२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

‘ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा मुलुककै अग्रणी बन्न सक्ने’

Nada
२०८१ भदौ २५ गते १२:५१
Shares
‘ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा मुलुककै अग्रणी बन्न सक्ने’

ललितपुर : ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा मुलुककै अग्रणी महानगर बन्न सक्ने महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताएका छन् । 

ncell

ललितपुर महानगर– १४ स्थित ताल्चिखेलमा आज स्वस्तिक अस्पतालको उद्घाटन गर्दै प्रमुख महर्जनले दुई वर्ष अगाडि स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै नेपाल नगरपालिका सङ्घले पुरस्कृत गरेको स्मरण गराए । उनले उक्त पुरस्कारको गरिमा राख्दै स्वास्थ्य क्षेत्रमा मुलुककै अग्रणी महानगर बन्न सक्ने बताएका हुन् । 

“ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा कमजोर छैन, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वर्ष लिजा (स्थानीय तह संस्थागत स्वमूल्याङ्कन) मा देशभरकै उत्कृष्ट स्थानीय तहका रूपमा घोषित गरेको छ । धेरै क्षेत्रमा देशभरका महानगरमध्ये उत्कृष्ट बन्न सफल भएको छ,” उनले भने, “मलाई विश्वास छ, अस्पतालले यस भेगमा उत्कृष्ट सेवा प्रदान गर्ने छ ।”

प्रमुख महर्जनले विगत डेढ वर्षदेखि सेवा प्रदान गर्दै आएको यस अस्पतालले सेवा प्रवाहमा कुनै कसर नराख्नेमा विश्वस्त रहेको बताए । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले यस अस्पतालले प्रवाह गर्ने सेवा सर्वसुलभ र गुणस्तरीय भएकाले नागरिकको अपेक्षा सम्बोधन हुने विश्वास व्यक्त गरे । 

स्वास्थ्य मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव दिपेन्द्ररमण सिंहले सरकारी तहबाट समुदायस्तरमा स्वस्थ्य सेवा सहज रूपमा पुर्‍याउन चुनौती भइरहेको अवस्थामा यस्ता अस्पताल सुरु हुनु महत्त्वपूर्ण भएको बताए। उनले स्थानीय सरकारसँगको साझेदारीमा स्वास्थ्य सेवा प्रवाह गर्दै समुदायको अपनत्व हुने गरी सेवा प्रवाह गर्न आग्रह गरे । 

१५ शय्या रहेको यस अस्पतालमा ३० जनाभन्दा बढी डाक्टर रहेको र आकस्मिक, बहिरङ्ग सेवालगायत सम्पूर्ण सेवा प्रदान गर्ने अस्पताल प्रशासनले जनाएको छ । वडासँगको समन्वयमा वडाका बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा प्रदान गर्ने अस्पतालका निर्देशक सिबी थापाले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर