रोल्पा : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र एमालेको सरकार आगामी चुनावसम्म जाने बताएका छन् ।
नेपाली कांग्रेस रोल्पाको दोस्रो सम्मेलन तथा बृहत् आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने,‘नेपाली कांग्रेसले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सरकार आगामी चुनावसम्म अगाडि बढोस् भन्ने चाहन्थो । तर बिडम्बना नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बन्न पुग्यो ।’
नेपाली कांग्रेस पार्टीभित्र कोही सानो कोही ठूलो नभएको उनले बताए । महामन्त्री थापाले भने,‘नेपाली कांग्रेस पार्टीभित्र वडादेखि केन्द्रीय सभापतिको जिम्मेवारी बराबर छ,’उनले भने । थापाले थप्दै भने,‘नेपाली कांग्रेस पार्टी यस्तो पार्टी हो,जहाँ म ठूलो, सानो भन्ने भावना राख्दैन ।’
नेपाली कांग्रेसले २००७ सालमा विमान अपहरण गरेको र कसैलाई हिंसा नगरेको र नेपाली कांग्रेसले हिंसा पनि नचाहने पार्टी भएको समेत जिकिर गरे ।
नेपाली कांग्रेस राष्ट्रिय पार्टी भएको बताउँदै उनले नेपाली कांग्रेसको नेतृत्वमा ठूला परिवर्तन सम्भव भएको बताए ।
‘अहिले नेपाली कांग्रेसले ३ सय ३० स्थानीय तह जितेको र २ हजार ६ सय भन्दा बढी वडा समेत नेपाली कांग्रेसले नेतृत्व गरेको छ । तीनवटा प्रदेशको मुख्यमन्त्रीको नेतृत्व गरेको छ’उनले भने ।
प्रदेश खारेज गर्नुपर्छ भन्ने हल्ला चलेको बताउँदै उनले भने, ‘संघीय सरकारको मन्त्रालय संख्या घटाउनुपर्छ र प्रदेश खारेज भएमा रोल्पा जस्तो जिल्लालाई असरपर्छ ।’
नेकपा माओवादी केन्द्र १७ हजारको बलिदानबाट अगाडि बढेको बताउँदै युद्ध नभइ हिंसात्मक नेतृत्व भएको समेत दाबी गरे । रोल्पा रुकुममा रातो अर्थात् कम्युनिष्टको बाहुल्यता रहेको र बृहत् आमसभाको उपस्थितिले नेपाली कांग्रेस रोल्पालाई उत्साहित गरेको समेत उनले दाबी गरे ।