्थानीय कलाकारहरूको प्रस्तुतिले पनि कार्यक्रमलाई झनै मनोरञ्जनात्मक बनाउनेछ ।

तामाङ सेलो, लोकगीत र ल्होछारका विशेष गीतहरूले कार्यक्रममा उपस्थित सबैलाई झुमाउने आयोजकको विश्वास छ । यस कार्यक्रममार्फत तामाङ समुदायको कला र संस्कृतिलाई जीवन्त राख्नका लागि मद्दत पुग्ने पनि आयोजकले जनाएको छ ।

सोनाम ल्होछार व्यवस्थापनका लागि यातायात, आर्थिक, हल व्यवस्थापन, प्रचारप्रसार लगायत विभिन्न उपसमितिहरू गठन गरिसकिएको छ । यस कार्यक्रममार्फत तामाङ भाषा, धर्म, लिपि, संस्कृति, संस्कार, भेषभूषा तथा मौलिक पहिरन र मौलिक पर्वको प्रवर्द्धन गर्ने उद्देश्य रहेको आयोजकको भनाइ छ ।

नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति कतारको मूल समारोहमा नेपाल तामाङ ताम्बा घेदुङ, नेपाल तामाङ लामा घेदुङ, नेपाल तामाङ संस्कृति घेदुङ, नेपाल तामाङ महिला घेदुङ, नेपाल तामाङ युवा घेदुङलगायतका संस्थाहरू सह-आयोजकको रूपमा रहेका छन् ।

यस कार्यक्रमले कतारमा रहेका नेपालीहरू, विशेषगरी तामाङ समुदायमा एकताको भावना बढाउने र आफ्नो संस्कृतिप्रति गर्व गर्ने वातावरण सिर्जना गर्ने विश्वास गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर