२०८२ जेठ २० गते मङ्गलवार / Jun 03 , 2025 , Tuesday
२०८२ जेठ २० गते मङ्गलवार
Ads

रौतहटमा विपद् व्यवस्थापनको पूर्वतयारी

कृष्ण तिवारी
२०८२ जेठ १८ गते २२:३३
रौतहटमा विपद् व्यवस्थापनको पूर्वतयारी

रौतहट : मनसुनजन्य प्रकोपबाट हुने धनजनको क्षतिलाई न्यूनीकरण तथा राहत र उद्धार जस्ता कार्यक्रमलाई प्रभावकारी ढंगले संचालन गर्न रौतहटमा सरोकारवाला निकायहरुले पूर्व तयारीका साथ ऐक्यबद्धता जाहेर गरेका छन् । 

प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काको अध्यक्षतामा आइतबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विपदको पूर्व तयारी, राहत, प्रतिकार्य र समन्वयबारे विभिन्न महत्वपूर्ण १८ वटा  निर्णयहरू गर्दै ऐक्यबद्धता जनाएका हुन् । 

यस वर्ष मनसुनजन्य प्रकोपले ठूलो प्रभाव पार्ने भन्ने मौसमविद्हरुबाट आएको कुराहरुलाई मनन् गर्दै बाढी, पहिरो, डुबान, सडक अवरोध जस्ता सम्भावित घटनाका लागि दमकल, एम्बुलेन्स, स्काभेटर, डोजर लगायतका साधनहरूको मर्मत गरी तयारी अवस्थामा राख्न सम्बन्धित कार्यालयहरुलाई निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताए । 

सरकारी तथा गैरसरकारी संघसंस्था पत्रकार लगायत सबैलाई समन्वयमा रहेर सचेतनामूलक कार्यक्रम सञ्चालन, पूर्वतयारी तथा प्रतिकार्यमा जुट्न अनुरोध गरिएको छ । साथै सम्भावित जोखिम नियन्त्रणका लागि तारजाली, बोरा खरिद गर्न पालिकाहरुलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी खड्काले बताए  ।

सुरक्षा निकाय, सम्बन्धित कार्यालय तथा संघसंस्थाहरूसँगको समन्वयमा कृत्रिम घटना अभ्यास गर्ने तयारी गरिएको छ । आइतबार बसेको बैठकबाट गृह मन्त्रालयको परिपत्र अनुसार विपद् प्रभावितको लागि उपलब्ध गराइने राहतलाई व्यवस्थित बनाउन विपद् संवेदनशिल सामाजिक सुरक्षा तथा राहत मापदण्ड २०८१ सबै स्थानीय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै स्थानीय तहले मापदण्ड कार्यान्वयन गर्ने गराउने निर्णय भएको जिल्ला विपद् व्यवस्थापन समिति रौतहटका  सम्पर्क व्यक्ति रामनरेश साहले बताए । 

ADV

सम्बन्धित खबर