रोल्पा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको थबाङले आफूलाई गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री बनाएको बताएका छन् । जनतासँग माओवादी-मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियानअन्तर्गत विशाल जनसभा कार्यक्रमका लागि बुधबार रोल्पा ऐतिहासिक ठाउँ थबाङ पुगेका उनले यस्तो बताएका हुन् ।
जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोल्पाली जनताले आफूलाई अमूल्य मत दिएर गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री बनाएको बताए । आफू प्रधानमन्त्री बन्नुमा थबाङ र रोल्पाली जनताको ठूलो त्याग, तपस्या, वलिदान र योगदान रहेको छ भन्दै उनले भने,"थबाङ राजनीतिक हिसाबले केन्द्र हो, चाहे जनयुद्धको अगाडि होस्, चाहे जनयुद्ध पछाडि होस्, थबाङ राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत चिरपरिचित ठाउँ हो ।"
विगतलाई स्मरण गर्दै प्रचण्डले भने ''रोल्पाको ललि रोका एउटा सामान्य महिला, जनजाति महिला, क्रान्ति प्रतिको अज्ञात विश्वास,निष्ठा र उहाँको समर्पण भाव यति उचाइमा थियो, यसले मलाई धेरै दिनसम्म उत्तेजित बनाइरह्यो ।'' उनले धेरै जान्ने सुन्ने मान्छेभन्दा रोल्पाको एउटा सामान्य मगर महिलामा क्रान्ति प्रतिको आस्था, विचार र निष्ठा उचाइमा असाधारण रहेको टिप्पणी गरे ।
जनयुद्धमा ग्रामीण बस्तिमा विभेद र दमन वर्गसंघर्षको बेलामा पनि थियो, तर जनयुद्ध सुरु भएपछी जे देखियो, त्यसमा पनि रोल्पाका महिलाहरूको बलिदान असाधारण शक्तिको रूपमा देखिएको उनले बताए । उनले जिउँदै जलाउदासमेत आत्मसमर्पण नगर्ने सम्झना बुढाको वीरता ,बलिदानको कृतिमानको स्मरण गरे ।
उनले पार्टीभित्र बाहिर थुप्रै विवाद, बहस र संघर्षको बीचमा कहिले पनि पार्टीको लाइन, पार्टीको विचार र पार्टीको लिडरसीप भन्दा दायाँबायाँ नगर्ने तेजमान घर्तीलाई पनि सम्झिए । उनले रोल्पामा ८०० सहिद परिवारले रगत बगाएको स्मरण गर्दै जनयुद्धमा, जनक्रान्तिमा ती सहिद योद्धाहरूले दिएको योगदानको प्रसंसा गरे ।
उनले जनयुद्धको उपलब्धिले रोल्पामा जनजातिको छोरा पहिलो पटक उपराष्ट्रपति, प्रथम महिला जनजाति सभामुख, उपप्रधानमन्त्री, धेरै पटक मन्त्री, प्रदेशको मुख्यमन्त्री, स्थानीय तहमा सामान्य परिवारको सदस्य जनप्रतिनिधिको नेतृत्व गरिरहेको बताए । यसको उपलब्धि क्रान्तिको जग, वलिदान र योगदानले गर्दा भएको उनको भनाइ छ ।
उनले फेरि पनि नयाँ आन्दोलन, नयाँ क्रान्तिको तयारीमा रहेको बताउदै समाजवादको नयाँ यात्रामा केन्द्रीय आधार ईलाका रोल्पा, रुकुम पूर्व र पश्चिम,जाजरकोट सल्यान रहेको स्पष्ट पारे ।
उनले अहिले बनेको नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकार दलाल, भष्ट्र र बिचौलियाको सरकार भएको टिप्पणी गरे । केही समयअगाडि तराई मधेशअन्तर्गत हुलाकी राजमार्गको जनजागरण अभियान सञ्चालन गरेको र नेकपा माओवादी पार्टीप्रति विश्वास र जनलहर चलेको जिकिर गर्दै अन्य पार्टीबाट नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेको संख्या समेत बढेको उनले बताए ।
२०६४ सालमा नेकपा माओवादी केन्द्रलाई बहुमतले विजय गराएको र अव २०८४ मा पनि बहुमत दिएर एकल सरकारको नेतृत्व गरेको हेर्ने चाहना नेपाली जनताको रहेको उनको जिकिर थियो ।
जनतासँग माओवादी-मध्यपहाडी लोकमार्ग(पुष्पलाल मार्ग) जनजागरण अभियान विशाल जनसभा कार्यक्रमलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ, नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष कृष्ण बहादुर महरा र अर्का उपाध्यक्ष पम्फा भुसाल र नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव वर्षमान पुनलगायतले रोल्पाको ऐतिहासिक ठाउँ थबाङमा सम्बोधन गरेका थिए । नेकपा माओवादी केन्द्रले आफ्नो आधार इलाका र सशस्त्र युद्धको उद्गमस्थल रोल्पा थबाङलाई लिने गरेको छ ।