मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : अशोक राई केन्द्रीय राजनीतिको केन्द्रमा आइपुगेका छन् । उनको नेतृत्वमा जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
जनता समाजवादी पार्टी नेपाल फुटाएर जनता समाजवादी पार्टी दर्ताका लागि राईको नेतृत्वमा आइतबार निर्वाचन आयोगमा निवेदन परेको थियो । सोमबार बसेको निर्वाचन आयोगको बैठकले नयाँ राजनीतिक दलका रुपमा जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको हो ।
१२ सिटको जसपा फुटाएर राईले नयाँ पार्टी बनाउँदा आफूसँगै सात जना सांसद लागेका छन् । जसमा राईसँगै संघीय सांसदहरु वीरेन्द्र महतो, प्रदीप यादव, सुशीला श्रेष्ठ, हसिना खातुन, रञ्जु ठाकुर र नवलकिशोर साह सुडी रहेका छन् । यो सँगै राई नेतृत्वको पार्टी संघीय संसदमा सातौं ठूलो दल भएको छ ।
सरल र सालिन व्यक्तित्वका रुपमा स्थापित नेता राई पछिल्लो एक दशक नेपाली राजनीतिको छायाँमा परेका थिए । २०६९ सालमा एमाले उपाध्यक्ष रहेका राईले संघीयताका बारेमा पार्टी नेतृत्वसँग विमति राख्दै पार्टी छाडे । एकल पहिचानका आधारमा राज्य पुनर्संरचना हुनुपर्ने उनको मागलाई तत्कालीन नेतृत्वले चासो नदिएपछि उनले पार्टी नै छाडिदिएका हुन् ।
तत्कालीन एमाले नेतृत्वसँग रुष्ट राईले जनजाति र मधेश केन्द्रित नेता समेटेर संघीय समाजवादी पार्टी गठन गरे । तर, नयाँ पार्टीले राजनीतिक उपलब्धि हासिल गर्न सकेन् ।
तर, जब पार्टी एकता र विद्रोहको प्रक्रियामा सहभागी हुन थाले विस्तारै शक्ति आर्जन गर्दै आए । २२ जेठ २०७२ मा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र राई नेतृत्वको संघीय समाजवादी पार्टीबीच एकता भएको थियो । त्यसयता पनि पार्टीमा आएका समस्याहरुमा साथै रहेका उपेन्द्र र अशोक ९ वर्षपछि २३ वैशाख २०८० मा औपचारिक रुपमै छुटिए ।
यादव र राईबीच वर्तमान सरकारमा रहने वा नरहने बीच विवाद चलिरहेको थियो । यही विवादलाई लिएर राईले नयाँ दल बनाउने निर्णय लिएका हुन् । पार्टी फुटाउने राईको निर्णय निर्वाचन आयोगबाट सदर भएसँगै उनी केन्द्रीय राजनीतिको केन्द्रमा पुगेका छन् ।
वर्तमान सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको पार्टी बाहिरिएपनि राई नेतृत्वको पार्टीले साथ दिँदासम्म समस्या आउने छैन ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको वैकल्पिक सरकार बनाउने पर्यास सफल हुन पनि राईले निर्णय लिनुपर्छ । यसरी संसदीय अंकगणितको आधारमा सातौं ठूलो दल भएर पनि राई केन्द्रीय राजनीतिको केन्द्रमा पुगेका हुन् ।
नयाँ पार्टीको केन्द्रीय समितिको अध्यक्ष राई छन् । संघीय परिषद् अध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठ, रेणु कुमारी यादव सहअध्यक्ष चयन भएका छन् ।
हालका वनमन्त्री नवल किशोर साह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ उपाध्यक्ष छन् । महासचिवको जिम्मेवारी मोहम्मद इश्तियाक राईले पाएका छन् । प्रदीप यादव उपमहासचिव बनेका छन् । दिपक कार्की र रञ्जु ठाकुर सचिव भएका छन् । विरेन्द्र महतो कोषाध्यक्ष बनेका छन् ।
नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष राई उपेन्द्र यादवसँग असन्तुष्टि चुलिँदै गएपछि नयाँ पार्टी बनाउनुपरेको बताउँछन् ।
निर्वाचन आयोगले दिएको दल दर्ताको पत्र संसद सचिवालयमा बुझाउन सिंहदरवार पुगेका उनले पत्रकारहरुसँग कुरा गर्दै राईले सत्ता राजनीतिका कारण आफूहरुले पार्टी विभाजन नगरेको जिकिर पनि गरे ।
उपेन्द्र यादवसँगको ९ वर्षको सहकार्यमा उद्देश्यअनुरुप प्रगति समेत प्राप्त हुन नसकेको उल्लेख गर्दै उनले भने, ‘पानी उमाल्ने क्रममा तापक्रम बढ्दै बढ्दै जान्छ । सय डिग्री पुगेपछि पानी उम्लिन्छ भन्ने एउटा बैज्ञानिक नियम छ । अहिले भएको त्यस्तै हो ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies