२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

पर्साको तिलावे पुलको पिलर भत्कियो, आवतजावतमा समस्या

Nada
रासस
२०८१ भदौ ३० गते १६:४५
Shares
पर्साको तिलावे पुलको पिलर भत्कियो, आवतजावतमा समस्या

पर्साः पर्साको ग्रामीण भेगसँग जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सीमानामा रहेको तिलावे पुल क्षतिग्रस्त हुँदा सर्वसाधारणलाई आवतजावतमा गर्न समस्या भएको छ । पर्सा जिल्लामा आएको वर्षात्को पानीको बहावले तिलावे पुलको फाउण्डेसनसँगै रहेको स्पान (पिलर)लाई क्षतिग्रस्त बनाएपछि पुल जोखिमयुक्त बनेको हो । 

ncell

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोज पटेलले तिलावे पुलको फाउण्डेसनसँगै रहेको स्पान भत्किएसँगै सवारीसाधन चलाउन नमिल्ने अवस्थामा पुगेको बताए । ‘पहिलादेखि नै तिलावे पुल जीर्ण अवस्थामा थियो । अहिले पुलको फाउण्डेसनसँगै रहेको पिलरमा चिरा परेर भत्किने अवस्थामा छ’, उनले भने, ‘तिलावे पुलबाट हुने आवतजावतलाई पूर्ण रुपमा रोक लगाइएको छ । सरोकारवाला निकाय सिँचाइ विभाग र सडक विभागलाई पनि मौखिक रुपमा जानकारी गराइसकेका छौँ ।’ प्रमुख पटेलले गण्डक नहरसँगै ५० वर्षअघि यो पुलको संरचना निर्माण गरिएको बताए ।

सडक सुधार तथा विकास योजना बाराका प्रमुख विनोद साहले उक्त खण्डको सडक स्तरोन्नति आफूले गरे पनि पुल निर्माणको जिम्मेवारी भने नरहेको स्पष्ट पारे । ‘तिलावे पुल भत्किएको विषयमा सडक विभाग मातहतको पुल महाशाखालाई आवश्यक जानकारी गराउने तयारीमा छौँ’, उनले भने, ‘सडक विभागबाट आवश्यक बजेट आएको खण्डमा भत्किएको पुलको निर्माण अघि बढाउनेछौँ ।’

उनले बाराको सिम्रनगढदेखि पर्सा जिल्लाको अन्तिम विन्दुसम्म करिब ५९ किलोमिटर सडक स्तरोन्नति अघि बढाएको बताए । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख पटेलले वषौंदेखिको जीर्ण पुल भएकाले पनि मर्मतसम्भारभन्दा पनि नयाँ पुल निर्माण गर्दा राम्रो हुने बताउँछन् । ‘स्पान भत्किएकाले पनि नयाँ निर्माण आवश्यक छ’, उनले भने, ‘पुल महाशाखासँग प्रविधि र जनशक्ति दुवै भएकाले पनि मर्मतसम्भार गरेर पनि चलाउन सक्ला कि भन्ने लाग्दछ ।’ 

ताजा खबर

सम्बन्धित खबर