२०८२ जेठ १४ गते बुधवार / May 28 , 2025 , Wednesday
२०८२ जेठ १४ गते बुधवार
Ads

कपिलवस्तुमा मलखाद अभाव: भारतबाट ल्याएको मल सशस्त्रले नियन्त्रणमा लिँदा किसान आक्रोशित

शहबाज खान
२०८२ जेठ १२ गते ०९:३७
कपिलवस्तुमा मलखाद अभाव: भारतबाट ल्याएको मल सशस्त्रले नियन्त्रणमा लिँदा किसान आक्रोशित

कपिलवस्तु : मुख्य बाली सिजन सुरु भएसँगै कपिलवस्तुको बहादुरगञ्जमा मलखादको चरम अभाव भएको छ ।

स्थानीय किसानहरूले बजारमा नपाएको मल भारतबाट किनेर ल्याएका थिए । तर, शुक्रबार दिउँसो कृष्णनगर भन्सार कार्यालय र सशस्त्र प्रहरीले ती मल नियन्त्रणमा लिएपछि स्थिति तनावपूर्ण बन्न पुग्यो ।

साँझ करिब ४ बजेतिर सशस्त्र प्रहरीको गाडीमा मल राखेर लैजाने तयारी भइरहेका बेला बहादुरगञ्ज बजारमा स्थानीय किसान र सर्वसाधारण आक्रोशित बने । उनीहरूले सशस्त्र प्रहरीको गाडी घेराबन्दी गर्दै मलखाद जबरजस्ती फिर्ता लगेका थिए । घटनापछि स्थिति केही समय तनावग्रस्त बनेको थियो ।

घटनाप्रति विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले गम्भीर आपत्ति जनाएका छन् । उनीहरूले कृष्णनगर भन्सार कार्यालय र प्रस्तावित सशस्त्र प्रहरी गुल्मको कार्यशैलीप्रति असन्तोष प्रकट गर्दै कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालय, तौलिहवामा ज्ञापन पत्र बुझाएका छन् ।

उद्योग वाणिज्य संघ कृष्णनगरले पनि प्रेस विज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरी र सशस्त्र प्रहरीको व्यवहारलाई आपत्तिजनक ठहर गरेको छ । संघले घटनाको विरोधमा सोमबार कृष्णनगर बजार बन्दको आह्वान समेत गरेको छ ।

स्थानीय किसानहरूले यो घटनालाई ‘न्यायविहीन हस्तक्षेप’ भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । उनीहरूका अनुसार सरकारी निकायले कृषिमा आवश्यक पर्ने मल समयमा उपलब्ध गराउन नसक्दा बाध्य भएर भारतबाट मल ल्याइएको थियो, तर त्यसलाई पनि रोक्न खोज्नु अन्याय हो ।

यस घटनाले स्थानीय स्तरमा असन्तुष्टि चुलिएको छ भने सुरक्षास्थितिमा समेत असर पार्नसक्ने अवस्था देखिएको छ । जिल्ला प्रशासनले स्थिति नियालिरहेको जनाए पनि तत्कालीन समाधानका लागि स्पष्ट योजना भने सार्वजनिक गरिएको छैन ।

कृषकहरू हाल मल नपाउँदा रोपाइँ र बाली उत्पादन प्रभावित हुने चिन्तामा छन् । उनीहरूले राज्यलाई जिम्मेवार बन्दै तत्काल मलको आपूर्ति सुनिश्चित गर्न र मल नियन्त्रणमा संलग्न सुरक्षाकर्मीमाथि छानबिन गरिनुपर्ने माग गरेका छन् ।

ADV

सम्बन्धित खबर