२०८२ जेठ ७ गते बुधवार / May 21 , 2025 , Wednesday
२०८२ जेठ ७ गते बुधवार
Ads

रोल्पाकै सबैभन्दा लामो झुलङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा

सुर्य प्रकाश बुढा मगर
२०८२ जेठ ६ गते २१:२०
रोल्पाकै सबैभन्दा लामो झुलङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा

रोल्पा : रोल्पाकै सबैभन्दा लामो झुलङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । माडी गाउँपालिका–२ घर्तीगाउँ र माडी गाउँपालिका–५ भाबाङका दुई वडालाई जोड्ने माडी खोला झुलङ्गे पुलको निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

रोल्पा जिल्लामै अहिलेसम्मको लामो झुलङ्गे पुल रहेकोे दाबी गरिएको छ । उक्त झुलङ्गे पुलको लम्बाई ३ सय ४० मिटर रहेको छ । 

माडी गाउँपालिका–२ घर्तीगाउँ र माडी गाउँपालिका–५ भाबाङ्ग वडालाई जोड्ने झुलङ्गे पुल माडी गाउँपालिका–२ को पासा र ५ को एनाबाङलाई जोड्ने गरी झुलङ्गे पुलको काम अगाडि बढाइएको माडी गाउँपालिकाले जानकारी दिएको छ । 

विकासको मोडल फेरिनुपर्छ र बाटो घाटो मात्र खन्नु भन्दा पनि पहाडमा बाटोघाटो संरक्षण गर्न कठिन हुने माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्ती मगरले बताए । 

मगरले भने,‘माडी गाउँपालिकाले यो वर्षमात्र झुलङ्गे पुल महाशाखामा यस्ता सात वटा झुलङ्गे पुल माग गरेका छौँ,हामीले यो बर्ष पर्छ कि पर्दैन थाहा छैन ।’

रोल्पा जिल्लाको सन्दर्भमा अहिलेसम्मको लामो झुलङ्गे पुल भएको निर्माण कम्पनी अधिकारी अपर तामाकोसी जेभी प्रालिका सहायक इन्जिनियर राम खतिवडाले बताए । खतिवडाले भने, ‘हुन त हामीले रोल्पामा २ सय भन्दा लामो झुलङ्गे पुल निर्माण गरेका छौँ, तर अहिलेसम्म हेर्दा ३ सयमाथि निर्माण भएको पुल माडी खोला झुलङ्गे पुल नै पहिलो हो भन्ने लाग्छ ।’

पुल निर्माण कार्य २०८१ फागुन महिनादेखि अगाडि बढेको र अहिले निर्माणको काम अन्तिम चरणमा पुगेकाले अबको दस÷बाह्र दिनमा सम्पन्न गरी जेठ १५ गते भित्र ठेक्का सम्झौता कार्यालयलाई हस्तान्तरण गर्ने र कार्यालयले स्थानीय तहलाई बुझाउने उनले बताए । 

‘अहिले टेक्निकल र जाली फिटिङको काम भइरहेको छ र उक्त झुलङ्गे पुलमा दुई पांग्रे साधन बाइक समेत गुडाउन मिल्छ’ इन्जिनियर खतिवडाले भने । 

माडी गाउँपालिका–५ भाबाङका नागरिकहरुलाई माडी गाउँपालिका–२ को घर्तीगाउँ आउन र माडी गाउँपालिकाको कार्यालयमा सेवा लिन आउन थप सहज हुने माडी गाउँपालिका–५ भाबाङका स्थानीय गोपाल खत्रीले बताए ।

‘पहिले शहीद मार्गको पैदल यात्रा प्रयोग गरेर घर्तीगाउँ पुग्न ४०/५० मिनेट लाग्थ्यो तर झुलङ्गे पुलले अब उक्त समयलाई छोटो बनाएको छ’ खत्रीले भने, ‘हामी अब सहजै झुलङ्गे पुलमार्फत छोटो समय लगाएर आवत जावत गर्न सक्छौं र सबै नागरिक गाडीमा यात्रा गर्न सहज हुन नसक्ने भएकाले पैदल यात्रा गरेर पनि भाबाङ,घर्तीगाउँ आउन सकिन्छ ।’

झुलङ्गे पुलबाट परिवर्तन गाउँपालिका–२ राङ्सी,माडी गाउँपालिका–२ घर्तीगाउँ,माडी गाउँपालिका–३ तालाबाङ, माडी गाउँपालिका–५ भाबाङ,गंगादेव गाउँपालिका–१ ओट र ५ जिनाबाङ लगायतका नागरिक करिब ५ हजार भन्दा बढी लाभान्वित हुने बताइएको छ । 

संघीय सरकारको करिब १ करोड ५२ लाख भ्याट बाहेकको रकममा निर्माण हुन लागेको हो । माडी गाउँपालिकाको पहल तथा  झुलङ्गे पुल महाशाखा काठमाडौको समन्वयमा झुलङ्गे पुल निर्माण कार्य भएको र म्याद थप गर्नुभन्दा एक वर्ष अगाडि निर्माण कार्य सम्पन्न भएको अधिकारी अपर तामाकोसी जेभी प्रालिले जनाएको छ ।

ADV

सम्बन्धित खबर