२०८२ वैशाख २३ गते मङ्गलवार / May 06 , 2025 , Tuesday
२०८२ वैशाख २३ गते मङ्गलवार
Ads

पूर्वमन्त्री श्रेष्ठको पुस्तक सार्वजनिक

मध्यान्ह
२०८१ चैत ५ गते २०:४३
पूर्वमन्त्री श्रेष्ठको पुस्तक सार्वजनिक

काठमाडौं : जनता समाजवादी पार्टीका संघीय अध्यक्ष एवम् पूर्वमन्त्री राजेन्द्र श्रेष्ठको पुस्तक ‘ऐतिहासिक नेपालमण्डल, संघवादको सिद्धान्त र नेवाः पहिचान’ सार्वजनिक भएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा भव्य समारोहकाबीच नेपा बैन्क्वेट खुसीबुमा पुस्तक विमोचन भएको हो । 

श्रेष्ठद्वारा लिखित यो पुस्तकमा नेपालको इतिहास, नेवार समुदायको पहिचान र संघवादको सिद्धान्तलाई गहिरो रूपमा विश्लेषण गरिएको छ । पुस्तकमा १३ वटा खण्डहरू समेटिएका छन्, जसले नेपालको विविध पक्षहरूलाई उजागर गर्छ ।

‘नेपालका हामी नेवार’ नेवारहरूको उत्पत्ति, नेपाल नामकरणको इतिहास र मल्ल कालसम्म नेवाः राष्ट्रियताको विकासबारे उल्लेख गरिएको छ । यस खण्डमा किरात, आर्य, आष्ट्रिक र द्रविड जातिहरूको मिश्रणले नेवार समुदायको निर्माण भएको उल्लेख छ । नेपाल नामकरणका विभिन्न व्याख्याहरू, जस्तै नेवाल, नेपार, नेप÷नेय्, नेप ग्वाला जस्ता नामहरूबाट ’नेपाल’ बनेको ऐतिहासिक सन्दर्भहरू यसमा पाइन्छन् ।

‘प्राचीन नेपाल र नेपालमण्डल’ भागमा नेपाल उपत्यकाका परिधि बाहिरको स्वायत्त भूभागलाई नेपालमण्डल भनेर जनाइएको र यो संघीय राज्यको प्राचीन स्वरूप भएको कुरा प्रस्तुत गरिएको छ । लिच्छवी कालमा नेपालमण्डलको अवधारणाले पाँचवटा स्वतन्त्र राज्यहरूको संघ रहेको उल्लेख गरिएको छ, जुन पछि चारवटा राज्यहरूमा सीमित भयो । 

‘गोरखा राज्य विस्तार र केन्द्रीकृत शासनको प्रादुर्भाव’ खण्डमा गोरखा राज्य विस्तारको पृष्ठभूमि, ४५ वर्षसम्म चलेको युद्ध, केन्द्रीकृत सामन्ती राज्यको उद्भव र त्यसको परिणामहरू समेटिएका छन् । 

‘नेपालमा संघवादी विचारको प्रादुर्भाव’ भागमा नेपालको प्राचीन स्वायत्त शासन व्यवस्थामा संघीयताको भ्रुणहरू रहेको उल्लेख छ, भने आधुनिक नेपालमा संघवादको अवधारणा २००७ सालको परिवर्तनबाट सुरु भएको र २०६२ सालको जनक्रान्तिपछि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । संविधानको पहिलो संशोधनपछि संघीयता संविधानमा समावेश भएको र दोस्रो संविधानसभाले प्रशासनिक–भौगोलिक संघीय संरचना बनाएको तथ्यहरू उल्लेख छन् । 

‘संघवादको सिद्धान्त’ भागमा संघवादको अवधारणा, सिद्धान्त र नेपालमा लागू गरिएका विभिन्न संघीय संरचनाबारे चर्चा गरिएको छ । संघवाद भनेको देशको सार्वभौम शक्ति संघ र प्रदेशमा बाँडफाँट गरी प्रयोग गर्ने सिद्धान्त हो भन्ने कुरा पुस्तकमा उल्लेख छ ।

‘समावेशी लोकतन्त्र र निर्वाचन प्रणाली’ शिर्षक भागमा समावेशी लोकतन्त्रको परिभाषा, सामुहिक अधिकार, व्यक्तिको दक्षता र विभिन्न निर्वाचन प्रणालीहरूबारे चर्चा गरिएको छ । पुस्तकमा मानव विकास सूचांक उच्च भएका १५ वटा देशहरूमध्ये स्वीट्जरल्याण्ड, नर्वे, आइसल्याण्ड लगायतका ११ वटा देशहरूमा समानुपातिक प्रणाली अपनाइएको उल्लेख गरिएको छ ।

यसरी, राजेन्द्र श्रेष्ठद्वारा लिखित ’ऐतिहासिक नेपालमण्डल, संघवादको सिद्धान्त र नेवाः पहिचान’ पुस्तकले नेपालको ऐतिहासिक, सांस्कृतिक र राजनीतिक पक्षहरूको गहन अध्ययन प्रस्तुत गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर