२०८२ असार १ गते आइतवार / Jun 15 , 2025 , Sunday
२०८२ असार १ गते आइतवार
Ads

भूमे नाच : मगर समुदायलाई एकताबद्ध गराउने पर्व

सुर्य प्रकाश बुढा मगर
२०८२ असार १ गते १०:२९
भूमे नाच : मगर समुदायलाई एकताबद्ध गराउने पर्व

रोल्पा : आज असार १ गते, मगर समुदायको विशेष दिन । मगर समुदायले भूमि अर्थात जमिनको पूजा गरेर आज पश्चिमी नेपालको बागलुङ, रुकुम पश्चिम, पूर्वी रुकुम, रोल्पा, दाङलगायत विभिन्न जिल्लामा मगर बाहुल्यता भएका ठाउँमा भूमे पर्व (भूमे नाच)लाई धुमधाम मनाइन्छ । 

मौलिक, कला, संस्कृति, भेषभुषा र धार्मिक महत्व बोकेको भूमे नाचले मगर समुदायलाई एकताबद्ध गराउन भूमिका खेलेको पाइन्छ । मगर समुदायको भनिएता पनि जसमा कुनै जातजाति, समुदाय, धर्म, लिङ्ग नजोडिने भएकोले भूमे पर्व सबैको साँझा र मौलिक कला, संस्कृतिसँग  जोडिएको पर्व हो ।

भूमे पर्व मगर समुदायको इतिहाससँग जोडिएको पर्व हो । कथाअनुसार खोलाको पानी लिन गाउँबाट केही माथि ठूला-ठूला  पहरा–पहाडहरू काटेर जानु पर्दथ्यो । खोलामा पानी भर्न जाने क्रममा कुनै जोग पारेर मान्छे हराइरहेका हुन्थे । यसरी पानी भर्न जाने मान्छे हराउँदै जाँदा गाउँ नै भावविह्वल भयो । गाउँ नै शोकमा डुबेपछि गाउँका मुखियाले गाउँभेला बोलाइ मान्छे हराएको पत्ता लगाउन गाउँका सबैलाई खटाउँछन् । पाँच-छ जनाको टोली बनाएर पानी भर्न लगाउँदा फर्कने क्रममा पछिल्लो पानी भरुवालाई पहराको मुनिबाट निस्केको सर्पले खाएको देख्छन् । यसरी सर्पले खाएको थाहा पाएपछि गाउँलेहरू भेला भई कसरी सर्पलाई ठिक बनाउन सकिन्छ भनेर छलफल हुँदा सिर्पाली बिकले म त्यो सर्पलाई आफ्नो काबुमा ल्याउन सक्छु भनेपछि सिर्पाली विकलाई एक धार्नीको सनासो (तातो वस्तु समात्ने फलामबाट बनेको उपकरण)बनाएर पानी भर्न मान्छे पठाइन्छ र सर्प खान निस्केको बेला सनासोले सर्पको घाँटीमा अठ्याउँछ र सिर्पालीले सोध्छन् “तँ को होस् तैँले किन मानव क्षति बनाइरहेको छस् ?” भन्दा सर्पले सिर्पालीलाई आग्रह गर्छ “मलाई नमार मनुखे, म भूमि देवता जेठको मसान्तको दिन दूध मात्र खाएर असार १ गते मलाई एक हाँसे भेडा लिएर पूजा गर्नु, मैले मानव क्षति पनि गर्दिनँ र बाढीपहिरो पनि रोक्छु” भनेपछि त्यही वर्षबाट पूजा गर्न थालिएको साथै कुनै मानवीय क्षति नभएको र बाढीपहिरो पनि नगएको कहानी पढ्न पाइन्छ । त्यसैले भूमि देवतामाथि विजय प्राप्त गरेको उपलक्ष्यमा ‘भूमे पूजा’ भूमे नाच सुरु भएको इतिहास विद्यमान छ । 

यो पर्व रोल्पा र रुकुमपूर्वमा मात्र सीमित नरही पछिल्लो केही वर्षदेखि राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको छ । त्यस क्षेत्रबाट बसाई सरेर गएका मगरहरूले काठमाडौं, दाङ तथा पोखरा लगायतका नेपालका सहर तथा अमेरिका, जापान, युके, कतार लगायतका विभिन्न देशमा विस्तार गरेका छन् । विश्वको विकसित मानिने राष्ट्र अमेरिकामा पनि रोल्पा रुकुममा मनाइने पर्व भूमे नाच प्रस्तुत गरिएको पाइन्छ ।

भूमे पर्व फुकाउने दिन गाउँअनुसार फरक–फरक हुने भएकोले एकरूपता भने छैन । तर, जसले जति गते भूमे पर्व मनाए पनि जेठ महिनामै फुकाउँछन् । कुनै गाउँमा जेठको १ गते, कुनै गाउँमा जेठ १५ गते फुकाउँछन् । भूमे पर्व फुकाउँदा गाउँका मुखिया प्रधानपञ्च कहाँ गएर जुलीधजा धार्नी रक्सीले ढोग गरी अनुमति मागेपश्चात दमाई कहाँ गएर बाँजागाँजा फुकाउने चलन रहेको छ ।

हरेक वर्षको असार १ गतेका दिन रोल्पा, रुकुम पश्चिम्, पुर्वी रुकुम, बागलुङ लगायतका विभिन्न मगर समुदाय रहेको गाउँ ठाउँमा र यी जिल्लाबाट बसोबास गर्ने मगरहरूले काठमाडौं लगायतका नेपालका अन्य जिल्लाहरूमा बसोबास गर्ने मगर समुदायले पनि भूमे पर्व मान्ने र नाच्ने गर्दछन् । विशेषगरी खाम गर्ने मगर समुदायले भूमे नाचलाई पर्वको रूपमा मनाउँदै आएको पाइन्छ । पछिल्लो समय खाम नगर्ने मगर समुदायमा समेत भुमे पर्व मनाउन थालिएको छ । कालो चोलीमा, रातो थोप्ला भएको कालो गुनियोलाई पटुकीले कसेर लगाएपछि बाहिरबाट मखमलको रातो घलेक अनि पछ्यौराका साथै, गहना लगाएर चिटिक्क परेका महिला तथा कालो चोलीमै कालो धर्का हालेको घरबुना धरोलाई पटुकीले कसेर लगाई मखमलकै कालो घलेक लगाएर सजिएका पुरुष दमाह, ट्याम्की, छिल्लर र सहनाईको तालमा लहरै नाच्ने नाच हो भूमे नाच ।

भूमे नाच फुकाउनु अगाडि युवा–युवतीको एक भूमे नाच समूह बन्छ, जसको नाम ठाउँअनुसार फरक हुन्छ । कुनै ठाउँमा नोगोवाङे, कुनै गाउँमा भल्क पसिने समूह । त्यही समूह जेठ मसान्तको अघिल्लो दिन रोटी, रक्सी लिएर दिउँसो ४/५ बजेतिर लेक चढ्छन् । नाच्दै गाउँदै लेक चढेको समूहले डाँडाकाँडा भरिभराउ बनाएको हुन्छ । डाँडाको युवा युवतीको लस्कर मौसमअनुसार बसाइँ सर्ने मालचरिको समूह झैं नाच्दै लाग्छ । उकाली काटेपछि ४/५ घण्टामा लेकको नजिक पुग्छन् र त्यहीँ बास बसी रातभरि भूमे नाच, झाम्रे गीत गाएर बिहानको ३ बजाउँछन् । ३ बजेतिर पुजारी उठेर लेकमा पूजा गर्न गएपश्चात बल्ल फूल टिप्न जाने समूह उकाली चढ्छन् ।

फूल टिप्न जाने समूहले जान वा अन्जाले जुठो पिटो भएमा माफी दिनु, फूल टिप्न आउने समूहलाई भिरबाट जोगाइदिनु, ढुङ्गामुढाबाट जोगाइदिनु, बुकी लाग्नबाट जोगाइदिनु भनेर पन्थ्यौली र लेकका सिद्ध देवतालाई पुकारेपछि फूल टिप्न जाने समूह भिरपाखामा छरिएर फूल टिप्न लाग्छन् । फूल टिपेर एक मुर्ला लिएर आफ्नो पन्थ्यौलीमा मुर्ला गाडेर आ–आफ्नो पन्थ्यौली घुमाइ नाचेपछि नोगोवाङे समूह महिलाको पछ्यौरी जोडेर लामो बनाई घरतिर बाटो लाग्छन् ।

नाच्दै गाउँ आउने क्रममा एक जलाकी भेटिन्छ । त्यहाँ एक मुर्ला गाडेर नयाँ फूल टिप्न गएको व्यक्तिलाई उक्त जलाकी बोकेर घुमाउँछन् । बुढापाकाका अनुसार बोकेर घुमाएपछि बोकी माग्नेलाई शुभ हुन्छ भनेर एक/दुई पैसा पन्थ्यौली अथवा जलाकीमा चढाउँछन् । केही तल आएपछि युवतीहरू बुकीबाट टिपेर लिएको केही फूललाई माला बनाएर पुरुषको समूहलाई लगाइदिन्छन् । गाउँको नजिक आउँदा फूल माग्नेहरूको लस्कर हुन्छ । उनीहरू  रक्सी र रोटी लिएर भोकाएर आएका फूल टिप्न जाने समूहलाई स्वागत गर्छन् । बुकीबाट फूल टिपेर आउने समूहले फूल माग्नेलाई फूल दिएर सम्मान गर्छन् भने फूल शिरमा समेत लगाइलिन्छन् । थर्कीमा पुगेपछि सबैलाई शिरमा फूल लगाएर सम्मान गर्छन् । केही चाला नाचे पश्चात फेरि गाउँ घुमेर नाची थर्कीमा आएर त्यस दिन अन्त्य गर्छन् ।


 

ADV

सम्बन्धित खबर