२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

अर्घाखाँचीमा बजार अनुगमनलाई प्रभावकारी बनाइने

सुर्य प्रसाद भुसाल
२०८१ असोज १९ गते २१:०७
अर्घाखाँचीमा बजार अनुगमनलाई प्रभावकारी बनाइने

अर्घाखाँची : चाडपर्वको समयमा हुने कालो बजारी नियन्त्रण गर्न र अवैध सामानहरु बजारमा भित्रिन नदिन अर्घाखाँचीमा बजार अनुगमनलाई प्रभावकारी बनाइने भएको छ ।

खाद्य व्यवस्थापन तथा आपूर्तिको विषयमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको अध्यक्षतामा बसेको बैठकले चाड पर्वको समयमा उपभोक्ताहरु बढी ठगीने भएकाले अनुगमन प्रभावकारी बनाउने निर्णय गरेको हो । 

जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीले चाडपर्व लक्षित बजार अनुगमन गर्ने गरेको भएपनि अन्य समयमा बजारमा हुने वेथिती नरोकिएको गुनासो आएपछि यसलाई सधैंका लागि  निरुत्साहित गरी निरन्तर बजार अनुगमन गर्न टोली खटिने प्रजिअ अर्यालले बताए । 

अर्घाखाँचीका विभिन्न कारणबाट राजस्व चुहावट भएकाले चुहावट रोक्ने विषयमा राजस्व चुहावट समितिको बैठक सम्पन्न भएको प्रशासकीय अधिकृत नुमलाल पन्थिले जानकारी दिए । बजारमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको,  भ्याट बिलको कारोवारमा विल नकाट्ने, अण्डर विलिङ गरेको तथा मनलाग्दी मूल्यमा सामग्री बेच्ने जस्ता कार्यबाट राजश्व चुहावट भएको बैठकको निष्कर्ष रहेको आन्तरिक राजस्व सेवा कार्यलय अर्घाखाँचीका प्रमुख कर अधिकृत स्वागत थापाले बताए ।

अनुगमनको क्रममा अवैध रुपमा कारोबार गरेको भेटिए कडा भन्दा कडा कारबाही गर्ने पनि बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रशासकीय अधिकृत नुमलाल पन्थीले जानकारी दिए ।

भर्खरै मात्र अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भइ आएका अर्यालको नजर यतिबेला  बजार, सडक, सरकारी कार्यालयमा परेको छ । गत साता पनि अर्याल आफै बजार अनुगमनमा खटिएका थिए । उपभोक्ताको हितकै लागि प्रशासनको नजर बाह्रै महिना बजारमा पर्न सकेमा मात्र कालो बजारी, ठगी तथा चुहावट जस्ता कार्य नियन्त्रण हुनेमा आफुहरु आशावादी रहेको सन्धिखर्क २ का दुर्गा पौडेलको भनाइ छ । बजार अनुगमन गर्ने प्रजिअहरुको नै १ वर्षमा सरुवा हुने प्रापधान रहेकोले यसको निरन्तरतामा भने शंका हुने स्थानीय बजारबासी बताउँछन् ।

जिल्ला प्रशासनमा बसेको महत्वपूर्ण बैठकमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सम्बन्धित सरकारी कार्यालयका प्रमुख, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, उद्योग व्यापार संघ जस्ता व्यवसायीका संघसंगठनका प्रमुख तथा, प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधि तथा सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर