काठमाडौं : कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८–अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै करियरको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन् ।
सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपनको अन्तिम दिन धरानका प्रो निरजले ८–अन्डर ६० को सानदार नतिजामा शिवराम श्रेष्ठको कोर्स रेकर्ड बराबरी गरेका छन् । शिवरामले सन २०१५ मा एनपिजिए प्रेसिडेन्टस कपमा ८–अन्डर स्कोर गरेका थिए ।
अन्तिम दिनको खेल शुरुआत गर्दा निरज तीन दिनका लिडर भुवन भन्दा सात स्ट्रोकले पछि थिए । तर ८–अण्डरको प्रदर्शनसँगै उनले उपाधिसँगै १ लाख २० हजार नगद पुरस्कार प्राप्त गरे । अन्तिम १८ होलको सुरूवात गर्दा भुवनसँग दिनेश प्रजापति माथि ६ स्ट्रोक र निरज माथि ७ स्ट्रोकको ठुलो अग्रता थियो । तर भुवनले शुक्रबार इभन–पार ६८ मा खेल सकाउँदा समग्रमा ७–अन्डर २ सय ६५ सहित दोस्रो स्थानमा रहे । उनले ८२ हजार प्राप्त गरे ।
शुक्रबार ४–अन्डर ६४ खेल्दै समग्रमा २ सय ७१ सहित जयराम श्रेष्ठ तेस्रो भए । उनले ६६ हजार हात पारे । शुक्रबार इभन–पार ६८ स्कोर गर्दै समग्रमा इभन–पार २ सय ७२ सहित तोरण विक्रम शाही चौथो भए । उनले ५३ हजार प्राप्त गरे । समग्रमा २–ओभर २ सय ७४ सहित पाँचौ भएका धन बहादुर थापाले ४५ हजार आफ्नो नाममा लेखाए । उनले शुक्रबार इभन–पार ६८ खेले ।
उपाधिका दाबेदार मानिएका सुबाश तामाङ समग्रमा ४–ओभर २ सय ७६ सहित छैटौं भए । प्रो टर्न भएपछि पहिलो पटक घरेलु टुर खेलेका सुबाशले ३३ हजार ५ सय प्राप्त गरे । समग्रमा ५–ओभर २ सय ७७ सहित दिनेश प्रजापति र रवि खडकाले सातौं स्थान बाँडे । उनीहरूले जनही ३३ हजार ५ सय नगद पुरस्कार बाँडे । शुक्रबार १–ओभर ६९ सहित समग्रमा ६–ओभर २ सय ७८ स्कोरमा रामे मगर नवौं भए । उनले २८ हजार नगद पुरस्कार प्राप्त गरे ।
यसैगरी समग्रमा ७–ओभर २ सय ७९ सहित सञ्जय लामा र भुवन कुमार रोक्काले संयुक्तरुपमा दशौं स्थानमा प्रतियोगिता सकाए । सञ्जयले ५–ओभर ७३ र भुवनले १–ओभर ६९ मा खेल सकाए । उनीहरूले जनही २४ हजार नगद प्राप्त गरे ।
एमेच्योरतर्फ समग्रमा १३–ओभर २ सय ८५ सहित सदभाव आचार्यले उपाधि जिते । उनले शुक्रबार ७–ओभर ७५ मा खेल सकाउँदै टासी छिरिङलाई दश स्ट्रोकले हराए । टाशीले समग्रमा २३–ओभर २ सय ९५ स्कोर गरे । शुक्रबार उनले १२–ओभर ८० मा खेल सकाए । राष्ट्रिय टोलीका खेलाडी राहुल विश्वकर्मा कूल ३०० स्कोर सहित तेश्रो भए ।
निरजले कोर्स रेकर्ड बराबरी गर्ने प्रदर्शन गर्ने क्रममा फ्रन्ट नाइन ५–अन्डर २९ मा सकाए । उनले पहिलो देखि चौथो होलमा लगातार चार बर्डी प्रहार गरे । नवौं होलमा पनि एक सट बचाएपछि फ्रन्ट नाइनको समाप्तीमा भुवन भन्दा मात्र एक स्ट्रोकले पछि थिए । भुवनले भने फ्रन्ट नाइन १–ओभर ३५ मा सकाए । भुवनले दोस्रो र चौथो होलमा बर्डी प्रहार गरेपनि तेस्रो होलमा डबल बोगी र पाँचौ होलमा बोगी खेपे ।
निरजले फ्रन्ट नाइनकै प्रदर्शनलाई निरन्तरता दिए । १०औं होलमा बर्डी प्रहार गर्दै निरजले भुवनसँग स्कोर बराबरी गरे । यसपछि १३औं र १४औं होलमा लगातार दुई बर्डी प्रहार गर्दा निरजले दुई स्ट्रोकको अग्रता बनाए ।
१६औं होलमा हजार्डबाट बोगी खेलेपनि १७औं होलको उत्कृष्ट बर्डीले पुन २ स्ट्रोकको अग्रता बनाए । उनले ब्याक नाइन ३–अन्डर ३१ मा सकाउँदा एक स्ट्रोकको जित निकालेका हुन् । भुवनले भने १२औं होलको बोगीका विरूद्ध ११औं र १८औं होलमा बर्डी प्रहार गरे । ब्याक नाइन १–अन्डर ३३ मा सकाए ।
जयरामले फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३२ मा सकाए । फ्रन्ट नाइनमा उनले दोस्रो, चौथो र आठौं होलमा बर्डी प्रहार गरे भने नवौं होलमा एक सट खेर फाले । ब्याक नाइनमा १३औं, १४औं र १७औं होलमा एक–एक सट बचाए भने १६औं होलमा बोगी प्रहार गरे ।
चार दिने प्रतियोगितामा ३२ प्रोफेसनल र ९ एमेच्योर गरी कुल ४१ गल्फरहरूले प्रतिस्पर्धा गरेका थिए । कुल पुरस्कार राशी ७ लाख ३ हजार ५ सय रहेको थियो । जहाँ २१ टप प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गरे । विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीप्रा लहरी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies