२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

दायित्वबाट भाग्दै प्रधानमन्त्री

मध्यान्ह
२०८२ जेठ २१ गते २१:२३
दायित्वबाट भाग्दै प्रधानमन्त्री

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेमा ‘म झोले हुँ’ अभियान चलिरहेको छ र विवाद पनि बढिरहेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आफै यो अभियान थालेका हुन् । पार्टी निकट जनसंगठन नेपाल बुद्धिजिवी परिषद्को अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ‘झोले हुँ’ भन्दा कुनै हिनताबोध गर्न नहुने बताएका थिए । पार्टीको झोले भनेर खिसीट्यूरी गर्दा कुनै हिनताबोध नगर्न प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए । केही दिनभित्रै ‘म झोले हुँ’ पोष्टर प्रधानमन्त्री ओलीले सार्वजनिक गरे । प्रधानमन्त्री एवं अध्यक्ष पछि एमालेका पदाधिकारी र सरकारका मन्त्रीहरुले पनि झोले हुनुमा गर्व गर्ने सन्देश सहितका पोष्टर सामाजिक सञ्जालमा पोष्ट गर्न थाले । एमाले पंक्तिमा यो अभियान तीव्र बनेको छ । 

एमाले बाहिरका पंक्तिले झोले अभियानलाई अझ खिसीट्यूरी गरिरहेका छन् । यो शब्द राजनीतिक दलका कार्यकर्ताहरुका निम्ति खिसीट्युरी गर्न नै प्रयोग हुने गरेको थियो । तथ्यहरु बिर्सेर, सामाजिक दायित्व र विवेक बन्धक राखेर पार्टीको पक्षमा उभिनेहरुलाई ‘झोले’ उपमा दिइने गरेको थियो । पछिल्लो समय राजावादीहरुले यो शब्द खूब प्रयोग गर्दै आएका थिए । देशमा विकास नहुनुको कारण दल र तिनका कार्यकर्ताहरु भएको निष्कर्ष सहित राजावादीहरुले झोले शब्द प्रयोग गर्दै आएका थिए । प्रधानमन्त्री ओलीले त्यही खिसीट्यूरीलाई गर्वका साथ स्वीकारे । ओलीलाई पछ्याउँदै सिंगो एमाले पंक्तिलाई ‘झोले’ बनाउने प्रयास भइरहेको छ । यसको विपक्षमा कतिपय एमालेकै नेताहरु देखिएका छन् । 

यस्तो अभियानले एमालेलाई कस्तो असर पर्ला भन्ने भविष्यमा देखिएला । तर प्रधानमन्त्री ओली र एमाले नेताहरुमा सामाजिक उत्तरदायित्वको विषय कति कमजोर रहेछ भन्ने यसबाट बुझ्न सकिन्छ । देशको नेतृत्व गरिरहेका प्रधानमन्त्रीले कार्य सम्पादनमा कुनै गलत भइरहेको छ भने त्यसलाई सच्याउने तत्परता देखाउनुपर्ने हो । विवेक बन्धक राखिएको तर्क हो भने त्यसलाई खण्डन गरिनुपर्ने हो । तर प्रधानमन्त्री ओलीले खिसीट्यूरीमा प्रयोग गरिएको शब्दलाई सहर्ष स्वीकारेको देखियो । यसले राम्रो संस्कृतिको विकास हुने देखिएन । सरकारको कार्य सम्पादनमा कमजोरी औल्याउन पनि आमसाधरणले उल्टै अपमानित हुने परिस्थिति बन्ने देखियो । यस्तो शैलीले लोकतन्त्रलाई बलियो बनाउँदैन ।   
 

ADV

ताजा खबर

सम्बन्धित खबर