सन्तोष पौडेल/मध्यान्ह
बर्दिया : गेरुवा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्मको प्रगति समीक्षा गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा गाउँपालिकाको वडा, शाखा र उपशाखाहरुवाट सम्पादन भएका कार्यहरुको प्रगति समीक्षा गरिएको हो ।
समीक्षा कार्यक्रममा गेरुवा गाउँपालिकाका शाखागत रुपमा शाखा प्रमुखहरुले प्रगति विवरण प्रस्तुत गरेका थिए । चालु आर्थिक वर्षमा चालु र पुँजीगत गरी ५९ करोड ५७ लाख ८० हजार ९ सय ७४ रुपैयाँ बजेट रहेकोमा गाउँपालिकाले चैत मसान्तसम्म २७ करोड ९६ लाख १६ हजार ९ सय ३५ रुपैयाँ खर्च गरेको छ । जुन कूल बजेटको ४६.९४ प्रतिशत हो ।
गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि चालुतर्फ ३८ करोड ३२ लाख ५० हजार ९सय २२ र पुँजीगततर्फ २१ करोड २५ लाख ३० हजार ५२ रुपैयाँ बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये चैत महिनाको अन्तिमसम्ममा चालुतर्फ २१ करोड ७९ लाख २४ हजार ५ सय ३६ रुपैयाँ खर्च भएको छ । जुन कूल बजेटको ५६.८६ प्रतिशत हो । त्यस्तै पुँजीगततर्फ २९.०७ प्रतिशत अर्थात ६ करोड १७ लाख ९२ हजार ३ सय ९९ रुपैयाँ खर्च भएको आर्थिक प्रशासन शाखाका लेखापाल उमेश कुमार शाहीले जानकारी दिए ।
यस्तै पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखाका प्रमुख टंकर रोकायाले गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि भौतिक पूर्वाधारतर्फ १९ करोड ९० लाख १० हजार रूपैयाँ बजेट विनियोजन गरेकोमा चैत मसान्तसम्म १८ करोड २६ लाख ६७ हजार ३ सय ८४ रुपैयाँ विधुतीय खरिद प्रणालीमार्फत ठेक्का आह्वान भइ सम्झौता भएर कार्यान्वयनको चरणमा रहेको जानकारी दिए । उनले गाउँपालिकामा ५७ वटा योजना उपभोक्ता समितिमार्फत सञ्चालन गरिने बताउँदै ४१ वटा योजनाको सम्झौता भइ कार्यान्वयनमा गएको बताए । उनका अनुसार १६ वटा योजनाको उपभोक्ता समिति नै गठन भएका छैनन् ।
गाउँपालिकामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म माटे सडक १२.७९३, ग्रावेल स्तरको सडक १०.०५७, कालोपत्रे स्तरको सडक १.३५८ किलोमिटर निर्माण भएको जानकारी दिँदै रोकायाले ह्युमपाइप कल्भर्ट ६० वटा र पक्की कल्भर्ट २३ वटा निर्माण भएको बताए । पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखातर्फ आर्थिक वर्ष २०८०/०८१ को चैत अन्तिमसम्म भौतिक प्रगति ६२ प्रतिशत र वित्तीय प्रगति ४४ प्रतिशत रहेको रोकायाको भनाइ छ ।
सामाजिक सुरक्षा भत्तातर्फ ३ हजार ३ सय २९ जना नागरिकलाई ३ करोड २४ लाख ४० हजार ७ सय ३१ रुपैयाँ वितरण गरिएको छ । यस्तै न्यायिक समितिमा अघिल्लो वर्षको दायित्व सरेको समेत गरी १५ वटा विवाद छन् । जसमा ९ वटा समितिले निरुपण गरेर पठाएको छ भने ६ वटा विचाराधीन तथा २ वटा मुल्तवीमा राखिएका छन् । छोरी बचाउ कार्यक्रममा १ सय १३ जना सहभागी भएका छन् । जसमा चैत मसान्तसम्म ५६ लाख ५ हजार रुपैयाँ खर्च भएको सहायक महिला विकास निरीक्षक रमा पुन मगरले जानकारी दिइन् ।
यस्तै शिक्षा शाखाबाट नवराज अधिकारी, स्वास्थ्य शाखातर्फ नारायण भण्डारी, कृषितर्फ भाष्करसिंह ठकुरी, पशु विकास शाखाबाट उमेश चौधरी, प्रधानमन्त्री रोजगार शाखाबाट राज्यलक्ष्मी झा, सूचना प्रविधि शाखावाट कृष्ण सोडारी, राजस्व तथा पञ्जीकरण शाखाबाट बशुन्धरा थारु तथा उद्यम विकास शाखाबाट सम्झना थारुले प्रगति विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाका प्रवक्ता वडा नं. ५ का वडा अध्यक्ष धर्म प्रकाश थारुले कार्य प्रगति समीक्षा प्रत्येक ३/३ महिनामा राखिनुपर्ने बताउँदै कार्यक्रमले शाखा-शाखाबीचमा समन्वय हुने र वडाको गतिविधिका बारेमा जानकारीसमेत हुने बताए । उनले समीक्षा कार्यक्रमले काम गर्दा भएका गल्ती र कमीकमजोरीलाई सच्चाउन सहयोग पुग्ने बताए ।
गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले प्रगति समीक्षा कार्यक्रममा प्रगति प्रतिवेदन अनिवार्यरुपमा पेश गर्न प्रत्येक शाखालाई निर्देशन दिएकी थिइन् । कर्मचारीहरुलाई पूर्णरुपमा अनुशासनको पालन गर्न पनि उनले आग्रह गरेकी थिइन् ।
प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले चालु आर्थिक वर्षका लागि गाउँपालिकाले तय गरेका कार्यक्रमको प्रगति समीक्षा गर्दै सफल कार्यान्वयनका लागि प्रगति समीक्षा कार्यक्रकमको आयोजना गरिएको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies