काठमाडौं : दोस्रो टी-२० खेलमा घरेलु टोली नेपाल वेस्ट इन्डिज 'ए'सँग १० रनले पराजित भएको छ । वेष्ट इन्डिज ‘ए’ले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय इनिङ खेले । ४८ बल खेलेका उनले ६ चौका र २ छक्काको सहयोगमा अविजित ७१ रन बनाए । गुल्शन झाले ११ बलमा २६ रनको योगदान गरे । सोक्रममा उनले ३ चौका र २ छक्का प्रहार गरे । ओपनर लोकेश बमले १६ बलमा २ छक्का र १ चौकाको सहयोगमा १७ रन बनाउँदा अर्का ओपनर कुशल भुर्तेल ८ बलमा २ रन बनाएर आउट भए ।
यस्तै आरिफ शेखले १६ बलमा १ चौकाको सहयोगमा १२ रन बनाए । यसबाहेक नेपालका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । आकाश चन्दले ७, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान ३-३ तथा अनिल साहले १ रन बनाउँदा कुशल मल्ल शून्य रनमै आउट भए । वेस्ट इन्डिजका ओबेद म्याक कोए र गुडाकेश मोतीले २-२ विकेट लिए । ओशान थोमस र रोस्टन चेजको नाममा १-१ विकेट रह्यो ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डि ‘ए’ले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो । उसका लागि आन्द्रे फेलचरले सर्वाधिक ४३ रन बनाए । उनले ३६ बल खेल्ने क्रममा तीन छक्का प्रहार गरे । साथै गुडाकेश मोतीले ३३, रोस्टन चेजले २३ रनको योगदान दिए । नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले दुई-दुई विकेट लिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिए ।
जारी प्रतियोगिताको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । योसँगै वेस्ट इन्डिजले सिरिजमा १-१ को बराबरी गरेको छ। सिरिजअन्तर्गत नेपाल र वेस्ट इन्डिज 'ए'बीचको तेस्रो खेल आउँदो बुधबार हुनेछ ।
काठमाडौं : वेस्ट इन्डिज 'ए'ले दोस्रो टी-२० खेलमा घरेलु टोली नेपाललाई १६१ रनको लक्ष्य दिएको छ ।
टीयु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको वेष्ट इण्डिज एले निर्धारिक २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो ।
वेष्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए । कप्तान रोस्टन चेज २३, केसी काटी १०, जोनसन चार्ल्स ११ र एलिक अथान्ज ६ रनमा आउट भएका थिए । गुडाकेश मोती ८ बलमा ३१ र म्याथ्यु फर्ड ६ बलमा ११ रनमा अविजित रहे ।
नेपालका स्पिनर सागर ढकालले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १(१ विकेट लिए ।
काठमाडौं : नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस जितेर नेपाललाई बलिङको निम्तो दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दोस्रो टि–२० प्रतियोगितामा वेस्ट इन्डिज ‘ए’का कप्तान रोस्टन चेजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो ।
आजको खेलमा नेपालका प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित अनिल शाह, सागर ढकाल, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, आकाश चन्द र लोकेश बम छन् ।
साथै वेस्ट इन्डिज ‘ए’को प्लेइङ ११ मा कप्तान रोस्टन चेज, एलिक अथान्जे, केसी कार्टी, जोनसन चाल्र्स, आन्द्रे फेलचर, म्याथ्यु फर्ड, ओबेद, म्याककोय, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडन वाल्स छन् ।
काठमाडौं : कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज 'ए'लाई ४ विकेटले पराजित गरेको छ । २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले । २७ बलमा अर्धशतक पूरा गरेका रोहितले ४७ बलमा शतक बनाएका थिए । गुल्शन झाले ४ बलमा अविजित ९ रन बनाए ।
ओपनर अनिल शाह ५, कुशल मल्ल र कुशल भुर्तेल १६–१६ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १८ बलमा २ चौका र १ छक्कासहित २४ र विवेक यादव ७ रनमा आउट भए । ओबेद म्याककोयले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । म्याथ्यु फर्ड २ र किमो पलले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज‘ए’ले निर्धारित २० ओभर पाँच विकेट गुमाउँदै दुई सय चार रनको योगफल बनाएको थियो । वेस्ट इन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेशले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४६ बलमा नौ चौका र दुई छक्का प्रहार गरे । यसैगरी एलिक एथानाजेले २५ बल खेल्दै ४७ रन जोडे । उनले यस क्रममा पाँच चौका र तीन छक्का हाने । यस्तै केसी कार्टीले ३८ तथा कदीम एलियनले १५ रन बनाए ।
बलिङतर्फ नेपालका अभिनाश बोहोरा, कमलसिंह ऐरी, दीपेन्द्रसिह ऐरी र कप्तान रोहितकुमार पौडेलले एक एक विकेट लिए ।
काठमाडौं : नेपालका कप्तान रोहित पौडेलले वेष्टइण्डिज ए विरुद्धको टी-२० खेलमा शतक पूरा गरेका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वेष्ट इण्डिजले दिएको २०५ रनको लक्ष्य पछ्याउने क्रममा उनले ४७ बलमा १०१ रन बनाएका हुन् । त्यस क्रममा उनले १० चौका र ५ छक्का प्रहार गरेका छन् ।
पहिले ब्याटिङ गरेको वेष्णइण्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ ।
काठमाडौं : कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८–अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै करियरको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन् ।
सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपनको अन्तिम दिन धरानका प्रो निरजले ८–अन्डर ६० को सानदार नतिजामा शिवराम श्रेष्ठको कोर्स रेकर्ड बराबरी गरेका छन् । शिवरामले सन २०१५ मा एनपिजिए प्रेसिडेन्टस कपमा ८–अन्डर स्कोर गरेका थिए ।
अन्तिम दिनको खेल शुरुआत गर्दा निरज तीन दिनका लिडर भुवन भन्दा सात स्ट्रोकले पछि थिए । तर ८–अण्डरको प्रदर्शनसँगै उनले उपाधिसँगै १ लाख २० हजार नगद पुरस्कार प्राप्त गरे । अन्तिम १८ होलको सुरूवात गर्दा भुवनसँग दिनेश प्रजापति माथि ६ स्ट्रोक र निरज माथि ७ स्ट्रोकको ठुलो अग्रता थियो । तर भुवनले शुक्रबार इभन–पार ६८ मा खेल सकाउँदा समग्रमा ७–अन्डर २ सय ६५ सहित दोस्रो स्थानमा रहे । उनले ८२ हजार प्राप्त गरे ।
शुक्रबार ४–अन्डर ६४ खेल्दै समग्रमा २ सय ७१ सहित जयराम श्रेष्ठ तेस्रो भए । उनले ६६ हजार हात पारे । शुक्रबार इभन–पार ६८ स्कोर गर्दै समग्रमा इभन–पार २ सय ७२ सहित तोरण विक्रम शाही चौथो भए । उनले ५३ हजार प्राप्त गरे । समग्रमा २–ओभर २ सय ७४ सहित पाँचौ भएका धन बहादुर थापाले ४५ हजार आफ्नो नाममा लेखाए । उनले शुक्रबार इभन–पार ६८ खेले ।
उपाधिका दाबेदार मानिएका सुबाश तामाङ समग्रमा ४–ओभर २ सय ७६ सहित छैटौं भए । प्रो टर्न भएपछि पहिलो पटक घरेलु टुर खेलेका सुबाशले ३३ हजार ५ सय प्राप्त गरे । समग्रमा ५–ओभर २ सय ७७ सहित दिनेश प्रजापति र रवि खडकाले सातौं स्थान बाँडे । उनीहरूले जनही ३३ हजार ५ सय नगद पुरस्कार बाँडे । शुक्रबार १–ओभर ६९ सहित समग्रमा ६–ओभर २ सय ७८ स्कोरमा रामे मगर नवौं भए । उनले २८ हजार नगद पुरस्कार प्राप्त गरे ।
यसैगरी समग्रमा ७–ओभर २ सय ७९ सहित सञ्जय लामा र भुवन कुमार रोक्काले संयुक्तरुपमा दशौं स्थानमा प्रतियोगिता सकाए । सञ्जयले ५–ओभर ७३ र भुवनले १–ओभर ६९ मा खेल सकाए । उनीहरूले जनही २४ हजार नगद प्राप्त गरे ।
एमेच्योरतर्फ समग्रमा १३–ओभर २ सय ८५ सहित सदभाव आचार्यले उपाधि जिते । उनले शुक्रबार ७–ओभर ७५ मा खेल सकाउँदै टासी छिरिङलाई दश स्ट्रोकले हराए । टाशीले समग्रमा २३–ओभर २ सय ९५ स्कोर गरे । शुक्रबार उनले १२–ओभर ८० मा खेल सकाए । राष्ट्रिय टोलीका खेलाडी राहुल विश्वकर्मा कूल ३०० स्कोर सहित तेश्रो भए ।
निरजले कोर्स रेकर्ड बराबरी गर्ने प्रदर्शन गर्ने क्रममा फ्रन्ट नाइन ५–अन्डर २९ मा सकाए । उनले पहिलो देखि चौथो होलमा लगातार चार बर्डी प्रहार गरे । नवौं होलमा पनि एक सट बचाएपछि फ्रन्ट नाइनको समाप्तीमा भुवन भन्दा मात्र एक स्ट्रोकले पछि थिए । भुवनले भने फ्रन्ट नाइन १–ओभर ३५ मा सकाए । भुवनले दोस्रो र चौथो होलमा बर्डी प्रहार गरेपनि तेस्रो होलमा डबल बोगी र पाँचौ होलमा बोगी खेपे ।
निरजले फ्रन्ट नाइनकै प्रदर्शनलाई निरन्तरता दिए । १०औं होलमा बर्डी प्रहार गर्दै निरजले भुवनसँग स्कोर बराबरी गरे । यसपछि १३औं र १४औं होलमा लगातार दुई बर्डी प्रहार गर्दा निरजले दुई स्ट्रोकको अग्रता बनाए ।
१६औं होलमा हजार्डबाट बोगी खेलेपनि १७औं होलको उत्कृष्ट बर्डीले पुन २ स्ट्रोकको अग्रता बनाए । उनले ब्याक नाइन ३–अन्डर ३१ मा सकाउँदा एक स्ट्रोकको जित निकालेका हुन् । भुवनले भने १२औं होलको बोगीका विरूद्ध ११औं र १८औं होलमा बर्डी प्रहार गरे । ब्याक नाइन १–अन्डर ३३ मा सकाए ।
जयरामले फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३२ मा सकाए । फ्रन्ट नाइनमा उनले दोस्रो, चौथो र आठौं होलमा बर्डी प्रहार गरे भने नवौं होलमा एक सट खेर फाले । ब्याक नाइनमा १३औं, १४औं र १७औं होलमा एक–एक सट बचाए भने १६औं होलमा बोगी प्रहार गरे ।
चार दिने प्रतियोगितामा ३२ प्रोफेसनल र ९ एमेच्योर गरी कुल ४१ गल्फरहरूले प्रतिस्पर्धा गरेका थिए । कुल पुरस्कार राशी ७ लाख ३ हजार ५ सय रहेको थियो । जहाँ २१ टप प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गरे । विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीप्रा लहरी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे ।
काठमाडौं : नेपालले वेस्ट इन्डिज ए सँग खेल्ने पाँच टी-२० खेलको सिरिजका लागि १६ सदस्य टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको हो ।
नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव र आकास चन्द रहेका छन् ।
वेस्ट इन्डिज ए टिम बुधबार नै काठमाडौं आइसकेको छ । नेपाल टुरमा आउने वेस्ट इन्डिज ए टिम- रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् ।
पाँच खेलको टी-२० सिरिज वैशाख १५ गते शनिबारदेखि शुरु हुँदैछ । नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते , चौथो खेल वैशाख २० गते र पाँचौ तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।
काठमाडौं : सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा शुरू हुँदैछ ।
७२ होलको चार दिने प्रतियोगिता शुक्रबारसम्म चल्नेछ । उपाधिको लागि ३२ प्रोफेसनल र ८ एमेच्योर गरी कुल ४० गल्फरहरूले दाबेदारी प्रस्तुत गर्नेछन् । सहभागी गल्फरहरू मध्ये सुवास तामाङको लागि भने यो प्रतियोगिता विशेष रहनेछ । उनले यो टुर धेरै पटक खेलेका छन । प्रोहरूलाई माथ दिएर उपाधि पनि जितेका छन् । तर प्रोफेसनल खेलाडी भएपछि नेपालमा उनले खेल्न लागेको यो पहिलो पटक हो ।
भारतीय गल्फ टुरमा प्रोफेसनल प्रतियोगिताहरू भने उनले खेलिसकेका छन् । यो पटक उनी प्रमुख दाबेदारको रूपमा रहनेछन् । नेपालका उनी सर्वाधिक सफल एमेच्योर गल्फर हुन र उनको घरेलु टुरमा प्रोफेसनल करियरको शुरूवात मंगलबारदेखि शुरू हुँदैछ । उनलाई एमेच्योर गल्फर सदभाव आचार्यले कडा चुनौती दिने सम्भावना रहेको छ । सदभावले यो सिजन दुई उपाधि जितिसकेका छन् ।
प्रो भुवन नगरकोटी, दिनेश प्रजापति, रवि खड्का, सञ्जय लामा, जयराम श्रेष्ठलगायतका प्रोहरू वलिया दाबेदारको रूपमा रहेका छन् । नेपाल नम्बर एक प्रो शुक्रबहादुर राईले चोटको कारण यो प्रतियोगिता पनि गुमाएका छन् ।
प्रतियोगिताको कूल पुरस्कार राशी ७ लाख ३ हजार ५ सय रहेको छ । विजेताले १ लाख २० हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ८२ हजार र ६६ हजार प्राप्त गर्नेछन् । यसैगरी चौथो हुनेले ५५ हजार र पाँचौं हुने खेलाडीले ४३ हजार नगद हात पार्नेछन् ।
चार दिने प्रतियोगितामा ३६ होलको समाप्तीमा कट लागु हुनेछ । जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन् । टप २१ मा पर्ने खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन ।एमेच्योर खेलाडीको हकमा प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागीता जनाउन पाउनेछन् ।
प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउनको लागि कोर्सलाई रोमाञ्चक बनाइएको छ । कोर्ससँग अभ्यस्त हुन गल्फरहरूले तयारी गरिरहेको छन् ।
पिजीए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले यो प्रतियोगितामा राम्रो स्कोर निस्किने र प्रतियोगिता प्रतिस्पर्धामक हुने विश्वाश रहेको बताए । पछिल्लो समय गल्फको स्तर बढेको र निरन्तर प्रायोजन गरेकोमा उनले प्रायोजक सूर्य नेपाल प्रा.लि.लाई धन्यवाद दिए ।
काठमाडौं : नेपाल एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग ४ विकेटले पराजित भएको छ । योसँगै नेपालले आगामी नोभेम्बर र डिसेम्बरमा श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स टी-२० एसिया कप पनि गुमाएको छ । हङकङले भने एसीसी इमर्जिङ टिम्स एशिया कपमा स्थान बनाएको छ ।
नेपालले दिएको १४० रनको लक्ष्य हङकङले ३ बल बाँकी रहँदै ६ विकेट गुमाएर पूरा गर्यो । हङकङका अंशु रथले अविजित रहँदै सर्वाधिक ६५ रन बनाए । ५० बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । नसरुल्लाह राना ८ बलमा ११ रनमा नट आउट रहे । बाबर हायत २६, अजिज खान १२, यासिम मुर्तजा र अदित गोरावारा ९–९ रनमा आउट भए । नेपालका सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनायो । दीपेन्द्रसिंह ऐरीले २९ बलमा ४ चौका र ३ छक्कासहित ४४ रन बनाए। सन्दीप जोरा २२, कप्तान रोहितकुमार पौडेल २१, नेपालका ओपनर कुशल भुर्तेल शून्य, आशिफ शेख ५, सोमपाल कामी १२, करण केसी ३ र कुशल मल्ल १३ रनमा आउट भए ।
ललितनारायण राजवंशी २ रनमा अविजित रहे । हङकङका आयुष शुक्लाले सर्वाधिक ३ विकेट लिए । अतिक इकवाल, यासिम मुर्तजा र एहसान खानको नाममा १/१ विकेट रह्यो ।
काठमाडौं : साविक विजेता नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा नेपाल यूएईसँग विकेटले पराजित भयो । योसँगै आगामी वर्ष हुने एसिया कप खेल्ने नेपालको सम्भावना पनि समाप्त भएको छ ।
नेपाललाई पराजित गरेको यूएई भने प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । नेपालले अब शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । तेस्रो हुने टोली फाइनल खेल्ने टोलीसँगै इमर्जीङ कपका लागि छनोट हुनेछ ।
शुक्रबारको खेलमा नेपालले दिएको १२० रनको लक्ष्य यूएईले १७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यूएईका लागि आलिशान शराफुले अर्धशतकीय इनिङ खेले । उनले ४१ बलमा ४ चौका र २ छक्काको सहयोगमा अविजित ५५ रन बनाए । विष्णु सुकुमारनले २८ बलमा २८ रन जोडे भने कप्तान मोहमद वासिमले ११ र आसिफ खानले १० रन जोडे । सायद हैदरले १४ तथा आयन खानले ३ रन बनाए । नेपालका लागि गुल्शन झाले २ विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीले समान १-१ विकेट लिए ।
त्यसअघि अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन मात्र बनाएको थियो । नेपालका सन्दीप जोरा बाहेक अन्य कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । नेपालका लागि सन्दीप जोराले अर्धशतकीय इनिङ खेले । उनले ४० बलमा ४ चौका र २ छक्काको सहयोगमा ५० रन बनाए । गुल्शन झाले १६ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन बनाए भने करण केसीले १२ बलमा २ छक्काको सहयोगमा १७ रन बनाए ।
यस्तै आसिफ शेखले ११ बलमा ८ रन, दीपेन्द्र सिंह एरीले ८ बलमा ५ रन बनाउँदा कप्तान रोहित पौडेलले १८ बलमा ५ रन बनाए । कुशल मल्लले ५ बलमा ३ रन, सोमपाल कामीले ३ बलमा २ रन, ललित राजवंशीले ३ बलमा २ रन तथा अभिनाश बोहोराले ३ बलमा १ रन बनाए । नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भए । यूएईका लागि जुनइद सिद्धिकी, अली नासीर र बासिल हमीदले २-२ विकेट लिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies