काठमाडौं : नेपाल एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग ४ विकेटले पराजित भएको छ । योसँगै नेपालले आगामी नोभेम्बर र डिसेम्बरमा श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स टी-२० एसिया कप पनि गुमाएको छ । हङकङले भने एसीसी इमर्जिङ टिम्स एशिया कपमा स्थान बनाएको छ ।
नेपालले दिएको १४० रनको लक्ष्य हङकङले ३ बल बाँकी रहँदै ६ विकेट गुमाएर पूरा गर्यो । हङकङका अंशु रथले अविजित रहँदै सर्वाधिक ६५ रन बनाए । ५० बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । नसरुल्लाह राना ८ बलमा ११ रनमा नट आउट रहे । बाबर हायत २६, अजिज खान १२, यासिम मुर्तजा र अदित गोरावारा ९–९ रनमा आउट भए । नेपालका सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनायो । दीपेन्द्रसिंह ऐरीले २९ बलमा ४ चौका र ३ छक्कासहित ४४ रन बनाए। सन्दीप जोरा २२, कप्तान रोहितकुमार पौडेल २१, नेपालका ओपनर कुशल भुर्तेल शून्य, आशिफ शेख ५, सोमपाल कामी १२, करण केसी ३ र कुशल मल्ल १३ रनमा आउट भए ।
ललितनारायण राजवंशी २ रनमा अविजित रहे । हङकङका आयुष शुक्लाले सर्वाधिक ३ विकेट लिए । अतिक इकवाल, यासिम मुर्तजा र एहसान खानको नाममा १/१ विकेट रह्यो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies