मनीषा अवस्थी/मध्यान्ह
काठमाडौं : नुवाकोटकी हरिमाया तामाङको सपना थियो, काठमाडौंमा जग्गा किन्ने र घर बनाउने । त्यही सपना पुरा गर्न श्रीमानले मलेसियामा १० वर्ष कमाएको रकम जग्गामा हाल्ने विचार गरिन् ।
उनले आफन्त र चिनजानबाट जग्गा बुझ्न खोजिन् । उनीसँग भएको पैसाअनुसारको भनेजस्तो कतै नभेटेपछि सामाजिक जग्गा खोज्न थालिन् । कोरोना महामारीपछि अधिकांश जग्गा कारोबारी सामाजिक सञ्जालमा भेटिने सुनेपछि खोज्न थालेकी हरिमायाले सजल क्षेत्र नाम बताउने एक ब्यक्ति भेटिन् । हरिमायाले सजलसँग कुरा गर्दा राम्रो, सस्तो जग्गा खोजिदिने र नपुगेको रकम ऋण पनि मिलाइदिने आश्वासन पाइन् । खुशी भएर सजलसँगै काम गरेकी हरिमायाले सजलले मिलाइदिएकोे ७ लाख ऋण तिर्न हम्मेहम्मे पर्यो । ऋण तिर्ने एक वर्षको भाका राखेकी हरिमायालाई ४ वर्षमा पनि ऋण घटाउन सकेकी छैनन् । ऋण घट्नुको सट्टा बढ्दै गएको छ । आजभोली उनलाई लाग्छ, ‘रहरले जोडेको माटो पनि जान्छ कि !’
हरिमायाको जस्तै कथा सिन्धुपाल्चोकका सन्तोष क्षेत्रीको पनि छ । कोरोना महामारीका बेला लामो समय उनी कामबिहिन भएर बस्नुप¥यो । पाँच वर्षभन्दा लामो समय विदेश बसेर पर्किएका सन्तोषसँग केही बचत थियो । उनलाई त्यो रकम जग्गा सस्तो भएको बेला लगानी गरे केही वर्षमा राम्रो कमाइ हुन्छ जस्तो लाग्यो । आफन्त साथीभाइसँग बुझ्दा त्यही सल्लाह पाए सन्तोषले । सामाजिक दुरी कायम गर्नुपर्ने सकेसम्म मानिसको भिडभाडमा जान नहुने अवस्थाको ख्याल गर्दै उनले सामाजिक सञ्जालबाटै जग्गा खोज्ने निर्णय गरे । फेसबुकमा खोज्दै जाँदा पवित्र केसी नामको एक व्यक्तिसँग सन्तोषको सम्पर्क भयो । पवित्रले सन्तोषलाई काभ्रेस्थलीमा जग्गा देखाए । सन्तोषलाई जग्गा मन पर्यो । तर, त्यसका लागि केही रकम अपुग भएको बताएपछि पवित्रले उनलाई सोही जग्गा धीतो राखेर अपुग रकम मिलाइदिने आश्वासन दिए । सन्तोषले अपुग रकम १० लाख पवित्रले भने बमोजिम लिए । तर, २०७७ सालमा दिएको १० लाख हरेक महिनाजसो तिर्दा पनि अहिले १४ लाख पुगिसकेको सन्तोष बताउँछन् ।
यी दुइ प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो दशकमा घरजग्गा कारोबार गराएर उच्च कमिसन लिने, अपुग रकम मिलाइदिने भन्दै योजनाबद्ध तरिकाले जग्गा नै हत्याउने र मिटरब्याजमा पैसा चलाउने कारोबारी सल्बलाउदा घरजग्गा कारोबार मिटरब्याजीको कब्जामा परेको छ । जग्गा किनबेच गर्नेहरूका अनुसार त्यस्ता कारोबारीले मिटरब्याजमा रकम दिने र एउटा कारोबार बापत ५ देखि १० प्रतिशत रकम कमिसनका लिने रूपमा लिने गरेका छन् ।
कारोबार कम्पनीमार्फत गफ मात्रै !
पछिल्लो एकदशकमा अधिकांशको लगानी घरजग्गामा थुप्रियो । व्यक्तिगत मात्रै होइन, बैंक तथा वित्तीय क्षेत्रकोलगानीको ठूलो हिस्सा घरजग्गा क्षेत्रमा गयो । यसकै परिणाम कोरोना महामारीपछि घर जग्गा क्षेत्रमा पनि निकै कम कारोबार हुँदा अधिकांश रकम उतै फस्यो । यसरी घरजग्गाको ब्यापार घटेका बेला वयक्तिगत रूपमा काम गर्ने दलालहरू सल्बलाएका हुन् ।
सरकारले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा घरजग्गा कारोबारलाई व्यवस्थित गर्ने घोषणा गरेका थियो । तर, व्यक्ति कारोबारीको ‘कब्जा’मा रहेको घरजग्गा कारोबार राज्यको दायरामा ल्याउन सरकार असफलजस्तै भएको छ । घरजग्गाको कारोबार संलग्नहरूमध्ये अधिकांश सरकारी कर्मचारी, राजनीति गर्नेहरू छन् । उनिहरूले नै कम्पनीमार्फत कारोबार हुन नदिने अनेक प्रपन्च गर्ने गरेको अधिकारी बताउँछन् । ‘कम्पनीमार्फत कारोबार हुने भन्ने विषयमा त सम्बन्धित मन्त्रालय र मातहतका कर्मचारी नै असहमत हुन्छन्।’ भूमी व्यवस्था मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘यो ओपन सेक्रेट हो । कर्मचारीलाइ घरजग्गा कारोबारबारे राम्रो सँग थाहा हुन्छ । यसका लुपहोल’बारे यही क्षेत्रमा काम गरेकाहरू बुझ्न । अनि राजनीतिक दलका प्रतिनिधिको पनि कमाइको हिस्स यही हुन्छ । अनि कसरी यो क्षेत्र व्यवस्थित हुन्छ ।’
ती अधिकारी थप्छन्, ‘मिटरब्याजी सल्बलाएको, वास्तविक कारोबारभन्दा सरकारी रेकर्ड निकै कम भएको त सबैलाई थाहा छ नि । यसमा कोही बोल्नै सक्दैनन् किन कि त्यसमा उनीहरूको सहभागिता हुन्छ ।’ स्रोतकाअनुसार घरजग्गा कारोबार विभिन्न दलमा आवद्ध नेताहरूको पनि पर्याप्त लगानी रहेको छ । काठमाडौं कुनाकाप्चाका कयौं स्थानमा उनिहरूले ठूल्ठूला डाँडा नै किन्ने र प्लटिङ गरेर बेच्ने कारोबार नै गरिरहेका थिए । शहरी क्षेत्रमा भइरहेको बढ्दो बसाइँसराईका कारण घरजग्गाको माग बढे पनि राज्यको नियन्त्रणमा नहुँदा अवस्था डरलाग्दो भएको शहरी विकासविज्ञ दीपक श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘घरजग्गा क्षेत्रमा भाऊ डरलाग्दो तरिकाले बढिरहेको छ । तर, राज्यको नियन्त्रण र नियममा छैन । सबैभन्दा व्यस्थित हुनुपर्ने क्षेत्र सबैभन्दा अनौपचारि र डरलाग्दो भएको छ । यो खतरनाक छ ।’ मूल्य नियन्त्रण गर्न स्पष्ट नीतिगत व्यवस्था गर्नुपर्ने बताउँदै न्युनतम तोकिएको स्थानमा अधिकतम पनि मूल्य पनि तोक्नुपर्छ ।
सरकारले देशभरको जग्गाको न्यूनतम मूल्याङ्कन तोकिदिने तर क्रेता–विक्रेताले त्यसभन्दा निकै बढी मूल्यमा कारोबार गर्ने गरिरहेका छन् । यो अवस्थाले एकातिर राजस्व चुहावट हुने र अर्कोरित वास्तविक कारोबारसमेत थाहा हुँदैन । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ९ महिनामा देशभर ३ लाख ७६ हजार घरजग्गा लिखत पास भएको छ ।
तर, पास भएकोमध्ये २५ प्रतिशतभन्दा बढी जग्गा दुइपटकभन्दा बढी भएको मातपोतका अधिकारी नै बताउँछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies