२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

रकम ठगी आरोपमा ४ पक्राउ

Nada
२०८१ मंसिर २७ गते ०६:३५
Shares
रकम ठगी आरोपमा ४ पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

ncell

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका– २५ घर भई काठमाडौंको टोखा नगरपालिका– ६ बस्ने ३० वर्षीय मधु तिमल्सिना अधिकारी, रुपन्देही देवदह नगरपालिका– १२ घर भई काठमाडौं महानगरपालिका– २८ बस्ने ३२ वर्षीया गीता कुँवर तथा काठमाडौं बागबजारस्थित ग्लोबल एक्सेल अपस्किल एन्ड स्टडी इन्फो सेन्टरकी संचालक सिरहाको सिरहा नगरपालिका– ७ घर भई काठमाडौं– २२ बस्ने ३० वर्षीया दिव्या यादव रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

मधुले रोमानिया पठाइदिने भन्दै ३ जना पीडितहरूबाट ७ लाख, गीताले यूके पठाइदिने भन्दै ८ जना पीडितबाट १६ लाख ५ हजार तथा दिव्याले स्लोभाकिया पठाइदिने भन्दै १ जना पीडितबाट ५ लाख १५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ परेकामध्ये मधु र गीतालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं र दिव्यालाई जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

त्यस्तै, प्रहरीले  वैदेशिक रोजगारीमा जापान पठाउने भन्दै ठगी गरेको आरोपमा थप १ जनालाई पनि पक्राउ गरेको छ ।  पर्साको ठोरी गाउँपालिका– ४ का ४५ वर्षीय विष्णु लोप्चनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले जापान पठाउने भन्दै १० लाख रुपैयाँ ठगी गरेको आरोप छ । लोप्चनलाई पनि थप कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर