२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

चर्किएकै घरमा बुंगलवासी

Nada
सत्यराज सिंह
२०८१ मंसिर ९ गते ०६:४५
Shares
चर्किएकै घरमा बुंगलवासी

बझाङ : बझाङमा विनाशकारी भूकम्प गएको १ वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे ।

ncell

पहुँचवालाले पनि चिसो छल्नेगरी आवास बनाए । जसको घर चर्कियो र नयाँ घर बनाउन सक्ने आर्थिक हैसियत थिएन, उनीहरू अझै चर्किएकै घरमा छन् । जसोतसो टहरो बनाउनेले पनि सुरक्षित आवास बनाउन सकेका छैनन् । अघिल्लो वर्ष चर्किएको घर र टहरोमा चिसो कटाएका उनीहरू यस वर्ष पनि सोही समस्या भोग्दै छन् । 

यो समस्याग्रस्त एक नगरपालिका हो– बझाङको बुंगल नगरपालिका । १६ र २० असोज २०८० मा गएको भूकम्पबाट प्रभावित बुंगलवासीले भूकम्पले भत्काएका घर पुनर्निर्माण गर्न सकेका छैन । अस्थायी टहरामै बसिरहेका उनीहरू कोही चिसो छल्न चर्किएकै घरमा बस्न थालेका छन् । यसले अर्को क्षतिलाई निम्त्याउन सक्ने सरोकारवालाहरूको चिन्ता छ ।

बुंगल नगरपालिका– २, रैसेल्लीका भूकम्पपीडित कर्ण जाग्री फेरि भूकम्प आउने डर भए तापनि चर्किएकै घरमा नबस्नुको विकल्प आफूहरूसँग नरहेको बताउँछन् । भन्छन्, ‘फेरि भूकम्प आउने डर छ तर चर्किएकै घरमा नबस्नुको बिकल्प पनि हामीहरूसँग छैन ।’ 

यसअघि बुंगल नगरपालिकाले पालिकाभित्रका भूकम्प प्रभावितको पहिचान गरी नगरपालिका प्रभावित १८७ घरपरिवारलाई अस्थायी आवास निर्माण गर्नका लागि पहिलो किस्ताबापत प्रति प्रभावित परिवार २५ हजार रुपैयाँ उपलब्ध गराएको थियो । अस्थायी आवास निर्माणपछि दोस्रो किस्ता उपलब्ध गराउने भनिएको थियो । तर, अहिलेसम्म पनि भूकम्पपीडितले दोस्रो किस्ता रकम पाउन सकेका छैनन् । भूकम्प प्रभावित परिवारमध्ये केहीले गत फागुनमा र केहीले गत वैशाखमा पहिलो किस्ता रकम पाएका थिए । तर, दोस्रो किस्ता अझै पाएका छैनन् । 

अस्थायी आवास निर्माण गरी दोस्रो किस्ता भुक्तानीका लागी नगरपालिकामा सबै कागजात बुझाए पनि अझै नपाएको भूकम्प प्रभावितको गुनासो छ । बुंगल नगरपालिका– ५, ब्युनाडाका रामबहादुर बिक अस्थायी आवास निर्माण गरी दोस्रो किस्ता भुक्तानीका लागि नगरपालिकामा सबै कागजात बुझाए पनि अझै नगरपालिकाले दोस्रो किस्ता नदिँदा निर्माण सामग्रीको रकम तिर्न नसकेको गुनासो गर्छन् । 

स्थानीय विपद् व्यवस्थापन समिति (एलडीएमसी)ले भूकम्प प्रभावितको पहिचान गरी लाभग्राहीको विवरण बिपद् पोर्टलमा प्रविष्ट गरी जिल्ला विपद् व्यवस्थापन समितिमा दोस्रो किस्ता अनुदान माग गर्नुपर्ने हुन्छ । 

जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराई पनि बुंगल नगरपालिकामा हालसम्म अस्थायी आवासको दोस्रो किस्ता अनुदान निकासा नभएको बताउँछन् ।

उनी भन्छन्, ‘कार्यविधि बमोजिम आवश्यक प्रक्रिया पुरा गर्नुका साथै स्थानीय विपद् व्यवस्थापन समिति (एलडीएमसी) बाट पहिचान भई कायम भएका लाभग्राहीको विवरण यथाशीघ्र बिपद् पोर्टलमा प्रविष्ट गरी दोस्रो किस्ता अनुदान माग गर्न बुंगल नगरपालिकालाई लेखी पठाएका छौं ।’ 

बुंगल नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश कुँवर आवश्यक प्रक्रिया थाहा नपाएर पनि ढिलाइ हुन पुगेको बताउँछन् । तर, स्थानीयहरू भूकम्प गएको १४ महिना बितिसक्दा पनि दोस्रो किस्ता रकम नपाउनुमा स्थानीय सरकारको अग्रसरतामा समेत कमी रहेको बताउँछन् ।

ताजा खबर

सम्बन्धित खबर