दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : संघीय सत्ता समीकरण अनुसारको नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनले बागमती प्रदेशमा बहुमत जुटाएको छ । २१ फागुनमा माओवादी केन्द्रले कांग्रेससँगको समीकरण तोडेपछि नयाँ समीकरणमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बहुमत जुटाउन कसरत गरिरहेका बेला बिहीबार हाम्रो नेपाली पार्टी सरकारमा सहभागी भएको हो । यो सँगै नयाँ गठबन्धनले बागमतीमा बहुमत जुटाएको छ ।
सरकारलाई बहुमत जुटाउन हाम्रो नेपाली पार्टीसहित बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार नै ५ बुँदे सहमति भएको छ । जसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको हस्ताक्षर छ ।
सहमतिमा मुख्यमन्त्रीमा आलोपालो गर्ने उल्लेख छ । पाँच बुँदे सहमतिको दोस्रो बुँदामा प्रदेश सरकारको नेतृत्व पनि आलोपालो गर्ने भनिएको छ । जहाँ लेखिएको छ, ‘केन्द्रीयस्तरमा बनेको सत्ता समीकरणको निर्णय अनुसार प्रदेश सरकारको नेतृत्व कार्यान्वयन गरी सहभागी दलका बीचमा प्रदेश सरकारको नेतृत्वमा सहकार्य गरी अघि बढ्ने निर्णय गरियो ।’
यो सँगै हाम्रो नेपाली पार्टी सरकारमा सहभागी भएको हो । सहमतिमा भनिएको छ, ‘प्रदेश सरकार गठनका सन्दर्भमा सहभागी दलहरूको सहमतिको आधारमा मात्र मन्त्रिपरिषद्को संख्या निर्धारण र मन्त्रालयको जिम्मेवारी विभाजन गर्ने निर्णय गरियो ।’
११० सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ । अहिले सत्तारुढ गठबन्धनमा रहेका एमालेका २७, माओवादी २१ र एकीकृत समाजवादीको सात सांसद छन् । दुई सांसद रहेको हाम्रो नेपाली पार्टीले समर्थन गरेपछि बहुमत पुगेको छ । बहुमतका लागि तीन दलले हाम्रो नेपाली पार्टीसँग समेत संयुक्त सहमति गरेका हुन् ।
हाम्रो नेपाली पार्टीसँग सहमति भएसँगै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार जम्कट्टेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समालेका छन् ।
यस्तै गंगा नारायण श्रेष्ठलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कुमारी मुक्तानलाई सामाजिक विकास मन्त्रालय, युवराज दुलाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, डा. राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालय र शैलेन्द्र मान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ । हाम्रो नेपाली पार्टीका बज्राचार्यले बिहीबार मात्रै मन्त्रीको शपथ लिएका हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies