२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

विपन्न बालबालिकालाई पोसाक वितरण

Nada
२०८१ मंसिर ७ गते २१:२३
Shares
विपन्न बालबालिकालाई पोसाक वितरण

उदयपुर : उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ७ स्थित नमुना माध्यमिक विद्यालय मुर्कुचीमा अध्ययनरत विपन्न विद्यार्थीलाई शैक्षिक पोसाक वितरण गरिएको छ ।

ncell

यसअघि सोही विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुको समूह ‘पूर्व विद्यार्थी समाज’को समन्वयमा ‘प्रकृति प्रेमी समाज उदयपुर’ले शुक्रबार निम्न वर्गका तीन दर्जन विद्यार्थीलाई पोसाक वितरण गरेको हो ।

१२ छात्रा र २४ छात्रलाई उनीहरुको आवश्यकताअनुसार विद्यालयको पोसाक सर्ट, पाइन्ट, ट्र्याकसुट र जुत्ता वितरण गरिएको आयोजक प्रकृति प्रेमी समाजका अध्यक्ष दिनेशकुमार श्रेष्ठले बताए ।

बालबालिकालाई पोसाक वितरण गर्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख शशीकुमार यादवले शैक्षिक अवस्था सुधार गर्न आमनागरिकको समान दायित्व रहने बताए । उनले भने, ‘विद्यालयबाट मात्र शैक्षिक सुधार सम्भव नभएकाले, नागरिक तवरबाट हुने यस्ता कार्यक्रमले बालबालिकाको शैक्षिक गुणस्तर र अध्ययनमा रुची बढाउने छ ।’

यादवले विद्यालय भर्नापछि पारिवारिक आर्थिक विपन्नताका कारण उनीहरुलाई टिकाइ राख्न नै अहिलेको मुख्य चुनौती रहेकाले यस्ता कार्यक्रमले सहजता निम्त्याउने बताए । उनले समाजमा शिक्षाको विकासका लागि प्रेरणा तथा प्रोत्साहनले महत्वपूर्ण भूमिका निभाउने भएकाले विद्यालयमा पोसाक तथा शैक्षिक सामग्री दिएर गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई ठूलो सहयोग पुग्ने बताए ।

विद्यालयका प्राचार्य खड्गबहादुर थापामगरले विद्यालयको शैक्षिक विकासमा पूर्वविद्यार्थी समाजको भूमिका रहेको बताए । उनले गरिबका छोराछोरी पढ्ने विद्यालय भएकाले शैक्षिक जागरणका कार्यक्रमलाई निरन्तर सहयोग गरिदिन आग्रह गरे ।

कार्यक्रममा पूर्वविद्यार्थी समाजका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले पढ्ने इच्छा हुँदा हुँदै पनि आर्थिकरुपमा पिछडिएकाहरुको बाध्यतालाई मलमपट्टी लगाउन आगामी दिनमा समेत तयार रहेको बताए । 

उनले पूर्वविद्यार्थीको नाताले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नु दायित्व भएको बताए । अध्यक्ष खड्काले भने, ‘विद्यालय भर्नापछि विपन्नताका कारण नियमित विद्यालय नआउने प्रवृत्ति झाँगिदै गएको छ, यसर्थ त्यस्तो प्रवृत्तिलाई निरुत्साही गर्न विद्यार्थीलाई सहयोग गरेका हौं ।’

सहयोगी संस्थालाई धन्यवाद दिँदै अध्यक्ष खड्काले भने, ‘सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न सके गरिब, असाहयका लागि मात्र नभइ सम्पन्न वर्गसमेत आकर्षित हुन सक्छन् ।’ उनले आगामी दिनमा पनि विद्यालयसँगको समन्वयमा सहयोग तथा सहकार्यमुलक कार्यक्रम सञ्चालन गरिने बताए ।

कार्यक्रममा प्रकृतिप्रेमी समाजका अध्यक्ष श्रेष्ठले आफ्नो संस्था कुनै गैरसरकारी संस्था नभइ विशुद्ध प्रकृतिसँग रमाउने युवाहरुको फोरम भएको बताए । उनले आफूले विभिन्न पेसा व्यवसाय गर्दा बचेको रकमलाई सामाजिक अभियानसँग जोडिने गरी वर्षेनी यस्ता कार्यक्रम गर्दै आएको बताए । 

समाजका उपाध्यक्ष दिपक खनालले आम्दानीको केही हिस्सालाई वर्षेनी ३/४ ठाउँमा आर्थिक अवस्था कमजोर भएका, विपन्न, असायहरुको सेवामा सहयोग गर्दै आएको बताए । विद्यालयका बालबालिकालाई शैक्षिक सामग्रीदेखि असहाय, दिनदुःखीहरुलाई न्यानो कपडा, खाद्यान्नलगायतका सामग्रीहरु सहयोग गर्दै आएको सदस्य मनोज कार्कीले बताए ।

पूर्वविद्यार्थी समाजका उपाध्यक्ष प्रलाद कार्कीको संचालना भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयका अधिकृतहरु भवानी कट्टेल, अर्जुन कार्की, रौतामाई गाउँपालिकाका कार्यपालिका सदस्य दुर्गा एसके, प्रकृति प्रेमी समाजका श्याम ढकाल, दिपक श्रेष्ठ, दिपेश श्रेष्ठ, पत्रकार महासंघका सहसचिब देवराज राई, पत्रकार माधव पोखरेल, पुर्वविद्यार्थी समाजका सचिब सन्तोष मश्राङ्गी मगर, प्रभात लामा, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यार्थीलाई साहित्य क्षेत्रमा रुची बढाउन पत्रकार तथा साहित्यकार माधव पोखरेलद्वारा लिखित साहित्यक किताब र उदयपुर साहित्य कला प्रतिष्ठानद्वारा प्रकाशित कविता, कथा सग्रहका पुस्तकहरु लाइब्रेरीमा राख्नेगरी हस्तान्तरण गरिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर