२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

गाउँपालिकास्तरीय स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

Nada
लक्ष्मण यादव
२०८१ भदौ १७ गते १७:५०
Shares
गाउँपालिकास्तरीय स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

सर्लाही : सर्लाहीको बसबरिया गाउँपालिकाले गाउँपालिकास्तरीय स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न गरेको छ । बसबरिया गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गत आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न भएका स्वास्थ्य कार्यक्रमको समीक्षा गरिएको हो ।

ncell

आर्थिक वर्ष २०८०/०८१ को स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा बसबरिया गाउँपालिका अन्तर्गतका ६ वटा स्वास्थ्य संस्थाले गरेको कामहरूको प्रस्तुतीकरण गर्दै लक्ष्यअनुसारको प्रगति हासिल गर्न आइपरेका चुनौती र समस्यामा व्यापक छलफल भइ आगामी वर्षमा सुधार गर्नुपर्ने विषयमा कार्ययोजना बनाइएको बसबरिया गाउँपालिका स्वास्थ्य शाखा सह-संयोजक विजय यादवले बताए ।

उनका अनुसार कार्यक्रममा गाउँपालिकाभित्रका स्वास्थ्य केन्द्रहरुको अवस्था, बजेट र खर्चको अवस्था तथा बित्तिय प्रगति विवरण, सम्पन्न हुन नसकेका कार्यक्रम, स्वास्थ्य संस्थालाई आवश्यक औषधि तथा उपकरणको अवस्थाका साथै सेवाग्राहीलाई दिइने सेवाको अवस्थाका बारेमा स्वास्थ्य संस्थाका प्रमुखहरुले सहभागीहरुलाई जानकारी गराएका थिए ।

त्यस्तै, बसबरिया गाउँपालिकाअन्तर्गतका ६ वटा स्वास्थ्य संस्थामध्ये मूल्यांकनको आधारमा पहिलो स्थान प्राप्त गर्ने बसबरिया-५ धनगढा स्वास्थ्य चौकी, दोस्रो वडा नं.६ सहोड्वा स्वास्थ्य चौकी र तेस्रो स्थान प्राप्त गर्न सफल भएको वडा नं.१ मानपुर स्वास्थ्य चौकीका इन्चार्जलाई गाउँपालिका अध्यक्ष राय र स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले संयुक्तरूपमा सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायले वार्षिकरुपमा गरेको कामको समीक्षासँगै स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले सीमित साधान स्रोतका बाबजुद यहाँका स्वास्थ्यकर्मीहरुले देखाएको सक्रियता प्रसंशनीय रहेको भन्दै स्वास्थ्यकर्मीहरुप्रति धन्यवाद व्यक्त गरे । 

बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायको अध्यक्षता एवम् गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चुनचुन यादवको उपस्थितमा दुई दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा बसबरिया गाउँपालिका स्वास्थ्य शाखा मातहतका ६ वटै वडामा कार्यरत स्वास्थ्यकर्मी, विभिन्न वडाका वडा अध्यक्ष, विभिन्न शाखाका शाखा प्रमुख, प्रादेशिक अस्पताल मलंगवाका प्रमुख डा. नवलकिशोर झा, जिल्ला अस्पताल सर्लाहीका तथ्यांक अधिकृत लालबाबु राय, वन हर्टका जिल्ला संयोजक अमरेन्द्र यादव, युएनएफपीका जिल्ला संयोजक बच्चालाल महतोसहित पत्रकारहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर