काठमाडौं : नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई मेरिटका आधारमा नियुक्त गरेको हो ।
सँगै प्रतिस्पर्धामा रहेका एआईजी टेकबहादुर तामाङ र सुदीप गिरीलाई उछिन्दै थापा नेपाल प्रहरीको नेतृत्वमा पुगेका हुन् । ३०औं आईजीपी वसन्त कुँवर सोमबार ३० वर्षे सेवा अवधि सकेर अनिवार्य अवकाशमा गएका थिए । देशको शान्ति सुव्यवस्था कायम राख्दै अपराध अनुसन्धाको प्रमुख जिम्मेवार निकाय नेपाल प्रहरी संगठन प्रमुख बनेका थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख थिए ।
१९ भदौ २०५२ मा प्रहरी सेवामा प्रवेश गरेका प्रतिस्पर्धी ३ जनामध्ये दीपक थापा ६ चैत २०७९ मा वसन्त कुँवरसँगै एआईजीमा बढुवा भएका थिए । सुदीप गिरी र टेकबहादुर तामाङ २४ चैत २०७९ मा एआईजीमा बढुवा भएका थिए ।
यसअघि कुँवर पनि मेरिटका आधारमा बढुवा भएका थिए । प्रहरी ऐनमा परिवर्तन नभए नवनियुक्त आईजीपी थापाले करिब ६ महिना ८९ हजार फौजको कमान्ड गर्ने छन् । प्रहरी ऐनमा ३० वर्षे सेवा अवधि हट्ने सम्भावना भने न्यून छ ।
संसद्मा प्रहरी ऐनको प्रस्तावित विधेयक दर्ता छ । यो अवधिमा विधेयक पारित भए उनले थप ६ महिना मात्र प्रहरीको नेतृत्व गर्न पाउने छन् । प्रहरी नियमावली, २०१२ मा सरकारले उपयुक्त देखेका उम्मेदवारलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सक्ने उल्लेख छ । त्यही कारण प्रहरी प्रमुख बन्नका लागि बढुवाको अन्तिम समयसम्म आकांक्षीहरूबीच राजनीतिक समर्थन जुटाउन दौडधुपमा थिए ।
यद्यपि, सरकारले पहिलो वरीयतामा रहेका थापालाई नै आईजीपी बनाएको हो । भक्तपुरका थापा प्रहरी सेवामा प्रवेश गर्नुअघि शिक्षण पेसामा संलग्न थिए । २०४८ सालमा उनले शिक्षा सेवा आयोगको परीक्षा दिए र निमावि शिक्षकमा नाम निकालेका थिए ।
भक्तपुर क्याम्पसमा बीए अन्तिम वर्ष पढ्दै गर्दा उनले कन्या मावि, भक्तपुरमा पढाउँथे । १० मंसिर २०५० मा प्रहरी निरीक्षकमा आवेदन दिएका उनी आईए र बीएमा क्याम्पस टपर हुन् । तत्कालीन सरकारले सर्टलिस्टमा परेका पहिलो समूहका ६० जनामध्ये ५२ जनालाई मात्र नियुक्ति दिएको थियो । बाँकी ८ जनालाई ६ महिनापछि १९ भदौ २०५२ मा दोस्रो समूहमा नियुक्ति दिएपछि थापा प्रहरी सेवामा प्रवेश गरेका हुन् ।
प्रहरी सेवामा उनले इलाका प्रहरी कार्यालय, साँगा, बुटवल र रौतहटको गरुडामा नेतृत्व गरे । यस्तै, प्रहरी वृत्त महाराजगन्ज, जिल्ला प्रहरी कार्यालय, रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवनको समेत कमान्ड गरेका थिए ।
बुटवल तालिम केन्द्र र प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा समेत काम गरिसकेका थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत र बुटवल कार्यालयको प्रमुख भएरसमेत काम गरेका छन् ।
एसएसपी छँदा उनले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरेका छन् भने डीआईजी छँदा बाग्मती प्रदेश प्रहरीको नेतृत्व गरे । साथै, प्रबन्ध निर्देशनालय, प्रशासन विभाग, उपत्यका प्रहरी कार्यालयको समेत नेतृत्व गरिसकेका थापा प्रहरी संगठनमा विवादरहित छवि बनाएका प्रहरी अधिकृत हुन् ।
कल्याणकारी योजना तर्जुमा र कार्यान्वयमा महत्त्वपूर्ण काम गरेका थापाले प्रस्तावित प्रहरी ऐन, २०७९ को तर्जुमामा प्रहरीका तर्फबाट संयोजकको भूमिका निर्वाह गरेका छन् ।