उच्च शिक्षाका लागि योग्य वा अयोग्य भनेर छुट्याउने शैक्षिक खुड्किलो हो– कक्षा १२ को परीक्षा । यसको नतिजाले एकातिर मुलुककै शैक्षिक अवस्थाको मापन गरिरहेको हुन्छ भने अर्कोतिर विद्यार्थीहरूको कमजोरी के छ ? भन्ने देखाएर उनीहरूको भविष्य कोर्न सिकाइरहेको हुन्छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ५ लाख १० हजार ९ सय ८७ विद्यार्थी सहभागी थिए । त्यसमध्ये २ लाख ८४ हजार ३ सय ५ विद्यार्थी उत्तीर्ण भए । १ लाख ९३ हजार ८ सय ८२ अनुत्तीर्ण भए । अनुत्तीर्ण हुनेमा सबैभन्दा धेरै अंग्रेजी विषयमा ६६ हजार २ सय ७५ छन् भने दोस्रोमा अकाउन्टिङ (लेखा) विषयमा ४१ हजार २ सय ६३ जना फेल भएका छन् । फेल हुने तेस्रो स्थानमा सामाजिक शिक्षामा ३३ हजार ९ सय २१ छन् भने चौथोमा नेपालीमा २८ हजार ३ सय ५६ जना विद्यार्थी फेल भए । यो नतिजाले नेपालले कक्षा १२ सम्मका विद्यार्थीलाई के पढाइरहेको छ र के सिकिरहेका छन् भन्ने देखाउँछ । नतिजा विद्यार्थीको मेहनत राज्यको लगानी र विद्यालयको वातावरणमा भर पर्छ । अर्थात्, कक्षा १२ को परीक्षाले शिक्षा क्षेत्रमा राज्यले गरेको लगानी र प्राथमिकताको परिणाम उजागर गरिदिएको छ ।
नेपाली, अंग्रेजी र सामाजिकजस्ता विषयमा विद्यार्थी फेल हुनु भनेको त्यस्तो विद्यार्थीले साहित्य, समाज, इतिहास र वर्तमानमा आवश्यक ज्ञान हासिल गर्न सकेन भन्ने हो । नेपालीमा नेपाली भाषा, साहित्य र व्याकरणसँगै नेपालकै इतिहास र कला सिकाउने पाठ्यक्रम छ । अंग्रेजीमा भाषासँगै विश्व साहित्य पढाइन्छ भने समाजिक शिक्षामा वर्तमान नेपाली समाजको चरित्र, समाजसँग नागरिकको सम्बन्ध, शासन व्यवस्था, राजनीतिका न्यूनतम विषय सिकाइन्छ । जसअन्तर्गत सरकार, संसद्, अदालत, नागरिक समाज, बौद्धिक वर्गको भूमिका के हो र के भइरहेको छ भनेर विद्यार्थीलाई भविष्यमा के गर्नुपर्छ ? भनेर धारणा निर्माणमा सघाउने उद्देश्य राखिएको हुन्छ । नेपालको वर्तमान शैक्षिक अवस्था शिक्षण सिकाइका तौरतरिका, पाठ्यक्रम र त्यसको कार्यान्वयनमा देखिएका कमीकमजोरी कक्षा १२ को परीक्षाले उजागार गरेको छ । कक्षा १२ को सार्वजनिक नतिजाले विद्यार्थी नभएर सरकार नै फेल भएको देखाउँछ । आगामी दिनमा विद्यार्थीलाई के पढाउने ? कसरी पढाउने ? सिकाइका तौरतरिका के कस्ता अवलम्बन गर्ने भन्ने कुरामा सरकारले मेहनत गर्नुपर्ने देखिन्छ ।
अन्यथा, कक्षा १२ पनि विद्यार्थीले पास गर्न सकेनन् भने उनीहरूको उच्च शिक्षा अध्ययन गर्ने बाटो बन्द हुन्छ र नेपालमै पनि रोजगारी प्राप्त गर्न कठिन हुन्छ । साथै, विदेशमा पनि श्रमिकका रूपमा काम गर्नुको उनीहरूसँग अन्य विकल्प हुँदैन । कक्षा १२ मै फेल भएकाहरू सिप सिकेर जीवन जिउनेतिर लागे राम्रो हुन्छ । कक्षा १२ पनि उत्र्तीण गर्न नसक्ने विद्यार्थीहरूले राजनीतिमा नजोडिएककै राम्रो हुन्छ । किनभने जसले भाषा, कला इतिहास, समाज बुझेको हुँदैन, त्यस्ता व्यक्ति जनप्रतिनिधि भएर नीति बनाउने थलोमा पुग्छन् । जो जनता नबुझेरै जनप्रतिनिधि बन्छ त्यस्तो जनप्रतिनिधिले कस्तो नीति बनाउँछ ? यस कोणबाट देखिने मुलुकको अन्धकारलाई सरकारले समयमै ख्याल गरोस् ।