सरु भुसाल/मध्यान्ह
अर्घाखाँची : संस्कृत व्याकरणका रचयिता महर्षी पाणिनीको तपोस्थल पाणिनी तपोभूमि विकासको पर्खाइमा रहेको देखिन्छ । विश्वको पूरानो र सर्वश्रेष्ठ भाषाको रुपमा रहेको संस्कृत व्याकरणको उत्पत्ती भएको मानिएको पाणिनी क्षेत्रमा यथेष्ठ विकास हुन नसकेपनि नेताहरुले चुनावी प्रचार सामग्री बनाउन छोडेका छैनन् ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर १ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र पाणिनी तपोभूमिमा पाणिनी ऋषीले शिद्धी प्राप्ति गरेको किम्मदन्तीमा उल्लेख छ ।
धार्मिक र प्राज्ञिक इतिहास बोकेको सो क्षेत्र जंगलको बीचमा भएकाले पनि जडिबुटीको खानी रहेको अनुमान सहजै गर्न सकिने स्थानीय पत्रकार नारायण पोख्रेल बताउँछन् । हावापानी र भौगोलिक हिसाले पर्यटन विकासका लागि महत्वपूर्ण रहेको पाणिनी क्षेत्रको प्रयाप्त विकास हुन नसकेको स्थानीयले गुनासो गर्ने गरेपनि सम्बन्धित निकाए भने मौन देखिन्छ ।
हावापानीसँगै पहाडको उच्च भागमा रहेकाले यस क्षेत्रबाट मनै लोभ्याउने हिमश्रृंखला देखिनुका साथै तराइको समथर भू–भाग सजिलै देख्न पाउँदा आफुहरु अत्यन्तै खुसी भएको त्यहाँ पुगेका अमेरिकी पर्यटक ह्यान्स भ्यान क्याम्पेनले बताए ।
स्थानीय सुरेन्द्र पोख्रेलका अनुसार ४ हजार वर्ष पहिले तक्षशिला हालको अफगानिस्तानमा जन्मिएका पाणिनी ऋषीले शिवजीको तपस्या गरेपछि १४ सुत्रको व्याकरण निर्माण गरेको उल्लेख छ । सोही व्याकरणका आधारमा विश्वमा भाषाहरुको निर्माण भएको समेत बताइन्छ । त्यसैले यस भूमिको ऐतिहासिक, प्राज्ञिक र पौराणीक सम्बन्ध रहेको स्थानीय पुस्कर पोख्रेलले बताए । पाणिनीसहित धेरै ऋषीहरुले त्यस क्षेत्रमा तपस्या गरेको आफुहरुले जानकारी प्राप्त गरेको स्थानीयको भनाइ छ ।
पहाडको टापुमा समथर भागमा करिव ७ हजार रोपनीमा फैलिएको सो क्षेत्र धार्मिक तथा पर्यटकीय हिसावले महत्वपूर्ण रहेको धार्मिक व्यक्तित्व लेखबहादुर टण्डन बताउँछन् ।
पाणिनी तपोभूमिको विकासका लागि पाणिनी गाउँपालिकाले गुरु योजना बनाएर विकास गर्ने लक्ष्य लिएको भएतापनि प्रयाप्त बजेट हुन नसक्दा सोचे अनुसार काम हुन नसकेको पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने स्वीकार गर्छन् । गुरुकुल शिक्षा सञ्चालन, योगशाला निर्माण, गौलाशाला निर्माण, डकुमेन्ट्री फनपार्क, आश्रम निर्माण गर्नुका साथै, जैविक विविधता संरक्षण गर्ने सोच रहेको र सोही अनुसार डिपीआर बनाएर अगाडि बढेको पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेको भनाइ छ ।
निकै महत्वको क्षेत्र भएपनि ओझेमा परेको पाणिनी तपोभूमि क्षेत्रको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।
धार्मिक, पर्यटकीय तथा प्राज्ञिक क्षेत्र पाणिनीको विकासबाट यस क्षेत्रसँगै मुलुककै आर्थिक गतिविधि बढ्नुका साथै पर्यटन व्यवसाय फस्टाउने स्थानीय नारायण पोख्रेलको भनाइ छ ।
भाषाको व्याकरणको अस्तित्व संस्कृत व्याकरणबाटै भएको र चार वेदपनि तीनै व्याकरणका आधारमा निर्माण भएको मानिन्छ । भाषाको प्राद्र्घभाव स्थल भएकाले यो क्षेत्र विश्वको भाषा विज्ञानको अध्ययनको स्थल भएकाले पनि यस क्षेत्रलाई महत्वका साथ हेरिनुपर्ने स्थानीयको भनाइ रहेको छ ।
तपोभूमीस्थल पाल्पाको सदरमुकाम तानसेनबाट ३८ किमी, सन्धिखर्कबाट ३६ किमी, र रुपन्देहीको सालझण्डिबाट २४ किमीको दुरीमा पर्दछ । यो क्षेत्रमा अहिले आन्तरिक बाह्य पर्यटकको संख्या विगतको वर्ष भन्दा ३० प्रतिशतले वृद्धि भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies